बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कुश्मा बजारमा खानेपानीको अभाव

कुश्मा बजारमा खानेपानीको अभाव


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८१, बुधबार

पर्वत/सदरमुकाम कुश्मा बजारमा वितरित पानीको पाइप लाइन स्थानान्तरण गर्नुपर्ने बजारका केही क्षेत्रमा पानीको अभाव सुरु भएको छ ।
पछिल्ला केही दिनयता बढिरहेको तापक्रमले जनजीविका नै अप्ठ्यारोमा परेको छ । यही बेलामा कुश्मामा पानीको आपूर्ति गरिएको पाइप लाइनलाई स्थानान्तरण गर्नुपर्ने भएपछि बजारका केही भागमा पानीको आपूर्ति नहुने भएको हो। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था पर्वतका अध्यक्ष रविकुमार श्रेष्ठका अनुसार मोदी गाउँपालिकाको पाती खोलाबाट ल्याइएको पानीका पाइप लाइन रहेको कुश्मा नगरपालिकाको सुन्दरे खोलामा पाइप सार्ने काम सुरु भएको छ । मङ्गलवार र बुधवार पाइप स्थानान्तरणको काम गर्नुपर्ने भएकोले बजारमा पानीको अभाव हुने भएको उनको भनाइ छ ।
हरेक वर्षको बर्खा याममा सुन्दरे खोलामा आउने बाढी र पहिरोका कारण पाइप लाइनमा क्षति हुने गरेकोले उक्त स्थानमा रहेको पाइप लाइनको रुट परिवर्तन गर्न सुरु भएको हो । पाइप लाइन नै स्थानान्तरण गर्नुपर्दा कुश्मामा जोडिएको पाइपको आपूर्ति बन्द गर्नुपर्ने अवस्था छ ।
कुश्मामा निरन्तर रूपमा एकै परिमाणमा पानी आयात हुने प्रमुखमध्येको एक पाती खोलाको आपूर्ति नै बन्द हुँदा गर्मीकै बेलामा पानीको सङ्कट हुने भएको छ । उक्त पाइप लाइनबाट आएको पानी खरेहा र गोदाममा रहेको ट्याङ्कीमा खसाल्ने गरिएकोले ती ट्याङ्कीबाट वितरण हुने पानी अवरुद्ध भएको छ। जसका कारण खरेहा, गोदाम, पाखा थर, शिवालय मन्दिर, वडा नम्बर ७ को कार्यालय वरपर लगायतका स्थानमा ती ट्याङ्कीबाट जोडिएका धारामा पानीको आपूर्ति नहुने भएको हो ।
कुश्मामा माग अनुसार पानीको आपूर्ति दिने हो भने कुश्मा बजारमा जडान भएका करिब दुई हजार छ सय धारामार्फत पानी बाँड्न संस्थाको ट्याङ्कीमा प्रति सेकेन्ड ६० लिटरका दरले पानी खस्नुपर्ने अवस्था छ । तर गर्मी यामका कारण पानीको मुहानमा पानी कम हुँदा प्रति २४ घण्टामा करिब २५ लाख लिटर पानीको आपूर्ति भइरहेको छ । पानीको आपूर्तिमा नै समस्या भएपछि मङ्गलवार देखी लागू हुने गरेर संस्थाले बजारका विभिन्न क्षेत्रमा पालो अनुसार पानीको वितरण गर्न पानीको ‘लोड सेडिङ’ भइरहेको छ ।
गर्मी तथा खडेरीकै बेलामा पानीको आपूर्ति माग बढी हुने भए पनि यही बेलामा पानीको समस्या झेल्नुपर्दा बजारको बसाई कठिन रहेको बजारवासीहरू बताउँछन् । केही समय पहिले सामान्य वर्षा भएको भए पनि पछिल्ला दिनमा बढिरहेको तापक्रमका कारण जनजीवन कष्टपूर्ण बनेकै बेलामा पानीको अभावले अवस्था झनै कठिन बनेको उपभोक्ताको दुखेसो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->