पर्वत/ जिल्लाको सदरमुकाम रहेकाे कुश्मा नगरपालिकाले डेंगु फैलाउने लामखुट्टे नष्ट गर्नका लागि लामखुट्टे, लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान सुरु गरेको छ । पछिल्ला केही दिनयता डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै गएको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले बिहीबारदेखि यो अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख यामप्रसाद शर्माले बताए ।
बजारमा पानीको अभाव हुनेसक्ने पिरले भाँडामा केही दिनदेखि पानी जम्मा गरेर राख्ने, घरका छत तथा कौसीमा राखिएका फूलदानीमा लामखुट्टेले प्रजनन गर्ने, ग्यारेजहरूमा रहेका टायर तथा अन्य सामग्रीमा पानी जम्मा भएर बस्ने, सडक छेउछाउमा रहेका झाडी तथा पानी जम्मा हुनसक्ने प्लास्टिकजन्य बस्तुहरूमार्फत पनि लामखुट्टेको प्रकोप बढ्ने भएकाले बजार क्षेत्रमा सरसफाइ अभियान थालिएको हो । अभियानमा सहभागी जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारी, जनप्रतिनिधि तथा बजारवासीहरू घरघरमा पुगेर जम्मा गरेर राखिएको पानी पोख्ने तथा डेंगु फैलिने कारण, असर र यसको रोकथामको बारेमा सचेतना फैलाएका छन । ‘हामीले अभियानका क्रममा जमेको पानी पोख्दैमा लामखुट्टे नियन्त्रणमा आउँदैनन् । यसको अर्थ बजारवासी र जिल्लावासी स्वयंले आफ्नो घर र वातावरणमा सफा गर्नुपर्छ भन्ने सन्देशका लागि हो,’ स्वास्थ्य शाखा प्रमुख शर्माले भने, ‘पछिल्ला दिनमा सङ्क्रमण ह्वात्तै बढ्दै गइरहेको छ । सङ्क्रमितको सङ्ख्या बढ्नु भनेको लामखुट्टेमार्फत नयाँ सङ्क्रमितहरू थपिँदै जाने सम्भावना हो ।’
वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु सङ्क्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार साउन महिनाको हालसम्म जिल्लाका ५६ जना बिरामीमा डेंगु पुष्टि भएको छ । सुरुका दिनमा दैनिक एक÷दुई जनामा पुष्टि भएको भए पनि पछिल्ला दिनमा एकै दिनमा नौ जनासम्ममा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र सङ्क्रमण भने बढिरहेको छ । लामखुट्टेको प्रकोप बढ्दा यस अगाडि स्वास्थ्य कार्यालयको आयोजनामा पानी पोख्ने अभियानसमेत चलाइएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बिहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी सङ्कलन केन्द्र, नागरिकका घर तथा पसलसहित समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाइएको र यसलाई निरन्तरता दिनुपर्ने बताए ।
गत वर्ष जिल्लाका दुई सय २५ जनामा डेंगु सङ्क्रमण भएको भन्दै उनले घर आसपासमा रहेको फोहोर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन जिल्लावासीमा अनुरोध गरे । लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै वेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनेलगायतका उपाय अवलम्बन गर्नुपर्ने चिकित्सहरुको सुझाव छ । उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेलगायतका लक्षणहरू देखिए डेंगु भएको हुन सक्ने भएकाले नागरिकले समयमा नै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकोले दिउँसोभन्दा बिहान र साँझको समयमा झनै सचेत हुनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ ।





