बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्द सहकारी व्युतियो, ऋण उठाउने चुनौती

बन्द सहकारी व्युतियो, ऋण उठाउने चुनौती

ठूलो ऋण लानेहरुबाट रकम असुल गर्न प्रशासनले साथ नदिएको गुनासो


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८१, शुक्रबार

बागलुङ/बचतकर्ताको रकम ठगेर भागेका अध्यक्ष सहितका पदाधिकारी नभएपछि बन्द भएको सहकारी गत बैसाखमा स्थानीयले व्युताए । तर ऋण उठाउने काममा प्रशासनको साथ नपाएको उनीहरुको गुनासो छ । तत्कालिन अध्यक्षले आफ्नै परिवारमा दिएको ऋण उठाउने काम चुनौती बनेको उनीहरु बताउँछन् ।
पर्वतको कुश्मास्थित ‘तपाई हाम्रो सहकारी’का शेयर सदस्यको भेलाबाट सर्वसम्मत रुपमा स्थानीय नविन कुमार पौलेल अध्यक्ष भएका थिए । उक्त समितिले अहिलेसम्म १५ लाख रुपैयाँ ऋण संकलन गरेर साना बचतकर्तालाइ फिर्ता दिएको छ । तर, ठूलो ऋण लानेहरुबाट रकम असुल गर्न प्रशासनले साथ नदिएको उनीहरुको गुनासो छ ।
सहकारीका अध्यक्ष बालगोपाल श्रेष्ठ २९ करोड रुपैयाँ ठगी गरेर एक वर्षदेखि अष्ट्रेलिया भागेका छन् । उनलाई तत्काल पक्राउ गरी कारवाही गर्न र बचतकर्ताको रकम फिर्ता गर्न पीडितले ८ महिनादेखि माग गरिरहेका छन् । उनी भागेपछि सहकारीले उनकै आफन्तलाई लगानी गरेको २ करोड १० लाख समेत उठेको छैन । बिना धितो परिवारमा दिएको ऋण र पटक पटक थप गरेकोले नयाँ समितिलाई पनि उठाउने चुनौती थपिएको हो । ऋण नउठेमा के गर्ने भन्ने उनीहरुलाई चुनौती छ ।
२०७७ देखि २०८० को असारसम्म तीन पटक गरी श्रेष्ठका आफन्त पर्ने १३ जनालाई २ करोड १० लाख ऋण प्रवाह गरिएको रेकर्ड छ । ती मध्ये बालगोपालका भाइ किसोर श्रेष्ठले माता पाथीभरा बहुउद्देश्यीय सहकारी संस्थाबाट पनि ११ करोड रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएपछि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
दुवै सहकारीबाट आफन्तहरुलाई नै ऋण प्रवाह गरिएको हो । त्यस बाहेक सफ्टवेयर डेभलपरसँग मिलेमतो गरेर नक्कली ऋणी खडा गरी सहकारीको सबै रकम हिनामिना गरेर श्रेष्ठ भागेका हुन् । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अध्ययनमा बालगोपालले २९ करोड रकम ठगी गरेको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । कार्यालयले उनीबिरुद्ध ठगी मुद्दा दायर गरेपनि श्रेष्ठ फरार छन् ।
श्रेष्ठका आफन्तहरु आमा शकुन्तलाको नाउँमा ३७ लाख, भाइ किसोर र बुहारी बिनितालाई ३५ लाखको दरले १ करोड ७ लाख लगानी गरेका छन् । जेठान कर्णबहादुरलाई ३७ लाख, बैनीज्वाई राजिन्द्रलाई ५० लाख ७१ हजार, गणेश श्रेष्ठलाई २ लाख ४० हजार ऋण दिएको देखिएको हो । तर उनीहरुबाट ऋण असुलीको प्रयास नभएको हो । ठगीमा परेका बचतकर्ताले प्रशासनलाई उक्त तथ्यांक देखाएर ऋण असुल गरिदिन आग्रह गरेका छन् ।
समितिका अनुसार अहिले पनि बजारमा झण्डै १९ करोड ऋण उठ्न बाँकी छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पीडितको माग र गुनासो सुनेर सहयोगको प्रयास गरेको बताए । अदालतले दोषी ठहर गरिसकेपछि मात्र प्रहरीले रेडकर्नर जारी गर्न सकिने प्रावधानले ढीलाइ भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->