बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा ४६ प्रतिशतले गराए गर्भपतन

पर्वतमा ४६ प्रतिशतले गराए गर्भपतन


  • संजय रेग्मी
  • साउन २६ २०८१, शनिबार

पर्वत / गर्भपतनका तत्कालीन र दीर्घकालीन असरको बारेमा विद्यालय तहको पाठ्यक्रमदेखि नै ज्ञान दिन सुरु हुन्छ । गर्भपतनका लागि स्वास्थ्य संस्थामा जाँदा होस वा स्वास्थ्य सम्बन्धी अन्य तालिम र कार्यक्रममा पनि गर्भपतनको बाटो नरोज्न आह्वान गरिएकै हुन्छ । पछिल्ला केही वर्ष यता बढिरहेको गर्भपतनको डरलाग्दो अवस्थाका बारेमा सचेतना फैलाउन पाठ्य सामग्रीहरू पनि धेरै प्रकाशन भएका छन् ।

तर पनि गर्भपतन गराउनेहरूको सङ्ख्या बढिरहेको पाइएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा भएका सुत्केरीहरूको सङ्ख्या र गर्भपतन गराएकाहरूको सङ्ख्या हेर्दा महिलाको स्वास्थ्य अवस्था कस्तो बन्दैछ भन्ने स्पष्ट हुन्छ । स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी.का अनुसार एक वर्षको अवधिमा कुल ६ सय २२ सुत्केरी हुँदा ९ सय ७ जनाले गर्भपतन गराएका छन् । जुन सङ्ख्या सुत्केरी भएकाहरूको तुलनामा ४५.८२ प्रतिशतले बढी हो । एक वर्षको अवधिमा दक्ष प्रसूतिकर्मीबाट ३ सय ९१ जना, दक्ष स्वास्थ्यकर्मीबाट एकसय ३२ जना, अन्य स्वास्थ्यकर्मीबाट ९१ जना र घरमा तथा स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा गरी ८ जना सुत्केरी हुँदा ६ सय २२ जनाले बच्चा जन्माएका छन् । सोही अवधिमा औषधि सेवन गरेर ७ सय ६ जनाले र सामान्य शल्यक्रियामार्फत २ सय एकजना गरी ९ सय ७ जनाले गर्भपतन गराएका छन् । यी मध्येका पाँच जनाले १२ हप्ता माथिको गर्भपतन गराएका थिए भने एक जनामा गर्भपतनपछिको जटिलता समेत देखिएको थियो ।

अवस्था यो भन्दा अझै भयावह छ । किनकि अस्पतालको तथ्याङ्कमा भए अनुसार आफू गर्भवती भएपछि पहिलो पटक परीक्षण गर्न स्वास्थ्य संस्थामा पुगेका महिलाहरूको सङ्ख्या एकहजार एकसय १८ रहेको छ । यी सबै महिला गर्भवती हुँदा ६ सय २२ जनाले मात्रै बच्चा जन्माएको देखिन्छ । यो हेर्दा सुत्केरी भएकाहरूको सङ्ख्याको तुलनामा पहिलो पटक गर्भवती परीक्षणका लागि गएकाहरूको सङ्ख्या ९१ प्रतिशतले बढी रहेको छ । यसमध्येका केही पोखरा वा अन्य क्षेत्रमा पुगेर सुत्केरी हुन सक्ने भए पनि यति ठुलो सङ्ख्या बिचैमा हराएको देखिएको छ । यस्तै १२ हप्तासम्मको गर्भ परीक्षण ९ सय ७१ जनाले गराएका छन् । एक वर्षको अवधिमा नेपाल सरकारले तोकेको ४ पटक गर्भ परीक्षण गरेको हुनुपर्ने नियममा आधारित रहेर एकहजार ३ सय २७ जनाले गर्भ परीक्षण गराएका छन् । जुन सङ्ख्या पहिलो पटक र १२ हप्तासम्म गर्भ परीक्षण गरेकाहरूको भन्दा धेरै रहेको छ ।

विभिन्न कारणले गर्भपतनको सङ्ख्यामा वृद्धि गराइरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्मा बताउँछन् । सबैभन्दा मुख्य कारण भनेको गर्भमा आफूले चाहेको लिङ्ग अनुसारको भ्रुण नहुनु भएको जस्तो देखिएको उनको भनाइ छ । कानुन अनुसार भ्रुण पहिचान गर्न नपाउने भए पनि अवैधानिक रूपमा पहिचान गर्ने र पहिचान नगरीकनै गर्भपतन गराउन लागेको भनेर गर्भपतन गराउनेहरूको सङ्ख्या धेरै रहेको शर्माले बताए । ‘यसरी गर्भपतन बढी हुनुको कारण भनेको सेक्स सेलेक्टीभ गर्भपतन एउटा हो । छोरा चाहिएको बेलामा छोरी गर्भमा हुने, छोरी चाहिएको बेलामा छोरा गर्भमा हुने कारण पनि यसो भइरहेको छ’, उनले भने, ‘असुरक्षित यौन सम्पर्कका कारण रहने अनिच्छित गर्भलाई नष्ट गर्नको लागि पनि गर्भपतन हुने गरेका छन् । गर्भपतन गराउन पाउनु मेरो अधिकार भनेर पनि गर्भपतन गरेको पाइन्छ ।’

अझै पनि गाउँ–गाउँमा कम उमेरमै विवाह गरेर छिटो छिटो बच्चा जन्माउने गरेकाले पनि गर्भपतन बढी देखिएको भन्दै शर्माले आफ्नो विवाह गर्ने उमेर नभइसकेको अवस्थामा दुई बच्चा जन्मिसक्नु अर्को कारण भएको बताउँछन् । दुई÷तीन वटा बच्चा भइसक्दा पनि अस्थायी साधनको प्रयोग नगर्दा अनिच्छित गर्भ बस्नु, स्वास्थ्य सेवामा मानिसको पहुँच सहज र नजिक हुनु पनि गर्भपतन बढ्नुका कारण हुन । औषधि पसलहरूमा गएर आफ्नै तरिकाले औषधि सेवन गर्ने, आफ्नै तरिकाले गोप्य रूपमा ‘सर्जिकल एबोर्सन’ गराउने, पहिचान लुकाउनको लागि जिल्ला बाहिरका स्वास्थ्य संस्थामा गर्भपतन गराउने, लगायतका कारण नदेखिएको ठुलो सङ्ख्याले लुकीछिपी गराइरहेको गर्भपतनको विवरण कसैसँग छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->