बागलुङ/नेपाली सेनाको २३ नम्बर बाहिनी, श्रीमेहर गण सहितका विभिन्न गणले शनिबार विपत प्रतिकार्य योजना अनुसार विपत उद्दार सम्बन्धी घटना अभ्यास गराएका छन् । नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र स्थानीयको साथ लिएर सेनाले विभिन्न १० प्रकारका अभ्यास गराएको हो ।
शनिबार पर्वतको मोदी गाउँपालिकाको बेतीनीमा आयोजित कार्यक्रममा सेनाले बाढी पहिरो, आगलागी, विद्युत सर्ट, नदी तालमा डुबेकाको उद्दार, सवारी दुर्घटना लगायतका गतिविधिमा सेनाले खेल्ने भूमिकाबारे अभ्यास गरेको हो । लगातारको झरीले जतासुकै बाढी पहिरो गएको, खोला बढेको खबर आइरहेको बेला सेनाले अभ्यास गराएको हो । अभ्यास भएपनि वास्तविक घटनाझै काम गरिएको थियो ।
झरीले खोलानाला बढीरहेको बेला पर्वतको मोदीखोलामा बाढी आएर घरहरु बगाएको र त्यसबाट स्थानीय बासिन्दा खोलामा बगेको, पानीमा डुबेको घटनालाई उद्दारको रुपमा देखाइएको हो । केही मानिस मोदी खोला जलविद्युत आयोजनाको ड्यामको तालमा फसेकोले बचाउ बचाउ भन्दै कराएको आवाज र हारगुहार आएपछि गाउँलेहरु छिमेकीको उद्दारमा खटिएका थिए । उद्दारका सामाग्री नभएर ढीला भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरीले आफ्नो जनशक्तीसहित सेनालाई पनि जानकारी गराएको थियो । उक्त जानकारी पछि सेना, सशष्त्र र प्रहरीले स्थानीसँग मिलेर बाढी पहिरोको उद्दार गरेको थियो ।
यी सबै घटना कृतिम थिए । तर सातादेखि लगातार वर्षातले बाढी र पहिरो चलिरहेको बेला सेनाले विपतमा गरिने खोजी र उद्दारको कृतिम अभ्यास गराएको थियो । सेनाको कृतिम घटना अभ्यास अवलोकन गर्न गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, सेनाको पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल सहितका प्रहरी र सशष्त्र बलका प्रदेश प्रमुख सहभागी थिए । घटनामा मोदी गाउँपालिकासहित आसपासका बासिन्दाले घाइते, पीडित लगायतको अभ्यासमा सहभागी भए ।
यी सबै घटनामा स्थानीयले गर्ने खोजी उद्दार लगायतका काममा सर्तकता अपनाउने तरिका, सेना, प्रहरी र सशष्त्र बलको साथ लिएर काम गर्नुपर्ने र दैवि प्रकोपमा घटनामा अपनाउनुपर्ने संयमबारे जानकारी दिन कृतिम अभ्यास गराइएको पृतनापति पौडेलले बताए । ‘यो विपतको मौषम हो, यतिबेला हुने जुनसुकै घटनामा सबै मिलेर काम गरेमात्र समाजका नागरिक सुरक्षित हुन्छन्’ पौडेलले भने, ‘विपत कसैको पनि नियन्त्रणमा हुँदैन, संयमित भएर काम गरे धनजनको क्षतिबाट बचाउन सकिन्छ ।’
उक्त कार्यक्रममा आएकी प्रमुख सचिव बस्नेतले दैविप्रकोप उद्दारका लागि चाहिने सामाग्री, रेस्क्युका लागि दक्ष जनशक्ती उत्पादन र राहतमा गण्डकी प्रदेश सरकारले दैविप्रकोप उद्दार समितिमार्फत सहयोग गर्ने प्रतिवबता समेत जनाइन् ।
कार्यक्रममा पर्वतका प्रजिअ केदारनाथ पौडेल र मोदी गाउँपालिकाकी प्रमुख हिरादेवी शर्मा, पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल र बाहिनीपति जगतबहादुर पौडेलले मन्तव्य राखेका थिए ।





