
तस्बिर गुगलबाट
बागलुङ/जिल्लामा ९ बर्षपछि हनुमान नाँच देखाइने भएको छ । तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाँचको संरक्षणका लागि भदौ ११ गतेदेखि बढिमा ६ महिनासम्म प्रदर्शन गरिने भएको हो ।
अन्य स्थानमा लोप हुन लागेको अवस्थामा बागलुङमा अझै पनि सुरक्षित रहेको नाँच बिजोड बर्षमा देखाउनुपर्ने भएकाले ९ बर्षपछि देखाउने तयारी भएको हनुमान नाँच संरक्षण परिषद बागलुङका सचिव जय राजभण्डारीले जानकारी दिए ।
पहिला पहिला ३ या ५ वर्षमा देखाउने गरिएको भएपनि यसपाली ९ वर्षमा देखाउन लागिएको जानकारी दिदै उनले यसले नाँचको संरक्षणमा थप टेवा पुग्ने बिश्वास व्यक्त गरे । नृत्य तथा बाद्यवादनका लागि साउन १ गतेदेखि तालिम संचालन गरिने उल्लेख गर्दै नले तालिमले नाँचलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र पुर्नताजकीका लागि सहयोग पुग्ने बताए ।
मंगलबार मात्र देखाइने नाँचको शुरुवात पनि बिधिवत पुजासहित भदौ ११ गते मंगलबारदेखि नै शुरुवात हुने र समापन पनि मंगलबार गरिने उनको भनाई थियो । मंगलबार र बिहिबार टोल टोलमा पुजा पनि हुने राजभण्डारीले बताए । नारायणचोक चौतारीबाट देवता लिनका लागि हनुमान छहरामा जाने र देवतालाई पुजारीले उल्टो चालचाली बजार परिक्रमा गराएपछि नाँचको शुभारम्भ हुने परिषदका अध्यक्ष तिर्थप्रसाद श्रेष्ठले बताए ।
बागलुङमा १३ जोडा अर्थात् २६ जनाले नृत्य प्रर्दशन हुने उल्लेख गर्दै परिषदका अध्यक्ष श्रेष्ठले नृत्य तथा बाद्यबादनमा सहभागी हुने कलाकार र कजी नाँच देखाउने अवधिभर शुद्ध बस्नुपर्ने बताए । हनुमान नाँचको व्यवस्थापनका लागि प्रधानकजीमा इश्वरप्रसाद मलेपति, उपप्रधानकजीमा परिषदका प्रथम उपाध्यक्ष युवराज राजभण्डारी र उपाध्यक्ष मनोविज्ञान श्रेष्ठलाई चयन गरिएको सचिव राजभण्डारीले जानकारी दिए ।
त्यसैगरी बाद्यवादन संयोजकमा अजय श्रेष्ठसहित, नृत्य संयोजक तथा सदस्य एवँ श्रृंगारका लागि पनि संयोजकसहित सदस्य चयन गरिएको उनले बताए । परिवारमा जुठोपर्दा, सुत्केरो पर्दा वा महिला महिनावारी भएको अवस्थामा भने यसमा सहभागी हुन नपाईने उनले जानकारी दिए ।
हनुमान नाँच बागलुङको मात्र नभई समग्र देशको चिनारी भएकाले यसको प्रर्वधन, संरक्षण र व्यवस्थापनका साथै सफल पार्नका लागि सम्पूर्ण समुदाय, संघ÷संस्था तथा स्थानीय तहलाई अनुरोध गरिएको परिषदका अध्यक्ष श्रेष्ठले बताए ।





