पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताएका छन । शनिबार गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उनले त्यसका लागि साहित्य, संस्कृति र कलामार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिए ।
पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरैं काम गर्न बाँकी रहेको उनको भनाई थियो । ‘पर्यटनको राजधानी घोषणा भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र प्रकृतिको राजधानी समेत हो, यी विशिष्ट प्रकृति र संस्कृतिप्रतिको सम्मानको लागि यसलाई उजागर गर्दै संसारभरी पर्यटन उत्पादनको रुपमा अगाडि बढाउनुपर्छ’ अधिकारीले भने । यहाँको कला, साहित्य, संस्कृति र संगीतकोे क्षेत्रमा गण्डकी प्रज्ञा प्रतिष्ठानले गरेका कार्यको उनले प्रंशसा गरे । ‘प्रतिष्ठानले गरेका कार्य उत्कृष्ट छन्, फूल सारे माया नमारे भन्ने गीतले भनेझै फूल राम्ररी सार्नेछौ, संरक्षण गर्नेछौं, संरक्षणको अभियान निरन्तर जारी छ’ उनले भने । प्रतिष्ठानले गर्ने कार्यमा गण्डकी प्रदेश सरकारका निरन्तर साथ रहने प्रतिवद्धता उनले जनाए ।
वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित ७ श्रष्टालाई सम्मान अर्पण गरियो । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ सम्मानित भए । उनीहरुलाई जनही एकलाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिएको हो ।
गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा सम्मानित भइन । उनलाई नगद ५० हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ सम्मानित भए । उनीहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान अर्पण गरियो ।
सम्मानित सबैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी सहित, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, उर्जा जलश्रोत तथा खानेपानी मन्त्री वेदबहादुर गुरुङ, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.श्रीकान्त शर्मा खतिवडा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोकदोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ लगायतले सम्मान अर्पण गरेका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले श्रष्टाहरु छनोट गरेको हो । छनोट समितिमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, कलाकार यादवचन्द्र भुर्तेल र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य थिए ।
वार्षिकोत्सबको अवसर पारेर प्रतिष्ठान परिसरमा निर्माण गरिएको श्रष्टा स्मृति पार्कको मुख्यमन्त्री अधिकारीले उद्घाटन गरे । कला, साहित्य ,संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेको प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो । प्रतिष्ठान स्थापनादेखि हालसम्मको तीन वर्षे गतिविधिको बारेको भिडियो प्रदर्शन समेत गरिएको थियो । विभिन्न झाँकी सहितको साँस्कृतिक प्रस्तुती र गायन प्रस्तुती समेत कार्यक्रमको आर्कषणको रुपमा रहेका थिए ।





