बागलुङ/जिल्लाको लोमन्थाङ गाउँपालिका गण्डकी प्रदेशकै कम बेरुजु आउने गाउँपालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक ६१ औं प्रतिवेदन अनुसार बेरुजु कम हुनेमा लोमन्थाङ पहिलो स्थानीय तह भएको हो ।
आर्थिक बर्ष २०७९/०८० मा गाउँपालिकाको कुल बजेट ३० करोडमध्ये ५६ हजार रुपैयाँ अर्थात ०.०१ प्रतिशत बेरुजु आएको छ । देशभरका स्थानीय तहमध्ये ७ औं स्थानमा रहेको गाउँपालिका प्रतिशतका आधारमा लोमन्थाङ सबैभन्दा कम बेरुजु भएको गाउँपालिका भएको हो ।
देशभर सुन्य बेरुजु भएका ६ स्थानीय तह छन् । चितवनको भरतपुर नगरपालिका र लोमन्थाङ गाउँपालिककाको बेरुजु समान ०.०१ प्रतिशत रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखाले लोमन्थाङमा देखिएको बेरुजु नियमित गर्नुपर्ने रहेको जनाएको छ ।
‘नीतिगत रुपमा स्पष्ट भएर मात्रै हामीले बजेट खर्च गरेका छौं, विधिसंगत खर्च नै हाम्रो बेरुजु कम आउनुको कारक हो’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पौडेलले भने, ‘जनप्रतिनिधि र कर्मचारी दुवैले जनताका कामलाई सम्मानका साथ प्रक्रियामा प्रवेश गरेर गर्दा मात्रै पनि धेरै सजिलो हुँदोरहेछ ।’ हिमालपारीको जिल्लामा भौगोलिक र मौसमका कारणले कार्यसम्पादनमा समस्या आउने गरेको भएपनि लोमन्थाङले आफुलाई अव्वल सावित गर्ने प्रयास गरिरहेको पौडेलले बताए ।





