पोखरा/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको २०२४–२६ का लागि सम्पन्न निर्वाचनमा सर्वज्ञ वाग्ले ८ सय ५९ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विमला निरौलाले भने ५ सय ९५ मत पाइन ।
समितिको वरिष्ठ उपाध्यक्षमा ९ सय ५४ मतसहित लालगोपाल सुवेदी विजयी हुँदा अर्का प्रत्यासी राजेन्द्र श्रेष्ठले ४ सय ८८ मत ल्याए । समितिको अमेरिका उपाध्यक्षमा सुदीपभद्र खनाल ८ सय १८ मतसहित विजयी भए भने प्रत्यासी महेश्वर पन्तले ६ सय २२ मत पाए । एसिया उपाध्यक्षमा नेपालबाट सरिता अर्याल ७ सय ४९ मतले निर्वाचित हुँदा प्रत्यासी दिनेशराज ज्ञवाली ६ सय ७५ मत ल्याए । े महासचिवमा राजु सिटौला ८ सय ५५ मत ल्याएर बिजयी भए भने कृष्ण गिरीले ५ सय ८४ मत प्राप्त गरेका छन् ।
७२ घण्टासम्म चलेको अनलाइन मतदानमा २ हजार ८ सय १९ आजीवन सदस्यमध्ये १ हजार ४ सय ७३ मत अर्थात् कुल ५२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत गुणराज लुइटेलले बताए । समितिले यस पटकको निर्वाचनमा नो भोटको समेत व्यवस्था गरेको अधिकृत लुइटेल थप जानकारी दिए । समितिको युरोप उपाध्यक्षमा डिल्लीराम अम्गाई, ओशिवाना उपाध्यक्षमा हरिप्रसाद अधिकारी, अमेरिका उपाध्यक्षमा गणेश खड्का, जापान सचिवमा रविन शर्मा, कोषाध्यक्षमा तारा अधिकारी र सदस्यमा पुष्पा खनाल, सुमन वर्षा, दीप कार्की, रत्ना लोक्सोम सुब्बा, तारा उप्रेती निर्विरोध निर्वाचित भइसकेको निर्वाचत अधिकृत डा. चूडामणि खनालले जानकारी दिए । निर्वाचनमा अध्यक्षमा १९, वरिष्ठ उपाध्यक्षमा ३१, अमेरिका उपाध्यक्षमा ३३, एसिया उपाध्यक्षमा ३४ नो भोट परेको निर्वाचन अधिकृत डा कविता घिमिरेले जानकारी दिइन् । यसैगरी, नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्लेले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै आफूले अनेसासको गौरव र गरिमा बढाउनका लागि गरेका सम्पूर्ण योजनाको सफलता प्राप्तिका लागि सबैसँग हातेमालो गरेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।





