बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शिक्षाबाटै पूर्ण स्तनपानको प्रयास गर्दै पर्वतका स्वास्थ्यकर्मी

शिक्षाबाटै पूर्ण स्तनपानको प्रयास गर्दै पर्वतका स्वास्थ्यकर्मी


  • संजय रेग्मी
  • साउन १९ २०८१, शनिबार

पर्वत/सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूले बिहीबार पूर्ण स्तनपान, स्तन पानको महत्व र बालबालिकाको वृद्धि अनुगमनको बारेमा स्वास्थ्यकर्मीबाट नै जान्ने मौका पाए । स्तनपानबारेका आधारभूत कुरा पाठ्यक्रमबाट जानेको भए पनि यसबारेको विशिष्ट ज्ञान भने स्वास्थ्यकर्मीबाट नै पाउँदा स्तनपानको महत्वको बारेमा उनीहरू छर्लङ्ग भए ।
अङ्ग्रेजी मितिको अगस्ट एकदेखि सातसम्म विश्वभर ‘विश्व स्तनपान सप्ताह, २०२४’ चलिरहेको छ । यही सप्ताह तथा स्वास्थ्य कार्यालय पर्वतले स्वास्थ्यकर्मीहरुले विद्यालयमा अनिवार्य रूपमा स्वास्थ्य विशेष कक्षा लिएको हुनुपर्ने व्यवस्था सुरु गरेको छ । यी दुई कार्यक्रमअन्तर्गत रहेर स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अञ्जली पौडेल क्षेत्री र ममता ढकालले बच्चाका लागि स्तनपानको महत्वको बारेमा स्तनपान सम्बन्धी सिफारिस गरिएका व्यवहारहरू, स्तनपान गराउने विभिन्न आसन र सम्पर्कहरू, पूर्ण स्तनपान लगायतका बारेमा विद्यार्थीलाई सिकाए ।
‘हरेक महिना बाँड्छौँ हामी निःशुल्क ज्ञान, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य शिक्षा हाम्रो अभियान’ अन्तर्गत पर्वतका सबै स्वास्थ्यकर्मीहरूलाई विद्यालयमा पुगेर केही न केही विषयमा अध्यापन गर्ने आफूहरूको नीतिले विद्यालय शिक्षा र बालबालिकाहरूलाई फाइदा पुग्ने प्रशिक्षक अञ्जली पौडेल क्षेत्रीले बताइन् । नेपालमा स्तन पानको अवस्था हेर्दा जन्मेको एक घण्टाभित्र ५५ प्रतिशत, छ महिनासम्मको पूर्ण स्तनपान ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गर्ने ९४ प्रतिशत रहेको तथा सन २०३० सम्मको लक्ष्य ९० प्रतिशत रहेको जानकारी दिइन् ।
‘स्वास्थ्य सम्बन्धी सचेतना र बालबालिकाहरूप्रतिको मायाले हाम्रो उपलब्धि राम्रो देखिएको छ । त,र स्तनपानले आमाको शारीरिक आकर्षण बिग्रने लगायतका चिन्ता गर्दा एउटा बच्चा भोकै हुनुपर्ने दर्दनाक अवस्था पनि सुनिन्छन’, उनले भनिन, ‘किशोर किशोरीहरूलाई विद्यालय तहबाट नै स्तन पानको महत्त्व र तरीकाको बारेमा सिकाउँदा बाल उमेरबाटै त्यसप्रतिको सकारात्मक धारणाको विकास हुन्छ ।’ आजका विद्यार्थी नै भोलिका बाबु आमा भएकोले आजबाट नै ज्ञान दिँदा राम्रो हुने, उनीहरूको माध्यमबाट समाजमा ज्ञान फैलाउन सहज हुने, विद्यार्थीले पढेर जानेका भनेर उनीहरूका परिवार र आफन्तले विश्वास गर्ने, विद्यालय शिक्षा प्रभावकारी हुने लगायतका कारण पनि विवाहित र २० वर्ष मुनिको उमेर समूहमा आफूहरू लक्षित रहेको जनस्वास्थ्य अधिकृत क्षेत्रीले बताइन् ।
आमाको दूधले खोप सरहको काम गर्ने, निमोनिया, झाडापखाला, काम, छाला, पेट तथा श्वासप्रश्वासका सङ्क्रमणसँग लड्न सक्ने क्षमताको विकास गर्ने, बच्चाको शरीरमा आवश्यक पानी र खनिजको आपूर्ति गर्ने, बच्चा जन्मिँदा साथ दूध चुसाउँदा सालनाल छिट्टै निस्किने, आमाको बढी रगत बग्ने समस्यामा न्यूनीकरण हुने, महिलामा हुने स्तन र पाठेघरसम्बन्धी क्यान्सरको खतरा घटाउने, सफा, पोसिलो र उचित तापक्रमको हुने, बच्चाको मानसिक, बौद्धिक, शारीरिक तथा सामाजिक विकास गर्नेलगायतका कुराहरू सिक्न पाएको सहभागी विद्यार्थीहरू बताउँछन् ।
स्तनपान भन्नाले शिशुलाई जन्म दिएपछि आमाले आफ्नो स्तनबाट निस्किने प्राकृतिक दूध खुवाउनु भएको र शिशु जन्मेको जतिसक्दो चाँडो एक घण्टाभित्र आमाको दूध खुवाउन सुरु गर्नुपर्ने जनस्वास्थ्य अधिकृत ममता ढकालले बताइन् । शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व अमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि छ महिना पूरा नभएसम्म आमाको दूध मात्र खुवाउनुपर्ने र उक्त अवधिमा बच्चालाई पानी पनि खुवाउन नहुने उनको भनाइ छ । बोतलमा राखेर बच्चालाई दूध खुवाउनु विष समान भएकोले यसबारेमा पनि सचेतना फैलाउन आवश्यक रहेको बारेमा विद्यार्थीलाई सिकाइएको ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->