बागलुङ/अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको बाँध पुरिएको छ । जैमिनी १ र ४ को बीच भै बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो ।
कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले बाँधमा क्षती पु¥याएको हो । पहिरोले बाँध पुरिएको र विद्युत उत्पादनको काम पनि बन्द भएको बारही हाईड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले जानकारी दिए । १ दशमलब ५ मेगावट विद्युत उत्पादन हुने आयोजना पुनः संचालन हुन केही समय लाग्ने पौडेलले बताए ।
पहिरोले जैमिनीको केन्द्रविन्दु कुश्मिसेरादेखी सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पनि अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । ‘जैमिनीको केन्द्रबाट सबै वडा जान ग्रामिण सडक बन्द रहेका छन्’ उपप्रमख शर्माले भने, ‘यसैवर्ष स्तरबृद्धि गरेर कालेपत्रे र ढलान गरेको कुश्मिसेरा सर्कुवा–व्याडथला सडक खण्डमा गएको पहिरोका कारण जलविद्युतमा पनि क्षती पु¥याएको छ ।’
अविरल वर्षाले तत्काल उक्त सडक संचालन गर्ने अवस्था छैन जलविद्युत आयोजना पनि पुर्ण रुपमा बन्द भएको छ । शर्माका अनुसार कालीगण्डकी करिडोर सडक खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोका कारण करिडोर अवरुद्ध छ ।
वर्षाले जिल्लाको गलकोटदेखी हिलहुँदै ताराखोला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । त्यस्तै, बागलुङहुँदै म्याग्दीको बेनी जाने सडक खण्डको बागलुङ नगरपालिका–४ बान्द्रेमा पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।





