बागलुङ/मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले नागरिकको स्वास्थ्य सुरक्षाका लािग आमुल परिवर्तन गर्ने नीति लिएको छ ।
गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले सबै वडामा बर्थिङ सेन्टर स्थापना गरी प्रसुती समस्या तथा स्त्रीरोगको निदान गर्ने नीति लिएको बताएका हुन् ।
भौगोलिक रुपमा कठिनाइ भएकोले हरेक नागरिकको स्वास्थ्यमा सुधार ल्याउने र नजिकका स्वास्थ्य चौकीको क्षमता विकास गरी सहज सेवा दिने नीति बनाएको गुरुङले बताए । नीतिमा स्वास्थ्य क्षेत्रको सुधारलाई नै प्राथमिकता दिइएको छ । हिमाली जिल्लामा समयमा खोप लैजाने समस्या भएकोले ढुवानीमा पालिकाले साथ दिने छ । जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा पालिकाले नियमित काम गर्ने र बिशेष ख्याल गर्ने नीति बनाइएको छ ।
आगामी बर्ष गाउँपालिकाको आफ्नै एम्बुलेन्स संचालन गरी नागरिकको स्वास्थ्यमा साथ दिने बताइएको छ । मुक्तिनाथ जाने पर्यटक र भक्तजनको स्वास्थ्यमा ख्याल गरी हाइ अल्टिच्युट सम्बन्धी समस्याको उपचार व्यवस्थापन गर्ने नीति लिइएको छ ।
लुलु गाई संरक्षण अभियानसहित किसानलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिने भएको छ । पशुपंक्षीको निशुल्क उपचार सेवालाई पनि प्राथमिकतामा राखिएको छ । कृषि सामाग्री खरिदमा ५० प्रतिशत अनुदान दिने नीति छ । ‘कृषि पर्यटन र दिगो पूर्वाधार, समृद्द गाउँपालिका निर्माणको मुल आधार’ भन्ने नारा स्थापित गर्न कृषि, पर्यटन र पूर्वाधार निर्माणमा साथ दिने नीतिमा उल्लेख छ ।
मुस्ताङ जाने पर्यटक स्वागतका लागि होटल व्यवसायीलाई तालिमको व्यवस्था, पदमार्गहरु निर्माण गर्ने र पर्यटक आबासको व्यवस्था तथा सुरक्षा व्यवस्थाामा पनि आवस्यक समन्वय र का मगर्ने नीतिमा उल्लेख छ ।
पछिल्लो समय जलवायु परिवर्ततले हिमालपारी आउन थालेको बाढी पहिरो नियन्त्रण र सर्तकताका लागि आवस्यक काम संचालन गरिनेछ । जोखिम न्युनिकरणका लागि आवस्यक सचेतना अभियान संचालन गरिने छ । बाढी पहिरो नियन्त्रणका प्रयास गर्दै भविष्यमा हुने जोखिमको अनुमान गर्न अध्ययन अनुसन्धान पनि गरिने भएको हो ।





