बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कालीगण्डकी दोहन रोक्न ढुंगामा भगवानको नाम

कालीगण्डकी दोहन रोक्न ढुंगामा भगवानको नाम

पवित्र तीर्थस्थल मोदीवेणीधामसम्मको भागमा रहेका शिलाहरूमा भगवानका नाम लेख्न तयारी थालिएको छ ।


  • संजय रेग्मी
  • जेष्ठ ४ २०८१, शुक्रबार

पर्वत/अहिले कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन। सर्वोच्च अदालतमा यसबारेमा मुद्दा परेपछि अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न भनेको छ । अदालतले दिएको यो आदेश स्थानीय तहहरूले पालना गरेर आफ्नो आम्दानीको स्रोतलाई बन्द गरेर राखेको भए पनि अवैध रूपमा हुने उत्खनन भने रोकिएको छैन। अदालतको आदेशले राज्यका निकायलाई उत्खननमा रोक लगाएको भए पनि अवैध रूपमा निकाल्नेहरूलाई झनै सजिलो भएको छ ।
कुनै हालतमा पनि कालीगण्डकी उत्खननको काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले नयाँ शैलीको अभ्यास गर्ने भएको छ ।
अमिर खान अभिनित हिन्दी चलचित्र ‘पिके’ मा एउटा दृश्य रमाइलो छ । अर्को ग्रहबाट पृथ्वीमा आएका अमिरले नजानेरै गल्ती गर्छन् । मानिसहरू उनीमाथि आक्रमण गर्छन्। । गालामा झापड खान परेपछि उनले गालामा भगवानको तस्वीर भएका स्टिकर टाँस्छन् । अब उनीमाथि आक्रमण गर्नेहरूले भगवानको तस्बिर रहेको ठाउँमा झापड हान्दैनन् ।
प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले यस्तै अवधारणामा रहेर शालिग्राम शिला पाइने एक मात्र कालीगण्डकी नदीमा नयाँ अभ्यास गरिने भएको छ । म्याग्दी सदरमुकाम बेनी बजारबाट करिब चार किलोमिटर टाढा रहेको प्रसिद्ध गलेश्वर धामबाट पर्वत सदरमुकाम कुश्मा बजारसँग जोडिएको पवित्र तीर्थस्थल मोदीवेणीधामसम्मको भागमा रहेका शिलाहरूमा भगवानका नाम लेख्न तयारी थालिएको छ । संरक्षण समितिका संयोजक तारा रेग्मी पाध्याका अनुसार यही जेठ छ गते श्रीकृष्ण मोहिनी एकादशी तीथिको अवसरमा कालीगण्डकी तटमा स्नान सहित भजन कार्यक्रमको आयोजना गरिएको छ ।
जेठ छ गते विशेष रूपमा सुरु हुने यो कार्यक्रम अन्य एकादशीहरूमा पनि सञ्चालन हुने करिब १० हजार भक्तजनहरू यसमा सहभागी हुने अनुमान गरिएको छ । संयोजक रेग्मीका अनुसार एकजना भक्तजनले एक सय आठवटा शिलामा नाम लेख्ने गरी अहिले प्रचारप्रसारको काम चलिरहेको छ । तर इच्छा भएमा यो भन्दा बढी संख्यामा पनि नाम लेख्न सकिन्छ । अनुमान गरिए अनुसारकै भक्तजन उपस्थित हुँदा मात्रै पनि कालीगण्डकीमा रहेका १० लाख ८० हजार शिलामा भगवानको नाम लेखिने छन् ।
‘यो स्नान कार्यक्रममा हरिकीर्तन गर्दै भगवानको नाम लेख्ने हो। नदीमा रहेका प्रत्येक ढुङ्गा नै हाम्रा शिला हुन् । त्यसैले प्रत्येक शिलामा भगवानका नाम लेख्ने हो । एकजना भक्तले एक सय आठ वटा शिलामा नाम लेख्ने तयारी छ’, उनले भने, ‘१० हजार भन्दा बढी भक्तजनहरू आउन सक्नुहुन्छ । यो अभियान हरेक एकादशीमा गर्न सकिन्छ । एकादशीमा स्नान गर्न जानेहरूले गएको बेलामा शिलामा भगवानको नाम लेखेर फर्किन्छु भनेर पनि लेख्न सक्नुहुन्छ । शिलाङ्कीत नगरेसम्म कालीगण्डकीको उत्खनन नरोकिने भयो ।’
समितिका सचिव हरेमबहादुर खत्रीले उत्खननकै कारण शालिग्राम लोप भइसक्ने अवस्था आएकोले यसमा सबैको चासो हुनु आवश्यक रहेको बताए । शालिग्रामको संरक्षण, नदीको संरक्षण, मरेपछि हाम्रो अन्तिम संस्कार गर्ने धर्म घाटको संरक्षण, वातावरणको संरक्षण लगायतका सबै पक्षको राम्रोका लागि यो काम गर्नुपर्ने उनको भनाइ छ । मोहिनी एकादशीमा यो अभियान विशेष रूपमा सुरु गर्ने बेलामा म्याग्दीको गलेश्वरबाट पर्वतको मोदीवेणी धामलाई लक्ष्यमा राखेर स्नान गर्दै, भजन गाउँदै र शिलामा नाम लेख्दै अभियान सुरु हुने छ । त्यसपछि आउने एकादशीमा पनि स्नान र शिलामा नाम लेख्ने अभियान जारी रहने छ । यसमा सहभागी हुन इच्छुक भक्तजनहरू गलेश्वर वा मोदीवेणी धाममा नै नपुगेर आफूलाई पायक परेको तटमा पुगेर स्नान र नामाङ्कन गर्न सक्ने खत्रीले बताए ।
समितिले ‘कालीगण्डकी नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जर्गेना गरौँ’ भन्ने नाराका साथ जीवित चक्राङ्कित दिव्य शिलाको संरक्षणका लागि कालीगण्डकी नदी र शालिग्राम शिलालाई विश्व सम्पदा सूचिमा समावेश गर्न सचेतना अभियानहरू सञ्चालन गर्न पनि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->