बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मेलाको आम्दानीले डेढ सय विद्यार्थीलाई पोसाक

मेलाको आम्दानीले डेढ सय विद्यार्थीलाई पोसाक


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८१, सोमबार

पर्वत/जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा रहेको बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्थानीय मगर समुदायको एक क्लबले पोसाक उपलब्ध गराएको छ ।
स्थानीय बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ५० जना विद्यार्थीहरूको लागि करिब डेढ लाख रुपैयाँको लागतमा ‘ट्रयाकसुट’ वितरण गरिएको वडाध्यक्ष गौ बहादुर पुनले जानकारी दिए । बुद्ध जयन्तीको अवसर पारेर गत वैशाख १० गतेदेखि १९ गतेसम्म क्लबको आयोजनामा बनौँमा मेला लागेको थियो । सोही मेलाबाट आम्दानी भएको रकमबाट विद्यार्थीहरूलाई पोसाक उपलब्ध गराइएको हो ।
जिल्लाका मगर समुदायले बुद्ध जयन्ती, जनै पूर्णिमा, लगायतका विशेष चाड पर्व स्थानीय मेलाका आयोजना गर्ने गरेका छन् । वर्षमा एक पटक आयोजना हुने मेलालाई सानो महोत्सवको रूपमा नै सञ्चालन गर्ने गरिन्छ । बेला बेलामा आयोजना हुने मेला र ती मेलामा आयोजना हुने भलिबल, बास्केटबल खेलका प्रतियोगिता तथा विभिन्न विधाहरू पर्वतका मगर समुदायका पहिचान हुन् ।
मगर समुदायमा आयोजना हुने यस्ता मेलालाई मनोरञ्जन मात्रै नभएर सामाजिक सेवामा जोड्नको लागि पनि विद्यालयमा सहयोग गरिएको क्लबका अध्यक्ष राजकुमार पुनले बताए । ‘मगर समुदायमा हरेक वर्ष मेलाको आयोजना हुँदै आएको छ । मेलामा खेलकुद सहितका मनोरञ्जनात्मक कार्यक्रमहरू हुन्छन’, उनले भने, ‘यस्ता कार्यक्रमहरूलाई रमाइलोको लागि मात्रै नभएर सामाजिक सेवासँग पनि जोड्न सकियो भने यसको प्रभावकारिता बढ्छ भन्ने लागेर विद्यालयमा सहयोग गरेका हौँ ।’
क्लबले गरेको सहयोगले विद्यार्थीको पोसाकमा एकरूपता ल्याउन तथा आर्थिक रूपमा समस्यामा रहेका बालबालिकाहरूको अध्ययनमा सघाउन पनि सहयोग मिलेको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर पुन बताउँछन् । धेरै सङ्ख्याका विद्यार्थीहरूको लागि धेरै रकम खर्चिएर क्लबले गरेको सहयोगले विद्यार्थीलाई अनुशासनमा राख्न पनि सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->