बागलुङ/भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले पशुपालक किसानलाई लक्षित गरेर भू–संरक्षण गर्न बिरुवा बितरण गरेको छ ।
‘पहिरो, गल्छी र खोल्सामा रोपौं डालेघाँस, नेपियर, अम्रिसो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाईबस्तुलाई हुन्छ घाँस’ भन्ने नाराका साथ कार्यालयले भू–संरक्षणका अभियान चलाइरहेको छ । सोही कार्यक्रमअन्र्तगत बिरुवा उत्पादन गरेर किसानलाई बितरणको काम गरिएको हो ।
कार्यालय प्रमुख दिवाकर पौडेलका अनुसार बागलुङमा १४ हजार, म्याग्दीमा १५ हजार, पर्वतमा २० हजार र स्याङजामा १५ हजार गरी ६४ हजार बिरुवा बितरण गरिने भएको हो । आइतबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले बिरुवा बितरणको शुभारम्भ गरे । उनले आम नागरिकको प्रत्यक्ष जीवनशैलीमा जोडिएको भू–संरक्षणको कार्यक्रम सबै जिल्लामा र सबैपालिकामा संचालन हुनुपर्ने बताए । उनले कार्यालय खारेज गर्नुभन्दा व्यवस्थापन गरेर ग्रामीण किसानको जीवनयापनमा सहयोग गर्ने, दैविप्रकोप नियन्त्रणमा लाग्ने र संरक्षणका काम गर्नुपर्ने सुझाव दिए । कार्यालय टाढा हुँदा बाढी पहिरोको बेला संरक्षणको प्रयास असफल हुने भएकोले तयारीमा रहनुपर्ने समेत बताए ।
उपप्रमुख होमनाथ सापकोटाले पशुपालक किसानका लागि उपयोगी बिरुवा बितरण गरेको भन्दै यो हरेक वर्ष बढाएर लैजानुपर्ने बताए । खेतबारीको छेउमा लगाउँदा खेती पनि लगाउन सकिने, डालेघाँसले पशु पाल्न सहयोग पुग्ने बताए ।
कार्यालय प्रमुख पौडेलले राइखन्यु र निवारो जस्ता बिरुवाले गाईभैसीको दूध बढ्ने बताए । ‘पोषिलो खानाको रुपमा राइखन्यु चिनिन्छ, यसले दूध उत्पादनमा पनि सहज हुन्छ’ उनले भने, ‘हिउँदमा हरियो नहुँदा डालेघाँसले किसानलाई राहत मिल्नेछ ।’ बाढी पहिरो नियन्त्रण र रोकथाममा कार्यक्रम बनाएर काम गर्न तयार रहेको भन्दै उनले राज्यले कार्यालयको क्षेत्राधिकार साँघुरो बनाएकोले काम गर्न नसकेको बताए ।





