पर्वत/जिल्लाको कुश्मा नगरपालिका–११ पकुवाका टीकाराम सुवेदी स्थानीय स्यानीपोखरी आधारभूत विद्यालयका शिक्षक हुन् । उमेरले ५५ वर्ष पुगेका उनी अब आफ्नो विद्यालयको सम्पूर्ण विवरणलाई नेपाल सरकारले देशभरका विद्यालयका लागि सञ्चालन गरिरहेको ‘वेब बेस’ को सफ्टवेयरमा अद्यावधिक गर्न सक्ने भएका छन् ।
अबको पाँच वर्षमा सेवाबाट अनिवार्य अवकाश पाउन लागेका उनले ‘इमिस वेब बेस सफ्टवेयर’ भित्र गर्नुपर्ने विद्यालयको एकीकृत विवरणहरूको हरेक ‘बटन’ मा पुगेर विवरण सच्याउन र थप्न सक्ने भएका छन् । ‘इमिस’ हालै मात्रै ‘वेब बेस’ मा गएको भए पनि बुढेसकालमा शिक्षक सुवेदी ‘कम्प्युटर किबोर्ड’ मा सहजै औँला चलाउँछन् ।
पकुवाकै अर्को विद्यालय भगवती आधारभूत विद्यालयका शिक्षक ५२ वर्षीय गोविन्द रिमाल पनि ‘इमिस’ मा लगभग सबै काम गर्न सक्ने बताउँछन् । कागजमा काम गर्नुको तुलनामा प्रविधिबाट काम गर्दा धेरै सजिलो, छिटो र विश्वसनीय काम गर्न सक्दा आफूलाई बुढेसकाल लागेको छ भन्ने अनुभव आफूलाई नलागेको उनको भनाई छ ।
यी दुई शिक्षकहरू कुश्मा नगरपालिकाका लागि उदाहरण मात्रै हुन् । विद्यालयका सूचना तथा विवरणहरूको व्यवस्थापनको लागि देशभरका करिब ३६ हजार विद्यालयहरूले ‘इमिस’ को अनिवार्य प्रयोग गरिरहेका छन् । विद्यालयहरूका लागि सरकारले तयार पारेको एक मात्रै यो ‘सफ्टवेयर’ मा सुरुमा काम गर्न प्रविधिमा पोख्त भएकैलाई पनि कठिन हुने अवस्था भए पनि शिक्षकहरूको प्रविधि मोहले बुढेसकालको झल्को आउन दिएको छैन ।
कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले शाखाको आयोजनामा नगरपालिकाका ८१ वटा विद्यालयका लागि तीन चरणमा ‘इमिस’ को अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर त्यसमा काम गर्न सिकाइएको बताउँदै उनीहरूको प्रविधि मोहले प्रविधिमा आधारित भएर काम गर्न सहज भएको बताए ।
‘हामीले झन्डै एक सय जना शिक्षक तथा कर्मचारीहरूलाई सफ्टवेयरको प्रशिक्षण दियौँ । यसमा अब केही समयमै सेवा निवृत्त हुन लाग्नुभएकादेखि भर्खरै सेवामा प्रवेश गर्नुभएका पनि सहभागी हुनुभयो,’ उनले भने, ‘अहिलेका नयाँ युवाले त छिट्टै सिक्नुहोला, तर पाको पुस्ताले पनि यसरी फटाफट काम सिकेर काम पनि सकेको देख्दा निकै खुसी मिलेको छ ।’
नगरपालिकाले माध्यमिक तह र आधारभूत तहका शिक्षक तथा कर्मचारीहरूलाई तीन चरणमा विभाजन गरेर २÷२ दिन प्रशिक्षण गरेपछि अहिलेसम्म ‘कम्प्युटर’ मा काम नै नगरेका शिक्षकहरुले समेत ‘कम्प्युटर’ प्रविधिमा काम गर्न सक्ने बनेका प्रशिक्षक तथा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीले बताउँछन् । नेपाल सरकारले विद्यालयहरूलाई निःशुल्क रूपमा उपलब्ध गराएको ‘इमिस’ मा विद्यार्थीको विवरण, परीक्षा सञ्चालन, भौतिक संरचनाहरूको तथ्याङ्क, शिक्षक तथा कर्मचारीहरूको विवरण, तलबी ‘पे रोल’ लगायत विद्यालयसँग सम्बन्धित सबै काम गर्न मिल्ने उनको भनाई छ । कुनै पनि विद्यालयले महँगो शुल्क तिरेर निजी ‘सफ्टवेयर’ किन्नुपर्ने बाध्यताको अन्त्य भएको भन्दै अधिकृत सुवेदीले कुश्मा नगरपालिकाका शिक्षकहरुले प्रविधिमा राखेको चासोमा खुसी व्यक्त गरे ।
‘कतिपय स्थानीय तहहरू समेत इमिसमा काम गर्ने विषयमा अझै पूर्ण नभइसक्दा विद्यालयमा समेत सूचना पुगेको छैन। तर कुश्मा नगरपालिकाले भने समयमा नै प्रशिक्षण कार्यक्रमहरू राखेर प्रणालीमा आएका पछिल्ला सुविधासम्मका सबै कुरामा अपडेट हुनुभएको छ’, उनले भने, ‘यहाँ अभिभावकहरूले पनि इमिसको बारेमा थाहा पाउनुभएको छ । विद्यालयहरू विद्यार्थीलाई ट्रान्सफर लेनदेन गर्नेमा व्यस्त छन् । केन्द्रबाट गर्न भनिएका करिब सबै कामहरू सक्ने तयारीमा विद्यालय छन् । शिक्षक तथा कर्मचारीहरूले मिहिनेतका साथ सिक्नुभयो ।’





