बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वत अस्पतालद्वारा सवारी चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत अस्पतालद्वारा सवारी चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८१, आइतबार

पर्वत/सवारी चालकहरूको स्वास्थ्य ठिक अवस्थामा राख्न पर्वत अस्पतालले सदरमुकाम कुश्मा बजारमा रहेका केही सवारी चालकहरूको निःशुल्क स्वास्थ्य जाँच गरेको छ ।
‘सवारी चालक स्वस्थ भए यात्रु सुरक्षित हुन्छन’ भन्ने मान्यताका साथ कुश्मामा उपलब्ध रहेका अटो, ट्याक्सी र बसका चालकहरूको शनिवार बिहान अस्पतालमा नै बोलाएर स्वास्थ्य परीक्षण गरिएको हो । पर्वत अस्पतालको ओपिडीमा करिब ५० जना चालकहरूको स्वास्थ्य जाँच गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए ।
‘स्क्रिनिङ क्याम्प’ को रूपमा राखिएको स्वास्थ्य जाँच कार्यक्रममा मुख्यतः चिनी रोग र उच्च रक्तचापलाई प्राथमिकतामा राखेर जाँच गरिएको थियो । यस्ता खालका दीर्घ रोगहरू व्यक्तिले थाहा नपाई भित्रभित्र बढ्ने र यसले चालकलाई जोखिममा पार्ने भएकोले यी दुई अवस्थालाई प्राथमिकतामा राखिएको हो । उनीहरूलाई केही दिनपछि पुनः ‘फलो अप’ परीक्षणका लागि बोलाइएको र औषधि चलाउनुपर्ने अवस्था देखिएमा नियमित औषधि सेवन गर्न लगाइने डा. बास्तोलाको भनाइ छ । सवारी चालकहरूको खाना खाने समय तलमाथि भइरहने कारणले पनि स्वास्थ्यमा समस्या आउने भएकाले उनीहरूलाई खाना खाने समय र खानामा समावेश हुनुपर्ने सन्तुलित आहार, आँखाको स्वस्थताको लागि आवश्यक पर्ने पोषण लगायतका बारेमा पनि सिकाइएको छ ।
‘चालक स्वस्थ भए यात्रु पनि सुरक्षित हुन्छन् । एक जना चालकको हातमा कति जनाको जीवन धानिएको हुन्छ, धेरैको जीवनको जिम्मा पाएको चालककै स्वास्थ्य ठिक अवस्थामा छैन भने दुर्घटनाको जोखिम पनि हुन सक्छ’, मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले भने, ‘आज गरिएको प्रारम्भिक परीक्षणपछि आवश्यकता अनुसार उहाँहरूलाई फलो अप जाँचका लागि पनि बोलाउने छौँ । सुझाव सहित आवश्यक भए औषधि पनि चलाउँछौँ ।’ स्वास्थ्यमा समस्या आउँदा पनि सकेसम्म पेलेरै जाने र अन्तिम परेपछि मात्रै स्वास्थ्य संस्थामा जाने प्रवृत्तिले पनि मानिसहरूलाई स्वास्थ्य जोखिममा राखेको भन्दै उनले चालकले आफू र आफ्नो परिवारका सदस्यहरूको स्वास्थ्य बिमा गर्न पनि अनुरोध गरेका छन् ।
विशेषतः ट्क्यासीलाई सर्वसाधारणहरूले ‘एम्बुलेन्स’ को रूपमा पनि लिने गरेकाले उनीहरूका माध्यमबाट स्वास्थ्य संस्थाका सेवा सुविधाका बारेमा जानकारी गराउनको लागि पनि यो कार्यक्रम सहयोगी हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरी बताउँछन् । सडक दुर्घटनाका बेलामा घाइतेहरूको उद्धार गरेर अस्पतालमा ल्याउने भूमिका पनि चालकहरूको हुने भएकाले स्वास्थ्य संस्थामा उपलब्ध सेवाहरूको बारेमा उनीहरू जानकार भएमा घाइतेले समयमै उपचार पाउने उनको भनाइ छ ।
सरकारी स्वास्थ्य संस्थाहरूप्रति नागरिकले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनको लागि पनि पर्वत अस्पतालले समुदायसँग प्रत्यक्ष जोडिने गरेर विभिन्न कामहरू गरिरहेको अध्यक्ष गिरीले बताए। ‘सवारी चालकहरू संवेदनशील पेसामा हुनहुन्छ । दुर्घटनामा भएका घाइतेको उद्धार गर्ने उहाँहरू नै हो, फेरि उहाँहरूकै स्वास्थ्यमा आएको समस्याका कारण दुर्घटना पनि भइरहेका हुन्छन’, उनले भने, ‘मुख्य गरी ट्याक्सीमा यात्रा गर्नेहरूले अस्पताल जानको लागि ड्राइभरसँग सोधिरहेका हुन्छन् । ड्राइभरहरूले उहाँहरूलाई सरकारी अस्पतालको विश्वास दिलाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->