बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उत्पादनमा जोडिएका किसानलाई डेढ करोडबढी अनुदान

उत्पादनमा जोडिएका किसानलाई डेढ करोडबढी अनुदान


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८१, बिहिबार

पर्वत/जिल्लामा फलफूल, तरकारी, खाद्यान्न तथा बीउ उत्पादनलगायतका कृषि कर्म गरिरहेका वा गर्न इच्छुक कृषकहरूले कम्तीमा पनि डेढ करोड रुपैयाँ अनुदान पाउने भएका छन् ।
कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष २०८१÷२०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्लाभित्रका कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषि समूह तथा कृषि सहकारीहरूले विभिन्न कार्यक्रमहरूको लागि यो अनुदान पाउन लागेका हुन् । फरक–फरक कार्यक्रमहरूको कुल लागतमध्ये कम्तीमा ५० प्रतिशतदेखि बढीमा ८५ प्रतिशत अनुदान दिन लागिएको हो ।
फलफूल बाली विकास आयोजना, तरकारी बाली प्रवर्द्धन आयोजना, खाद्यान्न बाली प्रवर्द्धन आयोजना, समुदाय स्तरमा प्रशोधनयोग्य÷खायन आलु प्रवर्द्धन आयोजना, बीउ उत्पादन प्रवर्द्धन आयोजना, रैथाने बाली प्रवद्र्धन आयोजना र सुन्तला जात फलफूल विकास आयोजनाका लागि तीन करोड ५१ लाख ३३ हजार रुपैयाँ लागत लाग्ने गरी कार्यालयले योजना बनाएको छ ।
फलफूल विकास आयोजनाअन्तर्गत फलफूल बगैँचा स्थापना विस्तारको १८ लाख लागतमा ५० प्रतिशत अनुदान दिने र १२ हेक्टर क्षेत्रफलमा बगैँचा बनाएको हुनुपर्ने भनिएको छ । फलफूल बगैँचा व्यवस्थापन तथा सुदृढीकरण सहयोग कार्यक्रमका लाख सात लाख २० हजार लागत योजनामा ५० प्रतिशत अनुदान दिने भनिएको छ । यी दुवै कार्यक्रमको लागि कृषि फर्म र कम्पनीको हकमा कम्तिमा तीन रोपनी र कृषक समूह वा सहकारीको हकमा कम्तीमा १० घर संलग्न भएर न्यूनतम ३० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने छ ।
तरकारी बाली प्रवद्र्धन आयोजनाअन्तर्गत व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम अन्तर्गत एक पटकका लागि १९ लाख लागतमध्ये ५० प्रतिशत अनुदान दिने तयारी छ । यस्तै खाद्यान्न बाली प्रवर्द्धन आयोजना अन्तर्गत खाद्यान्न उत्पादनमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिने गरी कुल २५ लाख बजेट निर्धारण गरिएको छ । यो कार्यक्रममा पर्नको लागि कम्तिमा १० घरले कम्तीमा एक सय रोपनी क्षेत्रफलमा कृषि समूह वा सहकारीमार्फत उत्पादन गरेको हुनुपर्ने कार्यालय प्रमुख अधिकारीले बताए ।
समुदायस्तरमा प्रशोधनयोग्य÷खायन आलु प्रवर्द्धन आयोजना अन्तर्गत खायन आलु उत्पादन प्रवद्र्धन गर्न बीउ, यन्त्र, सिँचाइ पूर्वाधार निर्माण, आलुको प्याकिङ तथा बजारीकरण, बिमा शुल्कमा अनुदानका लागि एक करोड २७ लाख १३ हजार लागत अनुमान गरिएको छ । यसमध्ये ५० देखि ८५ प्रतिशत कार्यालयले अनुदान दिने छ । यो कार्यक्रममा समावेश हुनका लागि कृषक समूह वा सहकारी संस्थामार्फत् समुदाय स्तरमा १० परिवार मिलेर न्यूनतम ३० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने तथा कार्यक्रम सञ्चालन गर्न बालीको बीमा अनिवार्य गरेको हुनुपर्ने छ ।
बीउ आलु उत्पादन सहयोगमा आठ लाख ५० हजारमध्ये ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइने छ । मसला तथा निर्यातयोग्य बाली उत्पादन, प्रशोधन तथा बजारीकरण सहयोग कार्यक्रमका लागि एक पटक ५० प्रतिशत अनुदान दिने गरी कुल १० लाख बजेटको योजना गरिएको छ । यसमा अदुवा, लसुन, प्याज, खुर्सानी, लगायतका बाली उत्पादन गर्न सकिन्छ ।
यस्तै बीउ उत्पादन प्रवद्र्धन आयोजना अन्तर्गत आत्मनिर्भरताको लागि बीउ उत्पादनमा १२ लाखमध्ये ५० प्रतिशत अर्थात् छ लाख रुपैयाँ अनुदान दिइने छ । बीउ उत्पादनका लागि स्रोत बीउ खरिद, बीउ संकलन, ड्राइङ, ग्रेडिङ, प्याकेजिङ, लेबलिङ सामग्री खरिद भण्डारण र बजारीकरणमा व्यवस्थापन गर्न सकिने छ ।
रैथाने बाली प्रवद्र्धन आयोजनाअन्तर्गत रैथाने बाली उत्पादन कार्यक्रमका लागि सात लाख रुपैयाँ लागत राखिएको छ । कम्तीमा १० परिवार वा सहकारी तथा समूह संलग्न भएर सात हेक्टर क्षेत्रफलमा रैथाने बाली उत्पादन गरेमा कुल लागतको ५० प्रतिशत अनुदान लिन सकिने कार्यालयले बताएको छ । रैथाने बालीको प्रशोधन तथा बजारीकरणको लागि एक पटक मात्रका लागि दुई लाख ५० हजार रुपैयाँमध्ये ५० प्रतिशत कार्यालयले दिने छ ।
सुन्तला जात फलफूल विकास आयोजनाका लागि एक करोड १५ लाख कुल लागतमध्येको मापदण्ड अनुसारको अनुदान दिइने कार्यालय प्रमुख अधिकारीको भनाइ छ । ५३ हेक्टर क्षेत्रफलमा सुन्तला जात फलफूल बगैँचा स्थापना तथा विस्तार, यान्त्रिक सहयोग, सिँचाइ सहयोग, सुन्तला जात फलफूल बगैँचा सुदृढीकरण र बीमा शुल्कअन्तर्गत यो कार्यक्रम लागू गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->