बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतका ६ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै

पर्वतका ६ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै

कुल चार सय ७७ वटा खोप केन्द्रमा चार सय ७७ जना स्वास्थ्यकर्मी र नौ सय ५४ जना स्वयंसेवकहरू खटिँदै छन् ।


  • संजय रेग्मी
  • जेष्ठ ११ २०८१, शुक्रबार

पर्वत/नियमित खोप कार्यक्रमअन्तर्गत खोपको अभावमा छुटेका पर्वतका करिब छ हजार बालबालिकाहरूलाई पोलियोविरुद्धको आईपीभी खोप दिइने भएको छ ।
२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूले यो खोप नपाएकाले उनीरुको लागि खोप अभियान सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले बताए ।
आइपीभी (इनएक्टीभेटेड पोलियो भ्याक्सिन) खोपमा पोलियोको मृत भाइरस हुने र यो सुइको माध्यमबाट दिन लागिएको हो । यो खोपले वाइल्ड पोलियो भाइरसबाट हुने पोलियोमाइलाइटिस, ओपीभी खोपसँग सम्बन्धित पोलियोमाइलाइटिस र आईपीभी खोपबाट उत्पन्न भएको पोलियोमाईलाईटिस हुनबाट सुरक्षा प्रदान गर्ने उनको भनाइ छ । ओपीभी खोपमा भने निष्क्रिय पारिएको जीवित पोलियो भाइरस हुने र यसलाई मुखबाट खुवाउने गरिएको छ ।
खोप तालिका अनुसार बच्चा जन्मिएको छ हप्ता, १० हप्ता र १४ हप्तामा ओपीभीको पहिलो, दोस्रो र तेस्रो मात्रा दिएको हुनुपर्छ भने आईपीभीको पहिलो मात्रा जन्मिएको १४ हप्तामा र दोस्रो मात्रा नौ महिनाको उमेरमा दिनुपर्छ ।
जिल्लाका सात वटै स्थानीय तहमा अभियान नै सञ्चालन गरेर यही जेठ १३ देखि २६ गतेसम्म आइपीभी खोप लगाउन थालिएको हो । जिल्लाको फलेवास नगरपालिका, महाशिला, विहादी र पैयुँ गाउँपालिकामा जेठ १३ गतेदेखि १७ गतेसम्म र कुश्मा नगरपालिका, मोदी र जलजला गाउँपालिकामा २१ गतेदेखि २६ गतेसम्म खोप लगाउने कार्य तालिका निर्धारण गरिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार मोदी गाउँपालिका ५४ विद्यालयका सात सय ५३ जना, जलजला गाउँपालिकाका ४६ विद्यालयमा छ सय ७१ जना, कुश्मा नगरपालिकाका ७५ विद्यालयका एक हजार नौ सय ४९ जना, फलेवास नगरपालिकाका ५५ विद्यालयका आठ सय ८५ जना, महाशिला गाउँपालिका २६ विद्यालयका दुई सय ९० जना, बिहादी गाउँपालिकाका ३० विद्यालयका तीन सय ९२ जना र पैयूँ गाउँपालिकाका ३२ विद्यालयका सात सय ६० जना गरेर कुल तीन सय १८ वटा विद्यालयका पाँच हजार सात सय जनालाई यो खोप दिन लागिएको छ । ती स्थानीय तहहरूमा क्रमशः ७४, ७२, १०७, ७८, ४७, ४६ र ५३ वटा खोप केन्द्रहरू राख्न लागिएको छ । कुल चार सय ७७ वटा खोप केन्द्रमा चार सय ७७ जना स्वास्थ्यकर्मी र नौ सय ५४ जना स्वयंसेवकहरू खटिँदै छन् ।
२०७३ वैशाखदेखि २०७५ असोज सम्म पर्वतमा जन्मेका बालबालिकाको सङ्ख्या आठ हजार चार जना भए पनि अहिले पाँच हजार सात सय जनाले खोप पाउँदै छन् । बाँकी बालबालिकाहरू कतिपयले अन्य जिल्लामा लगाएको तथा कतिपय बसाइँ सरेर गएकाले संख्यामा ह्रास आएको हो ।
खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्य चौकीसँग सहकार्य गरिने कार्यालय प्रमुख शर्माले बताए । खोप लगाइसकेपछि बालबालिकामा सामान्य असर देखिन सक्ने भएकाले हरेक स्थानीय तहमा एक÷एक जना चिकित्सकले आवश्यक निगरानी गर्नेछन् । नियमित खोप भन्दा फरक हुने भएकाले लक्षित समूहका सबै बालबालिकाले अनिवार्य लगाउनुपर्ने कार्यालयले बताएको छ ।
पोलियोमाइलाइटिस पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । यी भाइरस तीन प्रकारका छन् । यसबाट सङ्क्रमित भएको व्यक्तिलाई पक्ष घात हुन सक्ने र त्यो भएमा निको नहुने चिकित्सकहरूले बताएका छन् । यो भाइरसले जुनसुकै उमेरका मानिसलाई सङ्क्रमण गर्न सक्ने भए पनि पाँच वर्ष मुनिका बालबालिकाहरू बढी जोखिममा हुने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए ।
पोलियो भाइरसबाट दूषित भएको पानी, खानेकुराबाट पनि यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले सचेत हुनुपर्ने उनको भनाइ छ । पोलियो भाइरसबाट सङ्क्रमित हरेक दुई सय जनामध्येका एक जनामा पक्ष घात हुने गरेको तथ्याङ्क छ । यस्तै सङ्क्रमितमध्ये पाँचदेखि १० प्रतिशतमा श्वासप्रश्वास मांसपेशी नचल्ने र व्यक्तिको मृत्यु हुने गरेको छ । यो रोग लागेपछि यसको निश्चित उपचार नभएकोले यस बिरुद्धको खोप लगाउनु नै सङ्क्रमणबाट बच्ने सबैभन्दा उत्तम विकल्प रहेको डा. बास्तोलाको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->