बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डेंगु नियन्त्रणमा विद्यार्थीको भूमिका बलियो बनाउँदै स्वास्थ्य कार्यालय पर्वत

डेंगु नियन्त्रणमा विद्यार्थीको भूमिका बलियो बनाउँदै स्वास्थ्य कार्यालय पर्वत


  • संजय रेग्मी
  • साउन २९ २०८१, मंगलबार
Exif_JPEG_420

पर्वत/ स्वास्थ्यकर्मीको सक्रियताले मात्रै डेंगु नियन्त्रणमा प्रभावकारी काम हुन नसक्ने भएपछि स्वास्थ्य कार्यालय पर्वतले जिल्लाका विद्यालयमार्फत नियन्त्रणको अभियान थालेको छ । सीमित सङ्ख्यामा रहेका स्वास्थ्यकर्मी डेंगु नियन्त्रणको अभियानमा मात्रै खटिरहन समय नहुने र उनीहरू मात्रै खट्दा नागरिकले अपनत्व नदेखाउँदा विद्यार्थीमार्फत समुदायमा कार्यक्रम सुरु गरिएको हो । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार आइतबारदेखि जिल्लाका सात वटै स्थानीय तहका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले यसबारेका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।

कार्यालयले डेंगु सङ्क्रमणको वर्तमान अवस्था, लाग्ने कारण, सङ्क्रमणका असर, लामखुट्टे नियन्त्रणको तरीका, लामखुट्टेमार्फत ज्यामितीय रूपमा फैलिने सङ्क्रमण, सामुदायिक रूपमा गर्न सकिने कामहरू, यसमा विद्यार्थीले गर्न काम, सङ्क्रमित व्यक्तिहरूले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड लगायत विषयमा सामग्रीहरू तयार पारेर जिल्लाभरका स्वास्थ्य संस्थाहरूमा पठाएको छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले आफ्नो क्षेत्रमा रहेका विद्यालयमा पुगेर लामखुट्टे नियन्त्रणका लागि विद्यार्थी, विद्यार्थीमार्फत परिवार र परिवारमार्फत समुदायले कसरी काम गर्ने भन्ने बारेमा सिकाइरहेका छन् ।

डेंगुको असर र लक्षणको बारेमा थाहा पाएका विद्यार्थीले आफूहरूको सानो मिहिनेतले रोग न्यूनीकरणमा सहयोग हुन्छ भने परिवार र समुदायलाई पनि यसमा हातेमाले गर्छौँ भनेर काम गरिरहेका कार्यालय प्रमुख शर्माले बताए । ‘सूचना र जनचेतना फैलाउनको लागि विद्यार्थीहरू प्रभावकारी माध्यम भएकोले उनीहरूमार्फत लामखुट्टे खोज र नष्ट गर भन्ने अभियान समुदायमा लगेका छौँ । आफ्ना छोराछोरीले भनेपछि मान्ने बाबुआमाहरू हामीले ड्रममा पानी नराख्नुहोस् भन्दा मान्नुहुन्न’, उनले भने, ‘अनि स्वास्थ्यकर्मी हरेक घरमा पुगेर जमेको पानी पोखेर र खाल्डा पुरेर लामखुट्टे नियन्त्रणमा लिन सम्भव पनि छैन । हरेक टोलका विद्यार्थीले नेतृत्व गरेर यो काम गर्नुपर्छ ।’

‘हरेक महिना बाँड्छौँ हामी निःशुल्क ज्ञान, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य शिक्षा हाम्रो अभियान’ अन्तर्गत पर्वतका सबै स्वास्थ्यकर्मीलाई विद्यालयमा पुगेर केही न केही विषयमा अध्यापन गर्ने आफूहरूको नीति अन्तर्गत पनि यो कार्यक्रम चलिरहेको कार्यालय प्रमुख शर्मा बताउँछन् । साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा डेंगुको ग्राफ उकालो लाग्दै गएको छ ।

हालसम्म कुल ७५ जनामा यसको पुष्टि भइसकेको र सबैभन्दा बढी कुश्मा नगरपालिका प्रभावित रहेको छ । सोमबार साँझसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी कुश्मा नगरपालिकाका ५८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । बाँकी १७ जना अन्य पालिका र जिल्ला बाहिरबाट आएका नागरिक हुन् । उनीहरू मोदी गाउँपालिकाका पाँच जना, जलजला गाउँपालिकाका तीन जना, फलेवास नगरपालिकाका चार जना, महाशिला गाउँपालिकाका एक जना, बिहादी गाउँपालिकाका एक जना र अन्य जिल्लाबाट आएका तीन जना रहेका छन्  । स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र सङ्क्रमण भने बढिरहेको छ । लामखुट्टेको प्रकोप बढ्दा पानी पोख्ने अभियानसमेत चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->