पर्वत/वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु सङ्क्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार गत साउन दुई गतेदेखि साउन २२ गतेसम्मको २१ दिनको अवधिमा नै ५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । साउन दुई, तीन र पाँच गते एक÷एक जनामा सङ्क्रमणको पुष्टि भएकोमा त्यसपछिका दिनमा भने सङ्क्रमितहरूको सङ्ख्या दैनिक रूपमा उकालो लाग्दै गएको छ ।
साउन छ मा तीन जनामा, सात गते एक जनामा, १० गते पाँच जनामा, ११ र १२ गते एक÷एक जनामा, १३ गते तीन जनामा, १५ गते छ जनामा सङ्क्रमणको पुष्टि भएको हो। यस्तै १६ र १७ गते तीन÷तीन जनामा, १८ गते छ जनामा, १९ गते दुई जनामा, २० गते छ जनामा, २१ गते चार जनामा र २२ गते सबैभन्दा बढी एकै दिनमा नौ जनामा सङ्क्रमणको पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए ।
गर्मी याम र वर्षाका कारण लामखुट्टेमैत्री वातावरण तयार हुँदा लामखुट्टेको प्रजनन बढेको र यसले सङ्क्रमण बढाइरहेको हो । अस्पतालमा आउने उच्च ज्वरोका बिरामीहरू बढिरहेको र उनीहरूमध्येमा नै डेंगीको सङ्क्रमण पुष्टि भएको हो । पर्वत अस्पताल वा जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउने क्रममा डेंगीको सङ्क्रमण पुष्टि भएकाहरूको तथ्याङ्क आउने भए पनि जिल्ला बाहिर गएर उपचार गर्ने तथा निजी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनेहरूको विवरण भने पर्वत अस्पताल वा स्वास्थ्य कार्यालयमा आउँदैन ।
यही कारण अहिले पर्वत अस्पतालमा पुष्टि भएका ५६ जना बाहेक जिल्लाका अन्य स्थानहरूमा पनि डेंगुका बिरामीहरूको सङ्ख्या बढिरहने अवस्था छ । जिल्लाको उच्च गर्मी हुने तथा सदरमुकाम कुश्मा बजारबाट टाढाको दूरीमा रहेको पैयुँ गाउँपालिकाका बासिन्दाहरू उपचारको लागि स्याङ्जाको वालिङ बजारमा जाने गरेका छन् । पैयुँ र आसपासको क्षेत्रका नागरिकमा डेंगु सङ्क्रमण भएको भएमा त्यो विवरण यसमा समावेश नभएकाले डेंगुको सङ्क्रमण भित्रभित्रै फैलिएर आम नागरिक जोखिममा रहेको हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचार प्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र सङ्क्रमण भने बढिरहेको छ । लामखुट्टेको प्रकोप बढ्दा पानी पोख्ने अभियान समेत चलाइएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बिहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैह्र सरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्क सप, कवाडी सङ्कलन केन्द्र, नागरिकका घर तथा पसल सहितमा समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाइएको र यसलाई निरन्तरता दिनुपर्ने बताए ।
गत वर्ष जिल्लाका कुल दुई सय २५ जनामा डेंगी सङ्क्रमण भएको भन्दै उनले घर आसपासमा रहेको फोहोर, झाडी, नहल्लिने गरेर जमेको पानी, लगायतका कारण लामखुट्टेले फूल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगीको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन जिल्लावासीमा अनुरोध गरे ।
लामखुट्टेको टोकाइबाट बच्नको लागि आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउने लगायतका विधिहरू अवलम्बन गर्नुपर्ने चिकित्सहरुको सुझाव छ ।
उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्ने वा वान्ता हुने लगायतका लक्षणहरू देखिएमा डेंगी भएको हुन सक्ने भएकाले नागरिकले समयमा नै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकोले दिउसोमा भन्दा बिहान र साँझको समयमा झनै सचेत हुनुपर्ने उनको भनाइ छ ।





