बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खौलालाँकुरीमा सार्वजनिक सुनुवाई

खौलालाँकुरीमा सार्वजनिक सुनुवाई


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८१, मंगलबार

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीमा सोमबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कुश्मा नगरपालिकाले चालु आर्थिक वर्षको समीक्षासहित वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
उक्त अवसरमा वडाबासीले वर्षौदेखि खानेपानी अभाव झेल्नुपरेको समस्या सुनाए । साथै विभिन्न बिकास निर्माण, विद्यालय, किसानलाई राहतका विषयमा चासोका साथ गुनासो राखे । पालिकाको बजेट बजार केन्द्रीत भएको, ग्रामीण क्षेत्रमा फोहोर व्यवस्थापन गर्न नसकेको, सार्वजनिक जग्गा अतिक्रमण भएको, जनता आवास तथा भूकम्पपीडित घर बन्न नसकेको, कृषि तथा अन्य क्षमता अभिबृद्धि कार्यक्रममा सबैलाई समेट्नुपर्ने, बजार र ग्रामीण क्षेत्रको कर फरक हुनुपर्ने, सिंचाई अवरुद्ध गरिएको, सडक स्तरोन्नति हुनुपर्नेजस्ता बिषयमा पनि जिज्ञासा राखेका थिए । नगरपालिकाले आफ्नै प्रशासकीय भवन बनाउन नसकेको, सघन शहरी बिकासको बजेट विनियोजन न्यायोचित नभएको पनि स्थानीयले जिज्ञासा राखेका थिए । साथै नगरपालिकालाई नियमित सार्वजनिक सुनुवाई गर्न पनि सुझाए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुको उत्तर दिदै नगरप्रमुख रामचन्द्र जोशीले जनताले दिएको सुझाबका आधारमा आगामी नीति कार्यक्रम र बजेट तय गरिने बताए । उनले पालिकासंग सिमित स्रोतसाधन रहेकाले जनताका असिमित आवश्यकताहरु पुरा गर्न नसकिएको बताए । तर पनि भूगोल र जनसंख्याको आधारमा बजेटको बाँडफाँड गरिएको भन्दै उनले राजनीतिक र भेगीय हिसावले कुनै भेदभाव नगरेको दावी गरे । जोशीले अव राजनीतिमात्र नगरी समाजका लागि काम पनि गर्नुपर्ने बेला आएको भन्दै कहिकतै कमजोरी भए सुझाव दिन आग्रह गर्दै कहाँनेर कमजोरी गर्ला र अनि बिरोध गरौला भनेर अवसर खोज्नमात्र नलाग्न अनुरोध पनि गरे । सार्वजनिक सुनुवाईमा आएका सुझाबहरु आफ्नो लागि मार्गनिर्देशन भएको समेत उनको भनाई थियो ।
उपप्रमुख स्वस्थानी रिजालले आर्थिक ऐन अनुसारनै कर निर्धारण गरिएको स्पष्ट पारिन । प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमले सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीले चासो दिएर उल्लेख्य उपस्थिति जनाएकोमा खुशी व्यक्त गरे । वडाध्यक्ष तेजप्रसाद शर्माले सबै कुरामा नकरात्मक धारणा मात्र राख्न नहुने बताए । कतिपय बिकास निर्माणका आयोजनाको उपभोक्ता समितिमा बस्ने व्यक्तिसमेत पाउन नसकिएको भन्दै सकारात्मक रुपमा विकासका आयोजनामा सहयोग गर्न बडाबासीसमक्ष अनुरोध गरे । शिक्षा अधिकृत विष्णप्रसाद तिवारी, स्वास्थ्य संयोजक यामप्रसाद शर्मा लगाएतले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा वडासचिव योगमाया बिकले वडामा संचालित योजना, कार्यक्रमको प्रगति तथा वडाबाट प्रवाह भएका सेवा एवं प्रशासनिक कार्यक्रमबारे जानकारी गराएकी थिइन ।

कार्यक्रमको सहजीकरण जि एण्ड जि मिडिया प्रा।लिको तर्फबाट पत्रकार गणेश गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->