पर्वत/जिल्लाको फलेवास नगरपालिकाले पन्ध्रौँ नगर सभाको पहिलो अधिवेशनबाट नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
नगर प्रमुख गंगाधर तिवारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा कृषकहरूले चर्को माग गर्दै आइरहेको बाँदर नियन्त्रणको विषयदेखि शिक्षा र पूर्वाधारका विभिन्न योजनाहरू समेटिएका छन् ।
बाँदरको प्रकोप बढी भएका स्थानहरूमा सम्भाव्यताको अध्ययन गरेर बाँदर नियन्त्रणको काम प्रभावकारी रूपमा अगाडी बढाइन तथा कृषकहरूलाई बाँदरले नष्ट नगर्ने किसिमका बालीहरू लसुन, प्याज, खुर्सानी, सुर्ती, अदुवा, बेसार, टिमुर, कटहर, कागतीलगायतका खेतीका लागि प्रोत्साहन गरिने उल्लेख छ ।
फलेवास नगरपालिकालाई कुनै एक कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनको लागि उपयोगमा नआएको तथा बाँझो जमिनमा कृषि खेती प्रवर्धन गर्दै व्यावसायिक खेती गरी उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । फलेवासको भूगोल र हावापानी अनुसार आँप, लिची, कटहर, सुन्तला, केरा, किवी, दाँते ओखर आदि फलफूल खेतीका लागि प्रोत्साहन गरिने, बाँझो जमिनलाई उपयोग गरी सङ्घ र प्रदेश सरकारसँगको कानुनी साझेदारीमा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने पनि भनिएको छ ।
महिला शिक्षक सुत्केरी बिदामा बसेको बेलामा विद्यालयहरूमा आउने गरेको व्यवहारिक समस्याका बारेमा पनि नगरपालिकाले कुरा उठाएको छ । ९० दिनसम्म सुत्केरी बिदामा बसेको अवधिमा विद्यालयले अर्को शिक्षकको व्यवस्थापन गर्न नसक्दा विद्यार्थीले भोगिरहेको शैक्षिक क्षतिलाई कम गर्न उक्त अवधिमा प्रसूति सट्टा शिक्षकको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै आवश्यकता र औचित्यका आधारमा शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरबन्दी मिलान र सरुवा गरिने पनि भनिएको छ ।
विद्यार्थीको प्राविधिक विषयमा निखारको लागि निश्चित समयसम्म कृषकको खेतबारीमा गई कृषि सेवा दिनुपर्ने गरी प्रयोगात्मक अवधिको व्यवस्था गर्ने र यसले कृषकलाई प्राविधिक सेवा र विद्यार्थीमा प्रयोगात्मक निखरता आउने विश्वास नगरपालिकाले लिएको छ । प्राविधिक धारका विद्यालयहरूमा सातामा एक दिन सम्बन्धित क्षेत्रमा २० वर्षभन्दा धेरै समय काम गरेका अनुभवी कृषक, ज्यामी, कामदार, कालिगड लगायतको अनुभव शिक्षण सिकाइका रूपमा आदानप्रदानको सुरुवात गरिने पनि उल्लेख छ ।
२०८१–२०९१ लाई नेपाल सरकारले कृषि दशकका रूपमा घोषणा गरेअनुरूप फलेवासले पनि उक्त दशकलाई कृषि क्रान्तिको दशकका रूपमा लिने बताएको छ । जसका लागि निजी, सहकारी र सरकारी साझेदारीमा पाङराङमा बीउ संकलन केन्द्र र प्याकेजिङ केन्द्रको स्थापना गर्दै नगर स्तरीय ब्राण्डिङ गरी बजारीकरणमा सहयोग गर्ने नीति रहेको छ ।
यस्तै आयातित मदिराको खपतलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न घरेलु मदिरा उत्पादन गरी सङ्घ तथा प्रदेश सरकारसँगको कानुनी प्रावधान बमोजिम ब्राण्डिङ, लेभलिङ र प्याकेजिङ गरी नगरभित्र उद्यमी रोजगारी र नगरको आम्दानी वृद्धि गर्न प्रोत्साहन गर्ने योजना फलेवासको छ ।
कालीगण्डकीको जलाशययुक्त जलविद्युत आयोजना (६२० मेगावाट) को सम्भाव्यता अध्ययन सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीको काम सुरु भइसकेकोले अब जलविद्युत उत्पादन, पर्यापर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटन, मत्स्यपालन, पानी लिफ्टिङ गरी माथिल्लो समथर भागमा सिँचाइ विस्तार लगायतका कार्यक्रम सञ्चालन गर्न अन्तरपालिका तथा अन्तर सरकार सहकार्यलाई अगाडि बढाउने तथा लमाए खोलामा पनि जलाशय निर्माणको आसामा नगरपालिका छ ।
स्वास्थ्य बिमा कार्यक्रमको पहुँच विस्तार गर्दै कडा रोगी, दीर्घ रोगी, अति विपन्न, ग र घ वर्गका अपाङ्गता भएका परिवारका लागि स्वास्थ्य बिमा निःशुल्क गर्ने कार्यको सुरुवात गर्ने पनि नीति तथा कार्यक्रममा समावेश छ । ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुको घरघरै स्वास्थ्य परीक्षण गरिने, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिने पनि भनिएको छ ।





