बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा पहिलो पटक ‘एक चिहान’

पर्वतमा पहिलो पटक ‘एक चिहान’


  • संजय रेग्मी
  • साउन १७ २०८१, बिहिबार

पर्वत/वर्षौँ पहिले नाटकको सामान्य स्वाद पाएको पर्वत जिल्लामा पहिलो पटक ‘एक चिहान’ प्रदर्शन गर्न लागिएको छ । ५२÷५३ सालतिर नाटक मञ्चनका केही अभ्यासहरू भएको भए पनि त्यसयता भने जिल्लामा नाटकको अभ्यास भएको छैन ।
‘स्क्रिन’ को मात्रै अवसर पाएका पर्वतबासीहरुले जिल्लामा नै नाटकको जीवन्तता, कला, मिहिनेत, व्यवस्थापनको बारेमा जान्न नपाएको बेलामा यो अवसर अब पोखरा थिएटरले दिने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पछिल्लो केही वर्षयता बर्सेनि र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा प्रदर्शन भएको साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास ‘एक चिहान’ पर्वतमा पहिलो पटक प्रदर्शन गर्न लागिएको हो ।
विद्यालय तहको कक्षा १२ को अनिवार्य नेपाली विषयमा विद्यार्थीले अध्ययन गर्नुपर्ने उक्त कृतिलाई नाट्य रूपान्तरण गरेर विद्यार्थीहरूलाई केन्द्रित गरेर प्रदर्शन गर्न लागिएको नाटकका निर्देशक परिवर्तनले बताए । नाटक विद्यार्थीको सिकाइका लागि पनि सहयोगी बन्ने अपेक्षा गरिएको उनको भनाइ छ । नेपाली गरिब किसान र मजदुरको जीवनमा आधारित यो नाटक सामाजिक यथार्थवादी नाटक हो । गरिबी, बाध्यता र विवशताको परिवेशमा न्यून वर्गीय जीवनका जटिलता र सङ्घर्ष प्रस्तुत भएको नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ । नेवारी पोसाक, नेवारी लबजले नाटकलाई परिपक्व बनाउन सघाएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजार र आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी नाटक मञ्चन गरिएको हो । पर्वत उद्योग वाणिज्य सङ्घको सभा हलमा अस्थायी ‘थिएटर’ निर्माण गरेर साउनको २०, २१ र २२ गते दैनिक तीन ‘सो’ का दरमा नाटक मञ्चन गरिने छ ।
नाटकमा जनक पराजुली, रोशनी रामदाम÷प्रमीला तुलाचन, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, एलिसा भोग, दिप्सना विश्वकर्मा, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमिल्सिना, परिवर्तन, अजय जि.सी÷रोहित पौडेल, रुबीना मगर, प्रतीक घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ । उपन्यास ‘एक चिहान’ लाई नाट्य रूपान्तरण नाटकका निर्देशन परिवर्तनले नै गरेका हुन् । नाटक झन्डै एक घण्टा ३० मिनेट अवधिको छ ।
नाटकको विस्तारीकरण र दर्शक बढाउनको लागि ‘गण्डकी नाट्य यात्रा’ अभियान सुरु गरेर प्रदेशका ११ वटै जिल्लाहरूमा मञ्चनको तयारी गरिएको छ । तर हिमाल पारीका दुई जिल्लाहरू मनाङ र मुस्ताङमा भने प्रदर्शनको सुनिश्चितता भइसकेको छैन । पोखरामा नाटकको राम्रो विकास भइरहेको भए पनि प्रदेशका अन्य जिल्लामा अहिलेको पुस्ताले नाटकको बारेमा थाहा नै नपाएको अवस्था रहेको र आफ्नो अभियानले यसको अभाव पूर्ति गर्ते निर्देशक परिवर्तनको भनाइ छ ।
आजभोलिका विद्यार्थीहरूले अध्ययन बाहेकको अधिकांश समय ‘स्क्रिन’ मा बिताउने गरेको र यसले स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पार्दै गइरहेको अवस्थामा यसको समाधानको लागि पनि नाटक उपयोगी हुने उनको विश्वास छ । नाटक हेर्ने अवसर नपाएसम्म नाटक र चलचित्रमा खेल्ने कल्पना विद्यार्थीले नगर्ने भएकाले आगामी कलाकार जन्माउनको लागि र विद्यार्थीहरूलाई सृजनशील बनाउनको लागि पनि यो अभियानले सहयोग पुग्ने परिवर्तन बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->