पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो । उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए । रातको समयमा हत्या भएपछि बिहान घरमा सुनसान भएपछि उनीहरूको हत्याको बारेमा थाहा भयो ।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले घटनाको अवस्थाका बारेमा प्रारम्भिक अनुसन्धान हत्या नै भएको शंका गरेपछि प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुर सहितको विशेषज्ञ टोली आयो । तर पनि घटनाका विषयमा कुनै पनि तथ्यहरू बाहिर आएनन् । जे तथ्य पायो, प्रहरीले त्यसैको आधारमा गोप्य रूपमा अनुसन्धान जारी नै राख्यो ।
यसैको परिणाम स्वरूप घटना भएको ठीक एक महिनामा नै पर्वत प्रहरीले घटनाका दोषीहरू सहित यससँग जोडिएका तथ्यहरू सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार दम्पतीको हत्यामा जलजला गाउँपालिका–२ नेपाने घर भएका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट घर भइ हाल जलजला गाउँपालिका–२ बौरमा बस्दै आएका ३२ बर्षकै दीपक दर्जी रहेका छन् ।
यस्तो छ घटनाक्रम
कृष्ण र दीपकबीच विगत ३÷४ वर्षदेखि जिप चलाउने क्रममा चिनजान भएको थियो । आर्थिक स्थिति कमजोर भएको, लागुऔषध दुव्र्यसनीमा लागेको, वैदेशिक रोजगारमा समेत असफल भएकालगायतका कारण उनीहरूले विगत एक वर्षदेखि गाउँघरका एक्ला महिला तथा बृद्धबृद्धालाई लक्षित गरेर लुटपाट गर्ने मनसाय रहेको पाइएको छ ।
१४÷१५ वर्षदेखि बौरमा बस्दै आएका दीपक बेनीको बौर बजारको सामान्य घरमा बस्दै आएकोमा घटना हुनुभन्दा एक हप्ता अगाडि पारिवारिक बेमेलका कारण श्रीमती र छोराछोरीसहित पोखरा महानगरपालिका–८ नयाँबजारमा डेरा सरेका थिए । घटना हुनुभन्दा १०÷१५ दिन अगाडि नै कृष्ण र दीपकबीच मादक पदार्थ र गाँजा सेवन गरी घटना घटाउने बारेमा कुराकानी भएको प्रहरीले बताएको छ । सोही अनुसार चैत १८ गते नै दीपक पोखराबाट जलजला–२ को बौरमा पुगेर कृष्णसँग भेट गरे । नजिकैको पसलमा मादक पदार्थसहित केही खानेकुरा किनेर कालीगण्डकी नदीको किनारमा बसेर सेवन गरे अनि मृतक दम्पतिको घरतर्फ लागे ।

त्यो बेलामा सूर्य गाई दुहुँदै थिए भने गमला पसलमा थिइन् । प्रतिवादीहरुले वृद्ध दम्पतीसँग करिब आधा घण्टा कुराकानी गरे । उनीहरूले लगाएका गरगहना, भौगोलिक अवस्थिति, सडकलगायतका बारेमा अध्ययन पनि गरे । उक्त दिन दुवै जना प्रतिवादीहरू कृष्णकै घरमा गएर बसे । चैत १९ गते खाना खाएर अतिरिक्त लुगाफाटा, हँसिया, माछा मार्ने बल्छी लगायतका सामग्री किनेर कालीगण्डकीमा पुगे ।
माछा नपरेपछि चाउचाउ, चुरोट र रक्सी किनेर उकालो लागे अनि रातिको करिब आठ बजेसम्म जंगलमा नै बसेर रक्सी सेवन गरे । साढे आठ बजेको समयमा सूर्यबहादुरको घर नजिकै पुग्दा सूर्यबहादुरसहितका मान्छेहरूले सूर्यबहादुरको घर अगाडि भएको आगलागी निभाउँदै थिए । अभियुक्तहरू केही पर गइ लुके । आगो निभाएकाहरू घर फर्किएको यकिन गरेर उनीहरू सूर्यबहादुरको आँगनमा पुगे अनि उज्यालोको लागि आँगनमा राखेको विद्युतको बल्ब निकाले । कृष्णबहादुरले आफूलाई चुरोट चाहिएको भन्दै सूर्यलाई बोलाए, चुरोट किने अनि पैसा पनि तिरे । तर, बाहिरको बत्ती नबलेको भन्दै सूर्यले भित्रबाट टाउको बाहिर निकालेको मौका पारेर कृष्णबहादुरले काठको लाठीले टाउकोमा प्रहार गरे ।
मृतक सूर्यबहादुरले गुहार मागेपछि श्रीमती गमला गुहार माग्दै गर्दा दीपकले लात्तीले हानेर घरको मूल ढोका फुटाए अनि लात्ती र लाठीले टाउकोमा प्रहार गरेर हत्या गरे । त्यतिले नपुगेर हँसियाले घाँटी पनि रेटे । सूर्यबहादुरको टाउको र घाँटीमा पनि सोही हँसिया प्रहार भयो ।
उनीहरूको हत्या गरेपछि अभिुयुक्तहरुले मृतकको शरीरमा रहेका सुनका गहना, पसलमा रहेको नगद र रिचार्ज कार्ड लुटेर बाहिरबाट ढोकामा ताला लगाएर बाटो लागे । उनीहरूले पर्वत जिल्लापट्टिको कच्ची सडक हुँदै हिँडेर पर्वत र बागलुङको सीमानामा रहेको मालढुङ्गामा आइपुगेपछि बिहान करिब साढे पाँच बजेको समयमा पोखरा जाने बसमा चढे । बिहान सात बजे पोखरामा झरेर गहनामा लागेको रगत सफा गरेर बाँडफाँट गरेर आफ्नो बाटो लागे । कृष्णले आफ्नो भागमा परेको सुनका गरगहना माइला बुबा पर्ने कर्णबहादुर बिकलाई गाल्न लगाए अनि गालेको सुन बागलुङमा बस्दै आएका परशुराम बिकलाई बिक्री गरे ।
हत्यामा संलग्न रहेका तथा लुटिएको सुनको कारोबारमा संलग्न रहेका चारै जनालाई गत मंगलबार मात्रै बागलुङ र पर्वत जिल्लाबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक भुसालले बताए ।
यसरी भयो अनुसन्धान
पर्वत प्रहरीका अनुसार यो हत्याकाण्ड पत्ता लगाउन करिब दुई हजारभन्दा बढी व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा सोधपुछ गरिएको थियो । अनुसन्धानका क्रममा ‘डग स्निफिङ’ सहित, औजार बनाउने कारखाना, खराब आचरण भएका व्यक्तिहरूको विवरण संकलन, गम्भीर अपराधमा सजाय पाएर छुटेका व्यक्तिहरू, लगायतको पनि अनुसन्धान गरिएको थियो । सोही क्रममा विशेषज्ञ चिकित्सकहरू समेत प्रयोग गरिएको थियो ।
घटनामा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट संयुक्त रूपमा ‘अपरेसन लालीगुराँस’ नाम दिएर अनुसन्धान थालिएको थियो ।





