बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खोलासँग निहुँ खोजियो : कानूनमन्त्री गिरी

खोलासँग निहुँ खोजियो : कानूनमन्त्री गिरी


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८१, सोमबार

पर्वत/केही दिन अगाडिको वर्षाले राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरमा निर्माणाधीन पुल बगाएको स्थानमा मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।
कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीलगायतले पुल बगेको स्थानको वर्तमान अवस्थाबारे अवलोकन गरेका हुन् । मन्त्री गिरीले पुल सहित त्यस सडक खण्डमा पर्ने सडकको अवस्थाका बारेमा पनि अवलोकन गरे । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र वडा नं. १० कुर्घा जोड्ने गरी निर्माणाधीन पुल सम्पन्न होला की भन्ने आसामा रहेको बेलामा बाढीले बगाएपछि त्यहाँका नागरिक दुःखी भएका भएका छन् ।
यही बेलामा अनुगमनमा पुगेका मन्त्रीसँग स्थानीयबासीले पुलको निर्माण कार्य यथाशक्य छिटो सुरु गराएर पर्वतको दक्षिणी क्षेत्रलाई सदरमुकाम कुश्मासँग जोड्ने सहज बाटो निर्माणमा आवश्यक पहल गरिदिन अनुरोध गरे ।
नागरिक र जिल्लावासीको गुनासो सुनेका कानूनमन्त्री गिरीले ठेकेदार कम्पनी तथा सडक आयोजनाको ‘टिम’ लाई छिटो काम सम्पन्न गर्न निर्देशन दिए । मन्त्री गिरीले बर्खाको बेलामा काम गर्न थाल्नु नै गलत भएको जिकिर पनि गरे । मौसम ठीक भएको समयमा काम नगरेर बर्खा लागेपछि खोलामा लगेर ‘सर्टिङ’ र ढलानको काम गर्नु भनेको खोलासँग निहुँ खोज्न जानु भएको भन्दै उनले अब बर्खा सकिँदासाथ पुलको काम सकिनुपर्ने उल्लेख गरे ।
पुलको दुवैतर्फको संरचना निर्माण पूरा गरेर ‘स्लाब’ ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामाग्रीहरू बाढीले बगाएको थियो । बाढीले निर्माण स्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप, र अन्य टेवा सामाग्रीहरू पुरै बगाएको निर्माण कम्पनी नयाँ बाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले बताएका छन् । यसबाट करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी निर्माण कम्पनीले गरेको छ ।
यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भइ २०७५ पुस १९ गतेदेखि निर्माण कार्य सुरु भएको थियो । तर, अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७६ साल असार मसान्तभित्र सम्पन्न हुनुपर्ने थियो । पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ रुपैयाँको लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँ बाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । उक्त कम्पनीले सहायक ठेकेदार दिपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहुँदा कालीगण्डकी लोक मार्गमा सिधा यातायात सञ्चालन हुन सकेको छैन ।
पुल निर्माणका लागि चौथो पटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आगामी मंसिरभित्र पुल सम्पन्न गराउने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->