पर्वत/ वडाभित्र रहेर कृषि, उद्यमशिलता, कला, सीप, शिक्षा र समाजसेवामा उत्कृष्ट एवं विशेष योगदान पुराएका वडाबासीलाई कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीले उत्कृष्ठ वडा पुरस्कार तथा सम्मानबाट सम्मानित गरेकाे छ । बिहीबार एक कार्यक्रमकाे आयोजना गरी उनीहरुलाइ पुरस्कृत एवं सम्मान गरेकाे हाे ।
सम्मानित हुनेमा उत्कृष्ट उद्यमीतर्फ व्यवसायीक मौरी, बाख्रा, तरकारीको साथै खाद्यान्न बाली उत्पादन गर्ने डिल्लीराम सुवेदी, व्यवसायीक बाख्रा र मौरी पालन गर्ने अन्नपूर्ण माविका निवृत्त प्रधानाध्यापक कृष्णप्रसाद शर्मा, व्यवसायीक मौरी पालनको साथै फलफूल, पाउलेनिया र जडिवुटी खेती गर्दै आएका नवराज सुवेदी र परम्परागत सिपको संरक्षण गर्दै व्यवसायीक रुपमा सिलाई व्यवसाय संचालन गर्ने सुमित्रा परियार रहेका छन । यसैगरी उत्कृष्ट कृषक पुरस्कार तर्फ परम्परागत पेशाको संरक्षण गर्दै व्यवसायीक भेंडापालन, मौरी र कृषि पेशालाई निरन्तर गर्दै आएका खडानन्द सुवेदी, व्यवसायीक रुपमा मौसमी, बेमौसमी तरकारी, भैसी पालनको साथै परम्परागत कृषिलाई निरन्तरता दिने सरस्वती चपाई, व्यवसायीक रुपमा भैसी पालन गर्नुको साथै परम्परागत कृषिलाई निरन्तरता दिने काजीमान कार्की रहेका छन । यसैगरी सोही विधा अन्तर्गत व्यवसायीक सुन्तला खेतीको साथै परम्परागत कृषिलाई निरन्तरता दिने निर्मला सुवेदी, व्यवसायीक रुपमा धान तथा अन्य खाद्यान्न उत्पादन उत्पादन गर्ने गोपाल कुँवर र व्यावसायिक रुपमा तोरी उत्पादनको साथै परम्परागत कृषिलाई निरन्तरता दिने अर्जुनप्रसाद चपाई पनि पुरस्कृत भए ।
त्यस्तै उत्कृष्ट सीप अन्तर्गत ढुङ्गा, माटो, काठ र सिमेन्टको काममा उत्कृष्ट सीप र कला भएका नन्दलाल सार्की, खौलालाँकुरी माविका सामाजिक विषय शिक्षक विष्णुप्रसाद लामिछाने उत्कृष्ट शिक्षा पुरस्कार, खौलालाँकुरी माविवाट २०८० को एसइई परिक्षामा उत्कृष्ठ अंक ल्याउने छात्र बिशाल चालिसे र छात्रा सरिता चालिसे उत्कृष्ट विद्यार्थी पुरस्कारबाट सम्मानित भए । यसैगरी उत्कृष्ट गायन तथा बाद्यवाजन पुरस्कारतर्फ लोक तथा राष्ट्रिय गितको एल्वम निकाली गायन तथा सांगितीक क्षेत्रमा परिचय बनाएका तेजेन्द्र सुनार र कलात्मक रुपमा सनाई बजाउने खौला पञ्चेवाजा सुमहका झलक परियार सम्मानित भए । उत्कृष्ट समाजसेवी सम्मान वडा नं १३ का संस्थापक वडा अध्यक्ष जंगवहादुर केसी, खौला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिलकवहादुर लामिछाने क्षेत्री, खौलालाकुरी विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष तेजवहादुर कार्की, पुष्पान्जली आमा समुहका अध्यक्ष कमला कुमारी शर्मा र थुप्रै सामाजिक संस्थामा आवद्ध वडाकी कटुवाल चुनमाया दमै पनि सम्मानित भए । उनीहरुलाई कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमले सम्मानपत्र र वडा अध्यक्ष तेजप्रसाद शर्माले नगद ५ हजार रुपैयाँका दरले पुरस्कार बितरण गरेका थिए ।
उक्त कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय कुश्माले संचालन गरेको आधारभूत मौरीपालन तालिमका सहभागिलाई कार्यालयका प्रमुख अशोक नेपालीले प्रमाणपत्र र प्रशासन सहायक भिमप्रसाद अर्यालले मौरीपालन सम्वन्धी पुस्तक बितरण गरेका थिए । वडा अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोक नेपाली, तालिमका प्रमुख प्रशिक्षक भवानीप्रसाद शर्मा, १३ नं वडाका संस्थापक अध्यक्ष जंगवहादुर केसी, उद्यमी डिल्लीराम सुवेदी लगायतले बोलेका थिए । कुश्मा नगरपालिका १३ नं का वडा अध्यक्ष तेजप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन लाल्टीन मिडियाका प्रबन्ध निर्देशक सुमनजंग थापा र कार्यक्रमको स्वागत वडासदस्य चित्रकला नेपालीले गरेका थिए । सो अवसरमा बर्षादको कारण घरगोठ क्षती भएका ११ जनालाई त्रिपालको साथै गत बर्ष असिनाको कारण धान क्षती भएका ५९ जना कृषकलाई कृषि बिकास निर्देशनालय पोखरावाट प्राप्त ३ लाख ५५ हजार रुपैयाँ समेत बितरण गरिएको थियो ।





