बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विद्यालयमा कुनपाको ‘स्काउट ट्रुप’ निर्माण अभियान

विद्यालयमा कुनपाको ‘स्काउट ट्रुप’ निर्माण अभियान


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८१, शुक्रबार

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरूमा विद्यार्थीका ‘स्काउट ट्रुप’ निर्माणको अभियान सुरु गरेको छ ।
नगरपालिकाभित्रका विभिन्न विद्यालयका २८ जना शिक्षकहरूलाई पाँच सय ७५ औँ आधारभूत तालिम (बिटिसी) प्रदान गरेर स्काउटको लक्ष्य अनुसार विद्यार्थीहरू तयार पार्नको लागि पहिलो चरणमा शिक्षकहरूको तालिम सम्पन्न भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा कुश्मा नगरपालिका–३ दुर्लुङमा रहेको काफलचौर माध्यमिक विद्यालयमा पाँच दिनको आवासीय तालिम पूरा भएको नगरपालिका शिक्षा अधिकृत अर्जुन पौडेलले बताए ।
तालिममा सहभागीहरूलाई दीक्षित गरेर ‘स्काउट ट्रुप’ निर्माणको अभियानको थालनी भएको र अब शिक्षकहरू विद्यालयमा फर्किएर विद्यार्थीहरूको ‘ट्रुप’ निर्माण गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ । तालिममा कोर्स लिडरका रूपमा सागर पौडेल, क्वाटर मास्टर प्रशिक्षकको रूपमा सोनिश सुवाल, काउन्सीलर प्रशिक्षकमा राम श्रेष्ठ, सुविन तिमिल्सिना, अमृत पुन र अनीश श्रेष्ठ तथा रोभर सहयोगी सन्दीप न्यौपानेको सहजीकरण गरेका थिए ।
विद्यालयमा नै पाँच दिने आवासीय तालिममा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान, विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासँग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने, बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने लगायतका उद्देश्य पूरा हुने गरी सहजीकरण गरिएको थियो ।
दीक्षित भएका शिक्षकहरू विद्यालयमा फर्किएर ‘स्काउट’ का उद्धेश्यहरु दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य सञ्चालन, समाजका हरेक वर्ग तथा समूहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन, स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जीवनोपयोगी कार्यक्रम सञ्चालन पूरा गर्न प्रतिबद्ध हुनेछन् ।
‘स्काउट’ कुश्मा नगरपालिकाका प्रमुख संरक्षक तथा नगर प्रमुख रामचन्द्र जोशीले ‘स्काउट’ महत्त्वपूर्ण भएकै कारण विश्वका एक सय ५० देशमा फैलिएकोले यसको मर्म अनुसार काम गर्दा असल विद्यालय निर्माणमा सघाउन पुग्ने विश्वास व्यक्त गरे । विद्यार्थी जीवनमा आफू पनि स्काउटको कार्यक्रममा सहभागी भएको बताउँदै उनले यस्ता खालका सामाजिक सङ्घ संस्थाहरू राजनीतिक अस्थिरताका कारण अलमलमा परेको टिप्पणी गरे । अहिलेको तुलनामा विगतमा यस्ता संस्थाहरू बढी सक्रिय रहेको र त्यो बेलामा विद्यार्थी र शिक्षकमा तुलनात्मक रूपमा राम्रो अनुशासन रहेको अनुभव प्रमुख संरक्षक जोशीले सुनाए ।
कुश्मा नगरपालिका ‘स्काउट’ का प्रमुख तथा नगर उपप्रमुख स्वस्थानी रिजालले विद्यार्थीका ‘स्काउट ट्रुप’ निर्माण गरेर विद्यालयहरूलाई देशभक्त र सिर्जनात्मक बनाउन नगरपालिकाले यो अभियानलाई चासोका साथ कार्यान्वयन गर्न लागेको बताउँछिन् । ‘स्काउट ट्रुप’ निर्माण गर्न इच्छुक विद्यालयका शिक्षकहरू तालिमबाट फर्किए लगत्तै कार्यरत विद्यालयका विद्यार्थीहरूको ‘स्काउट ट्रुप’ गठन गर्ने र यसले विद्यालय र विद्यार्थीमा आत्मानुशासन सहित देशभक्तिको भावना विकास गर्ने उनको भनाइ छ ।
‘नेपाल स्काउट’ नेपालको ‘स्काउटिङ’ र ‘गाइडिङ’ संस्था हो । नेपालमा यसको स्थापना २००९ सालमा भएको हो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा अधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो ।
विश्वमा ‘स्काउट मुभमेन्ट’ को सुरुवात २० औँ शताब्दीमा एक जना ब्रिटेनी सैनिक अधिकृत रोबर्ट बेडेन पावेलले गरेका हुन् । आफ्नो सैनिक जीवनबाट फर्किएपछि युवाहरूलाई सही बाटोमा लाग्न तथा क्रियात्मक तरीकाले सामाजिक सेवामा लाग्न उनले सुरु गरेको प्रेरणा नै ‘स्काउटिङ’ को रूपमा विकसित भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->