मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बागलुङ कारागारमा सञ्चालित ओशो योग साधनाको अनुभव

बागलुङ कारागारमा सञ्चालित ओशो योग साधनाको अनुभव


  • नेत्र सुवेदी “प्रयास”
  • असार १६ २०८१, शनिबार

संयोगको कुरा दोश्रोपटक बागलुङमा सेवारत रहने मौका मिल्यो । प्रमुख जिल्ला अधिकारीको रुपमा बागलुङमा कार्यारम्भ गरेको एकमहिनाभित्र सम्भव भएका केही सिर्जनात्मक काममध्ये एउटा सुनाउनयोग्य काम भनेको जिल्ला कारागार बागलुङमा रहेका १६० कैदी बन्दीमध्ये सबैजसो कैदी सहभागी भएको सात दिन अवधिको ओशो योग साधना पनि हो । साधनाको सेसन सञ्चालन गर्नको लागि मुख्य भूमिका खेल्नेमा ओशो अमृतम बागलुङकी प्रमुख ज्योत्सना एवम् टीमका सदस्य अमुना, सोनु र मञ्जुल लगायत हुनुहुन्छ ।

त्यसैगरी साधनालाई बढी सहभागितामूलक तथा रुचिकर बनाउनका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख जयन्द्र उपाध्याय, जिल्ला कारागारका जेलर एवम् सुरक्षा इन्चार्जको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

जिल्ला कारागार बागलुङमा पुरुष कैदी १६२ र महिला कैदी १८ जना रहेका छन् । यो संख्या घटवढ भइपनि रहन्छ । पुरुष कैदी र महिला कैदीको लागि अलग अलग व्लकरभवनको व्यवस्था छ । बागलुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि स्वभाविकरुपमा विभिन्न समूह र मञ्चबाट स्वागत गर्ने क्रम चल्ने नै भयो । सोही क्रममा सुरक्षा निकाय स्थानीय तह जिल्लास्थित कार्यालयहरु निरीक्षण तथा अनुगमन गर्ने क्रम चलेकै थियो । एक दिन अपरान्ह जिल्ला कारागार बागलुङको निरीक्षण तथा स्थलगत अवलोकन गरी कैदीहरु रहने कोठाहरु, उद्यमका कामहरु, खाली समयमा सहाराको रुपमा रहने खेलकूद, पुस्तकालयको अवस्था सम्वन्धमा समेत जानकारी लिइयो ।

कैदी बन्दीहरुले विभिन्न स्थानबाट खरिद गरी प्राप्त सामाग्रीहरुका आधारमा विभिन्न साइजका मुढा बनाउने, नाम्लो बुन्ने जस्ता उद्यमशील काम पनि हुँदा रहेछन् । स्वागत भेटघाटकै क्रममा ओशो अमृतम् ध्यान बागलुङको टीमले कार्यालयमै आई स्वागत् गर्नुको साथै ध्यान स्थलमा आइदिन आग्रह गरेअनुसार एकदिन विहान केहीबेर साधना गर्ने गरी ओशो ध्यानका लागि समय पनि निकालियो ।

१२ वर्षअघि बागलुङमै कार्यरत रहँदा सात दिन अवधिको साधनामा सहभागी भई ओशोद्वारा प्रतिपादित गहिरो र फराकिलो ज्ञान प्राप्त गर्ने अवसर मिलेको थियो । साँझमा कुण्डलिनी र बिहानमा डायनामिक योगाको सेसन अहिले पनि सम्झना आउँछ । कुनै धर्म वा सम्प्रदायभन्दा माथि बसेर ओशोले दिनुभएको प्रवचन र साधना विधिले मन नछुनै कुरै भएन । बागलुङ छाडेपछि यो योग गर्ने संयोग मिलेको थिएन ।

नेत्र सुवेदी “प्रयास”

दोश्रोपटक बागलुङमा रहेर सेवा गर्न पाउनु भनेको सँगसँगै ओशोको साधनासँग पनि पुनस् जोडिन पाउने मौका बनेर आएको महसूस भयो । ओशो अमृतम ध्यान केन्द्रको टीमले ध्यान केन्द्रमै केहीवेर भजन उत्सव साधना सहित म लगायत केही साथीहरुलाई स्वागत गर्यो । यो क्रममा उक्त टीमले कारागारका पुरुष कैदीहरुलाई साधना गराउन चाहेको समेत बताउनुभयो ।

साधना वा योगा गर्ने विषयलाई कारागार कार्यालयको तालुक निकाय गृह मन्त्रालयले समेत आफ्नो प्राथमिकतामा राखेको र यसअघि नख्खु कारागारमा साधना शिविर सञ्चालन भैसकेको समेत मिडियामा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख र कारागारका जेलरसँग सामान्य समन्वय र सल्लाहपश्चात जिल्ला कारागार कार्यालयमा रहेका पुरुष बन्दीहरुका लागि सात दिन अवधिको ओशो साधना सञ्चालन गर्ने भइयो । साधना गर्नका लागि भुँइमा ओछ्याउने सामाग्रीको जोहो विपद व्यवस्थापन गुल्मले गर्यो । जेठ २९ देखि असार ३ गते सम्म विहानमा ५।३० देखि ७ बजेसम्म ओशो साधना सञ्चालन भयो । सो अवधिभर नै कैदीहरु निकै उत्साहित भएर सहभागी भए ।

साधना अवधिका केही मननीय र रोचक पक्ष
-उत्सव र नाच चलेको बेला केही सहभागीहरु गतिहीन र भावहीन भएर उभिएका थिए ।
-रुन मन लागे रुनु र नवुझ्ने भाषामा आवाज निकाल्नु भनेका बखत कतिपय व्यक्ति आँखा छोपेर रोएको र मनको वह पोख्न खोजेजस्तो देखिन्थ्यो ।
-साधनापश्चात अनुभव सेयर गर्नु भनेको बखत मुलुकको कानुन र अदालतको फैसलाउपर समेत संकेत गर्दै कैदी बन्दीहरुले नभएको गल्ती आरोप लगाएर वा फसाएर आफुहरु जेलमा हुनुपरेको तितो पनि पोखेका थिए ।
– साधनाको अन्तिम दिन केही सहभागीहरुले हाम्रो साधनालाई निरन्तरता दिनका लागि म्युजिकको प्रवन्ध गर्न आग्रह गरेका थिए । म्युजिक एम्प्लिफायरको माग समेत भएको थियो । हामीले कुनै गुनकारी व्यक्तित्व भेटिनुभयो भने जुटाउन पहल गर्ने भनेका पनि छौँ ।

ओशोका केही भनाई
धार्मिक सम्प्रदायभन्दा माथि रहेर विभिन्न धार्मिक गुरुहरुका ज्ञानज्ञुनका कुराहरु अध्ययनपश्चात मन्थन गरिएको निश्कर्षसहित आफ्ना गहिरा अभिव्यक्ति स्पष्ट र निडरपूर्वक राख्न सक्नु ओशोको विशेषता नै हो । उनका भनाईहरु पुस्तकमा, युट्युवमा र लेखहरुमा भेटिन्छन् । ती मध्ये केही भनाई मात्र यहाँ उल्लेख गरौँ स्
-जीवन आराम र गतिवीचको सन्तुलन हो ।
-मुर्खहरु दोश्रो व्यक्तिमाथि र विद्वान आफुमाथि हास्ने गर्दछ ।
– तपाईंको सपना पूरा गर्नका लागि यहाँ कोही पनि छैन । किनभने, हरेक मानिस आफ्नो वर्तमान र भाग्य बनाउन लागिरहेका हुन्छन् ।
– तिम्रो जन्म संयोग होइन यो संसारको आवश्यकता हो ।
-यदि कुनै काम बिना प्रेम गर्नुहुन्छ भने तपाँइ गुलाम बन्नुहुन्छ, यदि त्यहि कामलाई प्रेमसाथ गर्नुभयो भने सफल बन्नुहुन्छ । तपाँइको काम नै तपाइको खुशी हो ।
-कोही पनि व्यक्ति उचो छैनन, कोही पनि निच छैनन्, कोही पनि बराबर छैनन् । संसारका सबै आफैमा अद्वितीय छन् अतुलनीय छन् । तिमी तिमी हौ, म म हूँ ।

अंगुलीमालको प्रशंग
अंगुलीमाल त्यस्तो डाँकुको नाम हो जसले मान्छेको ज्यान लिएर ती मान्छेको औँलाको माला लगाएर हिड्ने गर्दथ्यो । त्यसरी उसले मारेका मान्छेको संख्या हजार पुग्दैथ्यो । एकदिनको कुरा हो गौतम बुद्ध पैदल हिडेर आउँदै गर्दा उक्त डाँकु अंगुलीमालले बुद्धलाई टाढैबाट देख्छ र मनमनै भुत्भुताउँछ “ल यसलाई आज कालले डोर्याएर ल्यायो” । यहाँनेर बुद्ध एकछिन पनि नरोकिएर हिडिरहनुभएको हुन्छ जबकि अंगुलीमाल भने केहीबेर रोकिएको हुन्छ । बुद्धको मनस्थिति स्थिर छ भने अंगुलीमालको मन भने स्थिर छैन । कतिबेला हतियारलाई धार लगाएर ज्यान लिऊँ भन्ने सुरमा छ । उसले खुर्पामा धार लगाउँछ । खै के कारणले हो बुद्ध नजिक आएपनि उसलाई हतियारमा धार लगाउन उस्तो जाँगर छैन । बुद्धले धार लगाएको खुर्पाले नजिकको एउटा ठीकैको रुख काट्न भन्नुहुन्छ उसले काट्छ पनि । अनि बुद्धले “उक्त काटिएको रुखलाई जोडेर पहिलेकै अवस्थामा लैजाऊ” भन्नुहुन्छ । बुद्धलाई हेर्दै उसले जवाफ दिन्छ “यो त संभव छैन” । बुद्ध भन्नुहुन्छ “ यदि पहिलेको अवस्थामा लैजाने क्षमता हुँदैन भने विनाश गर्ने अधिकार मनुष्यलाई छैन । यो वार्तालापपछि अंगुलीमालले बुद्धलाई मार्नु त कता हो कता अनन्य भक्त बन्न पुग्दछ ।

उल्लेखित प्रशंग त एउटा उदाहरण मात्र हो । बुद्धलाई भेटेपछि जीवन रुपान्तरण भएका कैयौँ उदाहरण छन् । बुद्धले सिकाएको पाठ र देखाएको बाटो हामी सबैका लागि अनुपम छ । बुद्धले सबैको जीवनमा दुस्ख पर्ने र दुस्ख निवारणको उपाय भनेको अष्टांगिक मार्गको अवलम्वन भन्नुभएको छ । सम्यक चिन्तन र सम्यक कर्म ती आठ वटा पक्ष मध्यै नै पर्दछन् । खप्तड स्वामीले भन्नुभएको छ कि मानिसको चिन्तन वा विचारको परिणाम नै उबाट हुने काम हुन् । के कस्तो विचारहरु हुर्काउने बढाउने भन्ने कुरामै के कस्तो काम गर्ने र कस्तो परिणाम निकाल्ने भन्ने विषय निर्भर हुँदो रहेछ ।

अन्त्यमा,
हामीले समाजलाई ठीक ठाउँमा राख्नका लागि पनि पहिले आफुलाई सही मार्गमा हिँडाउन सक्नुपर्दछ । धेरै क्षमता र अनुभव हुँदाहुँदै पनि यदि हामी सन्तुलित हुन सकेनौँ, समय सदुपयोग गर्न सकेनौँ भने सफलता टाढा भाग्छ । जीवनको कुनै कोणमा भूलबस वा परिवन्दमा परी कानुनवमोजिम अपराध मानिने गल्ति गरेर सँजाय भोगिरहेका छौँ भने पनि अव हामी साधनामा, राम्रा पुस्तक अध्ययनमा, शरिरलाई कुनै हिसावले सक्रिय राख्नमा प्राणायम गर्नमा लगाउन सकेमा हाम्रो बर्तमान भविष्य र सिंगो भविष्य सुध्रन्छ ।

हामी कस्तो बन्ने भन्ने विषय मुलत हामीमै निर्भर छ । ओशो अमृतम् ध्यान केन्द्रले सञ्चालन गरेको ७ दिने साधना सफल रहेको छ । साधनाका सहभागीले यसको प्रयोग गरेर सफल रहनुहुनेछ भन्ने आशा र विश्वास छ । सहभागी कैदीबन्दीसहित सबै सहयोगी मनहरुलाई साधनाको फल मिलोस् भन्ने कामना गर्दछु । ओशो अमृतम ध्यान केन्द्रलाई विशेष धन्यवाद । जय ओशो ।
सुवेदी बागलुङका प्रमुख जिल्ला अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->