पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाले प्रथम आवधिक योजना निर्माण गर्न ‘भिजनेवल’ गोष्ठीमार्फत सुझाव संकलन गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक वर्ष २०८५/०८६ सम्मको पाँच वर्षे अवधिमा गाउँपालिकाको दीर्घकालीन सोच, लक्ष्य र रणनीति तय गर्न सामूहिक रूपमा छलफल गर्नको लागि ‘भिजनेवल’ गोष्ठी राखिएको थियो । जसमा उपभोक्ता, राजनीतिक दलका प्रतिनिधि, विज्ञ, जनप्रतिनिधि, कर्मचारीसुझाव सङ्कलन गरेको हो ।
गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार योजना तर्जुमा गर्नका लागि जिल्लाबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका पूर्व जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत सबै शाखाका कर्मचारीहरू, पैयुँका सबै राजनीतिक दलका प्रमुख, माध्यमिक तहको विद्यालयका प्रधानाध्यापक, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, गैर सरकारी संस्थाका प्रतिनिधिहरू, नागरिक समाज, पत्रकार, स्थानीय बुद्धिजीवी, सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
सहभागीहरूले दिएका सुझावको आधारमा पैयुँका सम्भावित आयोजना तथा कार्यक्रमहरू, गाउँपालिकाको दीर्घकालीन सोच, लक्ष्य र रणनीति तय गरिने उनको भनाइ छ । ‘गोष्ठीबाट आएका सुझावलाई समेटेर जेठ मसान्त वा असार १५ सम्ममा यसलाई बाहिर ल्याउने भन्ने हाम्रो योजना छ । वडाका सम्भावनाहरूको बारेमा पनि हामीले राख्ने छौँ । वडाका सम्भावनाहरूको बारेमा पानी राखिएका कुराहरू खाकाको रूपमा रहने छ,’ अध्यक्ष ठकुरी भन्छन्, ‘राजनीतिक दलहरूको अन्तिम मिसन र भिजन भनेको पनि त आफ्नो ठाउँको विकास गर्ने नै हो । तर छिरलिएको वा भनौँ पूर्व योजना बिनाको विकासमा भद्रगोल हुने सम्भावना हुन्छ । तर हामीले गरेको योजनाले कहाँसम्म पुग्ने ? कसरी पुग्ने ? त्यसका लागि कस कसले के के गर्ने ? भन्ने सबै कुराहरू पूर्वनिर्धारित हुन्छ ।’ गाउँपालिको साझा ‘मिसन’ बारे थाहा पाएपछि गाउँपालिकासँग सहकार्य गर्न आउने कोही भएमा उनीहरूलाई पनि के पक्षमा कसरी सहकार्य गर्ने भन्नेमा सहज हुने उनको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले निर्माण गर्न लागिएको पाँच वर्षे आवधिक योजनाले अबको पाँच वर्षपछिको पैयुँको अवस्थालाई अहिले नै चित्रण गर्ने बताउँछन् । लक्ष्यविहीन तरिकाले काम गर्दै जाँदा कहिले नसोचेको परिणाम आउने त कहिले सोचेको परिणाम आउनै नसक्ने भन्दै उनले निर्धारित लक्ष्य र त्यसको पूर्व तयारीले नै सफलता पाउन सकिने उनको भनाइ छ ।
‘यसमा गाउँपालिकाका सोच, लक्ष्य, उद्देश्य, यहाँका, सम्भावना सबै कुराहरू समावेश हुन्छन् । अबको पाँच वर्षमा गाउँपालिकालाई कुन अवस्थासम्म लैजाने भन्ने पूर्व योजना भयो भने मात्रै सोही अनुसारका योजना निर्माण र कार्यान्वयन गर्न सहज हुन्छ’, प्रमुख प्रशासकीय अधिकृत रिमालले भने, ‘यसले जनप्रतिनिधिदेखि कर्मचारीहरूलाई पनि पैयुँका लागि राखिएको लक्ष्य भेट्टाउनको लागि साझा मिसनको रूपमा अगाडि बढाउन पनि सजिलो हुन्छ । यसले प्राथमिकताका क्षेत्रहरू के के हुन भन्नेबारे पनि सबैलाई स्पष्ट पार्छ । कुनै पनि योजनामा लगानी गरिसकेपछि त्यसको उपलब्धि के आउँछ भन्ने कुरा पनि यसबाट पहिले नै थाहा हुन्छ ।’
कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, वा अन्य कुन क्षेत्रमा लक्षित भएर अगाडि बढ्ने भन्ने कुरा गोष्ठीमा आउने भएकाले नै सामान्य उपभोक्तादेखि विज्ञसम्मलाई एकै ठाउँमा राखेर उनीहरूका विचार सुन्न योजना गाउँपालिकाले बनाएको हो ।
जसमा गाउँपालिकाका प्रमुख सम्भावना तथा अवसर १६ बुँदामा विभिन्न विषयहरू समेटिएका छन् ।





