बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतका विद्यालयमा स्वास्थ्यसम्बन्धी अध्यापनको तयारी

पर्वतका विद्यालयमा स्वास्थ्यसम्बन्धी अध्यापनको तयारी

स्वास्थ्य शिक्षाप्रति बालबालिकाको ध्यानाकर्षण गर्न स्वास्थ्यकर्मीबाट नै कक्षा लिने प्रबन्ध गर्ने तयारी ।


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८१, शनिबार

पर्वत/धेरै समुदाय र टोलका व्यक्तिहरू एकै ठाउँमा जम्मा हुँदा कुनै पनि सरुवा रोगको सङ्क्रमण फैलिने जोखिम बढी हुन्छ । विद्यालयहरू पनि त्यस्तै संस्था हुन जहाँ फरक फरक समुदाय र गाउँका बालबालिकाहरू एकै ठाउँमा टाँसिएर बस्छन् । विद्यार्थी संख्या धेरै भएका विद्यालयहरूमा कम्तीमा एक जना ‘नर्स’ को दरबन्दी कायम गरेर बालबालिकाहरूलाई स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा दिनुपर्ने मागहरू उठ्दै आएका छन्, सरकारले पनि यो बारेमा सोचेको बेला बेलामा बताउने गरेको छ ।
सरकारले शैक्षिक क्षेत्रमा ‘विद्यालय नर्सिङ’ कार्यक्रमको सुरुवात गर्न नसके पनि पर्वतमा भने नयाँ आर्थिक वर्ष २०८१÷०८२ देखि स्वास्थ्यकर्मीहरुले कम्तीमा पनि एक दिन विद्यालयमा पुगेर कुनै एक विषयवस्तुमा अध्यापन गर्नुपर्ने भएको छ । स्वास्थ्य कार्यालय पर्वतले नागरिकको स्वास्थ्यलाई विद्यालय तहदेखि नै स्वस्थ राख्न तथा स्वास्थ्य शिक्षाप्रति बालबालिकाको ध्यानाकर्षण गर्न स्वास्थ्यकर्मीबाट नै कक्षा लिने प्रबन्ध गर्ने तयारी गरिरहेको छ ।
शिक्षकहरुले नियमित रूपमा दिँदै आएको ज्ञानलाई नै स्वास्थ्यकर्मीबाट प्रदान गरिँदा विद्यार्थीमा त्यो विषयवस्तुमाथि थप विश्वास लाग्ने बालबालिकाहरूलाई पनि नयाँ स्वाद हुने भएकाले पनि यो अभियान सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले बताए । ‘हरेक महिना बाँड्छौँ हामी निःशुल्क ज्ञानः एक स्वास्थ्यकर्मी एक स्वास्थ्य शिक्षा हाम्रो अभियान’ नाराका साथ साउनको पहिलो हप्ताबाट नै यो अभियान सुरु हुन लागेको हो ।
कार्यालयले कुन महिनामा विद्यार्थीहरूले के विषयवस्तुमा ज्ञान दिने भनेर तालिका नै तयार पारेको छ । जसमा वैशाखमा औलो र खोप, जेठमा पोषण, महिनावारी स्वच्छता र धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनको असर, असारमा डेंगु तथा लागू औषध र यसको रोकथामको बारेमा सिकाइन्छ । यस्तै साउनमा पूर्ण स्तनपान, तौल अनुगमन, विपद् र विपद् व्यवस्थापन, भदौमा आत्महत्या रोकथाम र किशोर किशोरी स्वास्थ्य, असोजमा रेबिज र मानसिक स्वास्थ्य, कार्त्तितकमा नसार्ने रोग र विषादी रहित खाद्य प्रवद्र्धनको लागि स्वास्थ्यकर्मीले कक्षा लिने छन् ।
मङ्सिरमा एचआइभी÷एड्स र लैङ्गिक हिंसा, पुसमा सडक दुर्घटना र सुरक्षा तथा सुरक्षित मातृत्व, माघमा आयोडिनको कम र अधिक प्रयोग, कुष्ठरोग तथा क्यान्सर, फागुनमा औषधिको समुचित प्रयोग, फोहोर व्यवस्थापन तथा हात धुने विधि र चैतमा क्षयरोग, मुख स्वास्थ्य, खानेपानी लगायतका विषयमा स्वास्थ्यकर्मीहरुले कक्षा लिनेछन् ।
कार्यालय प्रमुख शर्माका अनुसार गाउँ–गाउँमा स्वास्थ्य सेवा र सुविधाको विस्तार हुँदै गएको भए पनि बसाइसराइ र कम जन्मदरका कारण विगतमा जस्तो भीडभाड हुँदैन । गाउँको एउटा स्वास्थ्य चौकीमा चार÷पाँच जना स्वास्थ्यकर्मी रहेका छन् । गाउँका स्वास्थ्य संस्थामा बिरामीको चाप कम भएको बेलामा ती स्वास्थ्यकर्मीहरुले आफ्नो पायकको विद्यालयमा पुगेर कक्षा लिँदा स्वास्थ्य क्षेत्रको मर्ममा प्रभावकारिता आउने भएकाले यो अभियान थालिएको हो ।
जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्यकर्मीहरू सबैसँग प्रविधिको ज्ञान नहुन सक्ने भएकाले यस्ता खालका कक्षा सञ्चालनको लागि स्वास्थ्य कार्यालयले नै आवश्यक ‘प्रिजेन्टेसन स्लाइड’ हरू निर्माण गरेर आफ्ना स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराउने छ । एउटा स्थानीय तहमा रहेका सबै स्वास्थ्यकर्मीहरुले कम्तीमा एउटा मात्रै कक्षा लिँदा पनि यो अभियान सफल हुने स्वास्थ्य कार्यालयको विश्वास छ ।
विद्यालयको प्राथमिक तह (१–३) देखि माध्यमिक तह (९–१२) वा इच्छा भएमा स्थानीय तहमा रहेका क्याम्पसहरूमा पनि स्वास्थ्यकर्मीहरुले आफ्नो क्षमता प्रदर्शन गर्न पाउने छन् । जिल्लाका सात वटै स्थानीय तहमा करिब तीन सय जनाभन्दा बढी स्वास्थ्यकर्मीहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->