पर्वत/जुनसुकै रोगको लक्षण देखिँदा पनि सुरुमा धामी–झाँक्रीकोमा गएर आखत हेर्ने, पातीको पातबाट हेराउने, चिनाबाट दशा ग्रहको अवस्था हेर्ने अझै पनि कायमै छ । ती लक्षणको निदानको लागि झारफुक गर्नेदेखि लागोभागोले छोडोस् भन्दै पानीले मन्साउने गरिन्छ । लामा–धामीको कामले निको भएन भने अनिमात्रै चिकित्सककहाँ जानेहरूको कमी अझै पनि छैन ।
गाउँमा को को बिरामी छन् र उनीहरूमा के के लक्षण छन् भन्ने कुरा स्वास्थ्यकर्मीले भन्दा पहिले धामी झाँक्रीले नै थाहा पाउने सम्भावना हुन्छ । पछिल्लो पुस्ताले ‘मेडिकल साइन्स’ मा विश्वास गरे पनि अघिल्लो पुस्ता भने ‘धामी झाँक्री’ र ‘लागोभागो’ मा ‘ह्याङ’ बाट उत्रिएको छैन ।
धामी झाँक्रीप्रतिको यही आस्थालाई मौका मिलाएर ‘मेडिकल साइन्स’ मा जोड्ने गरी जिल्लाका जलजला गाउँपालिकाले भने अभ्यास सुरु गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक गणेश मल्लाका अनुसार गाउँपालिकाको आयोजना र मल्लाज स्वास्थ्य चौकीको समन्वयमा क्षयरोग खोजपडताल तथा घरदैलो कार्यक्रमका लागि सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक सहित धामी झाँक्रीहरूलाई पनि साथमै राखेर अभिमुखीकरण गरिएको छ ।
गाउँपालिकाको वडा नं. १ बासखर्क तथा वडा नं. २, ३ र ४ माझफाँट सहभागी हुन आएका सहभागीहरूलाई समुदायमा रहेका क्षयरोगीहरू पत्ता लगाएर स्वास्थ्य संस्थाको सम्पर्कमा ल्याउनको लागि सहकार्य गर्ने गरी अभिमुखीकरण गरिएको हो । धामीझाँक्रीहरुलाई पनि राखेर क्षयरोगको लक्षण र जोखिमका बारेमा ज्ञान दिँदा झारफुकका लागि उनीहरूकहाँ पुग्नेहरूमा देखिएका लक्षणका आधारमा रोगको पहिचान गर्न सकिने भएकोले धामीझाँक्रीलाई पनि यो अभियानमा जोडिएको स्वास्थ्य शाखा प्रमुख मल्लले बताए ।
‘कार्यक्रमको उद्देश्य नै लुकेर रहेका क्षयरोगका बिरामीहरूलाई खोजपड्ताल गरेर पत्ता लगाउनु हो । त्यसका लागि समुदायका सरोकारवालाहरूलाई राखेर अभिमुखीकरण गरेका हौँ । कस्तो लक्षण भएका बिरामीहरूमा क्षयरोगको लक्षण हुन सक्छ भन्ने बारेमा सिकाइएको छ’, उनले भने, ‘खकार निकाल्ने तरीका, खकार प्रेषणको तरीका आदिबारे सिकाइएको छ । समुदायमा रहनुभएका उहाँहरूले क्षयरोगको संक्रमण पत्ता लगाएर स्वास्थ्य संस्थासम्म पठाउनुभयो भने तीनवटा केससम्मको एक हजारका दरले कुल तीन हजार दिने नेपाल सरकारको व्यवस्था छ । यो कार्यक्रमको उद्देश्य भनेको टीबीका बिरामीहरूलाई खोजेर उपचारसम्म ल्याउने नै हो ।’
गाउँपालिकाको अभिमुखीकरणमा तीनजना धामी झाँक्री सहभागी भएका थिए । तीमध्येका एकजना त पहिले नै क्षयरोग सङ्क्रमित भएर निको समेत भइसकेका व्यक्ति हुन् । धामी झाँक्री स्वयंलाई नै क्षयरोग हुन्छ र उनले पनि औषधि सेवन गर्नुपर्छ भन्ने उदाहरणका रूपमा ती धामी रहेकोले अरू बिरामीहरूलाई पनि कुरा बुझाउन सहज हुने मल्लको भनाइ छ । सुरुमा ‘मेडिकल साइन्स’ मा विश्वास नगरेका ती धामी औषधि सेवनबाटै क्षयरोगमुक्त भएपछि उनलाई क्षयरोगका बारेमा धेरै कुराहरू थाहा भएको र उनले सम्झाउँदा शंकास्पदहरुलाई स्वास्थ्य संस्थासम्म पुग्न सजिलो हुने छ ।
‘धामीझाँक्रीहरुले दिनभरजसो नै बिरामीलाई झारफुक गर्ने काम गर्नुहुने रहेछ । अब झारफुकको लागि आउनेलाई त उहाँहरूलाई सम्झाउनुहुन्छ’, अभिमुखीकरणमा सहभागी स्वास्थ्य कार्यालय पर्वतकी सिनियर अनमी अञ्जली पौडेल भन्छिन्, ‘क्षयरोग फुकेर होइन औषधि खाएर निको हुन्छ भन्ने जानकारी दिनुहुनेछ ।’





