पर्वत/ धेरै लगानी र मिहिनेत गरेर उत्पादन गरिएका कृषि उपजहरूले बजार र मूल्य नपाउँदा उत्पादनहरू बाटोमा पोखेका उदाहरण देशभरि छन । व्यावसायिक रूपमा कृषि उत्पादन गर्दै आइरहेका कृषकहरूको उत्पादनले बजार नपाउँदा उनीहरू कृषिलाई निरन्तरता दिने की नदिने भन्ने दोधारमा छन् ।
तर पर्वतको जलजला गाउँपालिकाले भने कृषकहरूलाई थप व्यावसायिक बनाउँदै सकेसम्म गाउँपालिकाका सबै कृषकहरूलाई उत्पादनमा जोड्ने प्रयास गरिरहेको छ । यसैको प्रयास स्वरूप गाउँपालिकाले हालैमात्र कृषकहरूबाट १० लाख मूल्य बराबरको आलुको बीउ खरिद गरेको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार बीउ आलु उत्पादन गर्ने कृषकलाई सम्झौता अनुसार दुई वटा बीउ उत्पादक कृषक समूहलाई कुल १० लाख ७५ हजार चार सय ५० रुपैयाँ भुक्तान गरिएको हो । कृषकले समूहमार्फत व्यावसायिक रूपमा आलुको मूल बीउ उत्पादन गर्नेगरी गाउँपालिकाले ती समूहसँग सम्झौता गरेको थियो । प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको दुई हजार दुई सय ७० किलोग्राम बीउ प्रतिकिलो ३५ रुपैयाँका दरले ७९ हजार चार सय ५० तथा नमुना कृषि तथा पशुपक्षी कृषक समूह र प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको कुल ३३ हजार दुई सय किलोग्राम प्रमाणित प्रथम पुस्ताको बिउको प्रतिकिलो ३० रुपैयाँका दरले नौ लाख ९६ हजार रुपैयाँ भुक्तानी दिइएको अध्यक्ष आचार्यले बताए ।
उक्त बीउलाई सुरक्षित राख्नको लागि छिमेकी जिल्ला कास्कीको पोखरामा रहेको ‘कोल्ड स्टोर’ मा भण्डारण गरिएको छ । उक्त बीउ यसैवर्ष जलजला गाउँपालिकाभित्रका बीउ उत्पादक कृषक समूहहरूलाई वितरण गरिने छ ।
आलु लगाउने समयमा आलुको बीउ अभाव हुँदा कृषकहरू समस्यामा पर्ने गरेकोमा अब भने यो समस्या हट्ने गाउँपालिकाको कृषि शाखाका प्रमुख राजुप्रसाद गौतमले बताए । गाउँपालिकाले आलुसहित अन्य उत्पादनमा पनि अनुदान र प्रोत्सहानमुलक कार्यक्रम सञ्चालन गरेकाले पनि कृषकहरूलाई हौसला मिलेको उनको भनाइ छ । बीउ नपाएर निराश कृषकलाई लक्षित गरी राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग सामूहिक मूल बीउ रोप्ने अभियान सञ्चालन गरिएको र गाउँपालिकाभित्र बर्सेनि आलु बिक्री गर्ने करिब ४० अगुवा कृषकहरू रहेको गौतमले जानकारी दिए । आलुको पकेट क्षेत्रमा एकै खालको बीउ प्रयोगमा आउँदा उत्पादनमा विविधता नआएको र गुणस्तर पनि कम भएको थियो । यसको समाधानको लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूल बीउ लगाउन कृषकसँग सम्झौता भएको हो ।
गाउँपालिकाले गत आर्थिक वर्ष ०८०÷०८१ मा आलुको बीउ बिक्री गरेर २९ लाख ७१ हजार छ सय ४९ रुपैयाँ आन्तरिक आम्दानी तर्फ राजश्व सङ्कलन गरेको थियो । उक्त राजश्व गाउँपालिकाको कुल राजश्व सङ्कलनको २२ प्रतिशत हो । जुन गाउँपालिकाको राजश्व सङ्कलनको दोस्रो ठुलो हिस्सा हो । ढुङ्गा, गिटी, बालुवा बिक्रीबाट हुने आम्दानीपछि सबैभन्दा धेरै राजश्व बिउ आलु बिक्रीबाट गाउँपालिकाले आम्दानी गरेको हो ।





