म्याग्दी/पर्वतको जलजला गाउँपालिका–४ चिउरीपात्लाका युवा भरत नेपालीको गोठमा खाइलाग्दा हलगोरु छन् । डेढवर्ष कतारमा बिताएर फर्किएका भरतलाई अहिले भ्याइनभ्याई छ । खाडी मुलुक कतारमा साढे ३ वर्ष बसेर फर्किएका भरत असार–साउनमा धान रोप्न होस् वैशाखमा मकै छर्न । कोदोको बाँझो फुटाउनेदेखि खेतीपातीका लागि वर्षभरीमा करिब ४ महिना व्यस्त हुन्छन् । बलिया गोरु र हलोजुवा बोकेर खेतीबारीमा पुग्ने सुशिलले दैनिक २५ सय कमाउँछन् । भरत गाउँका करिब ३५ घरधुरीमा हलगोरू पाल्ने एक्लो हुन् । ‘दुःख हुन्छ, काम अनुसारको कमाइ पनि छ’ भरतले भने । हलगोरू र आफ्नो कमाइले अहिले घरखर्च र केही बचत हुने गरेको उनी बताउँछन् । भरत जस्तै जलजला गाउँपालिका–२ पाखाथरका डम्बर परियारले खेतीपातीका लागि गोठमा रहेका हलगोरू मौसममा खाली बस्दैनन् । गाउँघरमा मेलापात गर्न हालगोरु खोज्नेहरुले डम्बर र उनको गोठमा भएका हालगोरू नै रोज्छन् । हलगोरु मात्रैले दिनको १२ सय र हलीसहित उनले २५ सय कमाउँछन् ।
सोही वडाको रखाल विसौनाका कर्णबहादुर बरुवालले पनि खेतबारी जोत्न अहिलेसम्म ट्याक्टरसहितका कृषि औजार प्रयोग गरेका छैनन् । उनीहरूले मल प्रसस्तै हुने भएकाले हलगोरु पालेर खेतबारी जोत्ने र छिमेकीलाई दिने गरेका छन् । बढ्दै गएको सहर केन्द्रित बसाइँसराइ, युवाको विदेश पलायन र प्रविधिको विस्तारले यतिबेला कृषि व्यवहारमै परिवर्तन हुँदा गाउँ घरमा गोरुको महत्व हराउँदै गएको छ । ट्याक्टरसहित कृषि औजारको प्रयोग दिन प्रतिदिन फैलंदै छ । आर्थिक अवस्था कमजोर भएकाहरुले लागत साझेदारीमा मिनी टेलर अनुदानसम्म नपाउने अवस्थामा हलगोरू पालेर खेतजोत गर्ने गरेको स्थानीय गोमा परियारको भनाई छ । ‘मिनी टेलर महँगो हुन्छ, अनुदानमा ल्याएकाहरूले पनि नियमित जोत्न सकेका छैनन्, हामीलाई हलगोरूले नै सजिलो हुन्छ’ परियारले भनिन् ।

उनले गाउँमा मिनी टेलर ल्याएर मर्मत गर्न नसक्नेहरूले पछिल्लो समय हलगोरू खोज्न थालेपछि स्थानीयको गोठमा हलगोरू देखिन थालेको बताइन् । गाउँघरमा कृषकले हलगोरू खोजेर ल्याउन थालेपछि खेतबारी जोत्न समस्या नभएको स्थानीय बताउँछन् । कृषिमा ट्याक्टरको प्रयोग बढ्दो छ, यसले परम्परागत हलोको प्रयोग र गोरु पालनमा भने ठूलो गिरावट ल्याएको अवस्थामा जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार हलगोरु पालन प्रोत्साहन अनुदान कार्यक्रमले किसान हलगोरु पाल्न हौसिएका छन् । गाउँपालिकाले पहिलो चरणमा २२ हालगोरुलाई प्रतिहलगोरु १५ हजारका दरले ३ लाख ३० हजार अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाले सार्वजनिक सूचनामार्फत हालगोरु पालेका किसानलाई आवेदन मागी स्थलगत अनुगमन, वडामार्फत सिफारिस लगायतका प्रक्रिया पूरा गरी चालु आवमा २२ किसानलाई अनुदान दिएको हो ।
पालिकामा हलगोरु पाल्नेको संख्या बढ्न थालेपनि सिमित अनुदानका कारण पहिलो चरणमा नपाएकालाई चालु आवमा समेट्ने गरी गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ‘आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति हराउन थालेपछि प्रोत्साहन गरिएको छ’ आचार्यले भने । उनले किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएको अवस्थामा पनि हलगोरुको आवश्यकता रहेको सुनाए । अनुदानबाट किसान उत्साहित भएकाले कार्यक्रमलाई निरन्तरता दिने बताए । पछिल्लो समय खनजोतका लागि मिनीटेलर हलो बढी प्रयोगले गोरुले दुई दिनमा सक्ने काम मिनीटेलरले दुई घण्टामै सकिएपनि किसान सन्तुष्ट छैनन् । मिनीटेलरले छिटो भएपनि उत्पादनमा ह्रास आउने उनीहरुको भनाई छ । गोरु पाल्नेले राम्रो आम्दानीसमेत गरिरहेका छन् ।
जलजलाले हलगोरु मात्रै होइन स्थानीय प्रजातिका पशुचौपाया पालेकालाई वार्षिक प्रतिपशु २ हजारको दरले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार, सबै वडामा ५ सय ८ पशुचौपायालाई न्यूनतम ३ सय ५० रुपैयाँदेखि ७ सय ५० सम्मको पशु विमा समेत गरिदिएको छ । कृतिम गर्भधान गर्ने प्रतिगाईभैसीलाई २५ सय अनुदान गाउँपालिकाले वितरण गरेको छ । परम्परागत खेती प्रणाली हराउँदै जान थालेको भन्दै स्थानीय पशुचौपायाको संरक्षण, हलगोरु पाल्न किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने पालिकाको कार्यले किसान मात्रै उत्साहित छैनन् अन्य स्थानीय तहले समेत सिको गरिरहेका छन् । कृषिको यान्त्रिकीरणले खेतीपातीमा सहजता भए पनि गोबर मलको अभाव हुने, दाइँ हाल्ने, रासायनिक मल र विषादीको प्रयोग अस्वाभाविक रूपमा गर्दा त्यसले माटोमा गम्भीर असर पारेको अवस्थामा गाउँपालिकाको यो प्रोत्साहनको नीतिले सहज भएको छ ।
हलगोरू पाल्ने कृषकलाई गोठमै पुगेर प्रोत्साहन गछौं
राजुप्रसाद आचार्य
अध्यक्ष, जलजला गाउँपालिका, पर्वत
कृषिमा आधुनिकीकरण र बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने कार्यक्रम सञ्चालनमा ल्याईएको हो । रैथाने बालीको संरक्षण, स्थानीय स्रोतसाधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिन गत आर्थिक वर्षदेखि लागू हुने गरी हलगोरु पाल्ने किसानलाई अनुदानको कार्यक्रम सञ्चालन गरिएको थियो । चालु आवमा पनि बाँकी कृषकलाई कार्यक्रममा सहयोग गछौं ।

गोरु पाल्ने किसानले अनुदानका निम्ति निवेदन पेस गरेपछि वडाका जनप्रतिनिधि सहितको टोली गोठमै पुगेर अनुगमन गरी छनोट गरेर अनुदान प्रदान गरिन्छ । किसानको गोठमा गोरु हुँदा बालीका लागि आवश्यक मलमूत्र पनि पुग्ने, गोरुले जोत्दा उत्पादनमा पनि वृद्धि हुने हुँदा यसलाई पाल्न प्रोत्साहन गर्नुपरेको छ । गोरुले जोत्दा स्थानीय प्रविधि हलोजुवा प्रयोग हुने भएकाले बाँझो जग्गा राम्रोसँग जोतिने र माटोको अम्लियपनमा कमी आउने किसानहरूको विश्वास छ । अर्को कुरा समथर फाँटमा मिनीटिलरको प्रयोग बढ्दो रहे पनि लेकको खेतबारीमा भने गोरुले जोत्ने प्रचलन कायमै छ । गोरु प्रवर्द्धन कार्यक्रम जलजलाबाट अन्य पालिकाले समेत सिको गर्ने थालेका छन् ।





