पर्वत / पर्वतमा आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न स्थानमा गरेर सात वटा चितुवाको मृत अवस्थामा उद्धार गरिएको छ । डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाका अनुसार २०८० पुस १ गतेदेखि २०८१ को जेठ सम्मको अवधिमा पोथी चितुवा र चितुवाका बच्चा मृत अवस्थामा भेटिएका हुन ।
२०८० पुस १ मा बिहादी गाउँपालिका–बर्राचौरमा बच्चा चितुवा, पुस ९ मा कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी चितुवा, पुस १२ मा मोदी गाउँपालिका–५ बाजुङको गलकोटमा र सोही दिन बाजुङमै एक÷एक वटा चितुवा मृत अवस्थामा फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो । यस्तै २०८१ वैशाख १८ मा कुश्मा नगरपालिका–९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा नगरपालिका–२ खुर्कोटमा एउटा पोथी चितुवा मृत अवस्थामा फेला परेका थिए । कहिले चितुवाको बच्चालाई काखमा समातेर त कहिले चितुवालाई डो¥याउँदै हिँडालेर व्यवस्थापन गरिँदा पर्वत जिल्ला चितुवाका कारण बेलाबेलामा चर्चामा आउने गरेको छ । बन क्षेत्रको वृद्धि र चितुवाको लागि उपयुक्त वासस्थान र आहार मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको सङ्ख्यामा वृद्धि भएको हुनसक्ने अनुमान छ । गाउँघरमा रातीको समयमा चौपायामाथि चितुवाले गर्ने आक्रमणका घटनाहरू धेरै हुनुले पनि चितुवाको सङ्ख्या बढेको देखाउँछ । तर धेरै मृत चितुवा बच्चा नै भएकाले आहाराको समस्या भएको हुनसक्ने पनि अनुमान गरिएको डिभिजन वन अधिकृत सापकोटाले बताए । ‘यति सङ्ख्याका चितुवा मृत अवस्थामा भेटिनु भनेको कि त वातावरण नमिलेर आफै मरेको हुनुपर्छ कि त कसैले आक्रमण गरेर मारेको हुनुपर्छ । तर मृत भेटिएकाहरूको प्रकृति हेर्दा अरूको आक्रमणमा परेको जस्तो देखिएन’, उनले भने, ‘अहिले खाद्य चक्रमा समस्या आइरहेको कारण तिनीहरूको मृत्यु भएको हुन सक्छ । कोही पानी खान जाँदा पोखरीमै डुबेर मरेको पनि भेटियो । बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकोले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन ।’
चितुवाका बच्चाहरू समेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय वासस्थानमा नफर्कँदा बच्चाहरू भोकले मरेको हुनसक्ने उनको भनाइ छ । चितुवाका आहाराको लागि घाँसे मैदान आवश्यक हुने भए पनि पहाडी वनमा त्यति धेरै घाँसे मैदान छैन । घाँसे मैदानमा आउने हरिण, मृग लगायतका शाकाहारी जनावरको सिकार गरेर आहारा पाउने भए पनि त्यो नहुँदा पनि चितुवालाई खाद्य सङ्कट परेको हुन सक्ने उनी बताउँछन् ।
वन जङ्गलबाटै खनिएका सडक, सवारीका आवाज, जलवायु परिवर्तनका कारण उनीहरूको वासस्थानमा असर पर्दा पनि उनीहरूको वातावरण बिग्रिएर मृत्युको कारण बनेको हुन सक्ने पनि देखिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा पर्वतमा नौ वटा चितुवालाई मृत अवस्थामा उद्धार गरिएको थियो ।





