शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विमानको प्राविधिक परीक्षण गर्न किन रोजियो पोखरा ?

विमानको प्राविधिक परीक्षण गर्न किन रोजियो पोखरा ?

नियमित प्राविधिक परीक्षणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छ।


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८१, बुधबार
दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान।

सौर्य एअरलाइन्सको ‘९एन-एएमई’ विमान साउन ९ गते बिहान १० बजेर ५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने तय भएको थियो। जसमा अपरेशन प्रमुख क्याप्टेन मनीषरत्न शाक्य, चीफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चीफ अफ क्यूए दिलीप बर्मा सहित सौर्य एअरलाइन्सकै कर्मचारी र प्राविधिक टोली तथा उनीहरूका नातेदार गरेर १९ जना जाँदै थिए।

नियमित प्राविधिक परीक्षणका लागि जाँदै गरेको विमान केही ढिलो गरी बिहान ११ बजेर ११ मिनेटमा उड्यो। धावनमार्ग ‘०२’ बाट उड्ने बित्तिकै जहाज दाहिनेतिर मोडिन गई विमानस्थलको पूर्वतिर दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

पोखरा उडानका लागि सौर्य एअरलाइन्सले साउन ८ गते नै अनुमति लिएको थियो। नियमति प्राविधिक परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा राख्न अघिल्लो दिन नै निवेदन दिएको विमानस्थलकी प्रवक्ता जशोदा सुवेदी बताउँछिन्। यसका लागि रकम भुक्तान समेत गरिसकेको बताउँदै सुवेदी भन्छिन्, “सौर्य एअरलाइन्सले ‘रेगुलर चेक’का लागि साउन ९ गतेदेखि एक महीना विमानलाई ह्याङ्गरमा राख्ने भनेको थियो।”

प्राविधिकहरूका अनुसार, जसरी मोटरसाइकल, गाडी लगायतका साधन नियमित ‘सर्भिसिङ’ गरिन्छ, त्यसैगरी विमानको पनि नियमित प्राविधिक परीक्षण गरिन्छ। यसरी नियमित प्राविधिक परीक्षण गर्दा ह्याङ्करमा राखिन्छ। एअरलाइन्सले ह्याङ्गर भाडामा लिएर विमानको आफ्नै प्राविधिक टोलीबाट परीक्षण गर्छ।

प्राविधिक परीक्षणका लागि राख्ने ह्याङ्गर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि छ। त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यो सुविधा रहेको छ। त्रिभुवन विमानस्थलमा बुद्ध एअरले ह्याङ्कर सञ्चालन गरेको छ भने पोखरामा विमानस्थलले नै चलाइरहेको छ। देशका अन्य विमानस्थलमा यस्तो सुविधा छैन।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गर।

विमानले निश्चित उडान गरिसकेपछि नियमित प्राविधिक परीक्षण गर्नुपर्छ। त्यहीअनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गरमा राखेर विमानहरूले नियमित प्राविधिक परीक्षण गर्दै आएको प्रवक्ता सुवेदी बताउँछिन्। “अहिले पनि एउटा विमान ह्याङ्गरमा राखिएको छ,” उनी भन्छिन्, “सौर्यको विमान पनि ‘रेगुलर चेक’का लागि राख्न लागिएको थियो।”

सौर्य एअरलाइन्सले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको बुद्ध एअरकै ह्याङ्गरमा नै नियमित प्राविधिक परीक्षण गराउँदै आएको एअरलाइन्सका एक कर्मचारी बताउँछन्। “अहिले त्रिभुवन विमानस्थलमा रहेको बुद्ध एअरको ह्याङ्गर व्यस्त थियो। पर्खनुपर्ने अवस्था आएपछि पोखरामा रहेको ह्याङ्गर रोजिएको हो,” ती कर्मचारी भन्छन्।

पोखराका लागि उडेको केही सेकेन्डमै यो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी क्षेत्रमा दुर्घटना भयो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने क्याप्टन शाक्य घाइते भएका छन्। उनको केएमसी अस्पतालमा उपचार भइरहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।विमान दुर्घटनामा घाइते क्याप्टन मनीषरत्न शाक्यको उद्धार गर्दै सुरक्षाकर्मी।

दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आसविन निरौला, सुदिपलाल जोशी, सर्वेश मराशिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रीजा खतिवडा, अधिराज शर्मा, अद्धव पुरी, यज्ञप्रसाद पौड्याल, पुन्यरन्त शाही, सन्तोष महतो र आरिफ रेडाको मृत्यु भएको छ। रेडा यमनका नागरिक हुन भने अन्य सबै नेपाली हुन्।

मृत्यु हुनेमध्ये प्रीजा खतिवडा र अधिराज शर्मा मात्रै एअरलाइन्सका कर्मचारी होइनन्। प्रीजा उर्जा मन्त्रालयमा कार्यरत थिइन्। एअरलाइन्सका प्राविधिक मनुराज शर्मासँगै श्रीमती प्रीजा र छोरा अधिराज पनि गएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->