पोखरा/ स्याङ्जाको पुतलीबजार नगरपालिका–३ काफलडाँडा घर भई हाल वडा १ को अभियानपथमा डेरा गरी बस्ने दीपीका परियारको ११ वर्षीय छोरा शिवमको साइकलबाट लडेर मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका अनुसार यही असार १५ मा शिवम अभियानपथको भित्री सडक खण्डमा साइकल चलाउने क्रममा साइकलबाट लडेर घाइते भएका थिए ।
उनको दायाँ खुट्टा र शरिरको भित्री भागमा चोट लागेको थियो । आज मंगलबार बिहान ९ बजेको समयमा श्वासप्रश्वासमा समस्या आएपछि शिवमलाई आमाले जिल्ला अस्पताल स्याङजा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मुस्ताङमा खोलाले सिंचाइको पक्की कुलो र काठे पुल बगायो
यसैबीच मुस्ताङको लोघेकर दामोदरकुन्ड गाउँपालिका–२ बक्कुबुकमा गएराती घमि खोलामा आएको ढुङगा र माटो सहितको बाढीले घमि खोलाबाट घमि गाउँतर्फ सिचाईको लागि लगेको पक्की कुलोको ईन्टेक (मुहान), सिंचाइको पक्की कुलो र सोहि गाउँपालिकाको वडा नं २ घमिबाट ढाकमार जाने घमि खोलामा रहेको मानिस आवत जावत गर्ने काठले बनेको कच्ची पुल बगाएको छ । यसबाट अन्दाजी ४० लाख रुपैयाँ बराबरको क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक रबिन्द्र रेग्मीले जनाएका छन ।




