बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङमा शुरु भयो हनुमान नाँच प्रदर्शन

बागलुङमा शुरु भयो हनुमान नाँच प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८१, मंगलबार

बागलुङ/तीन सय वर्ष पुरानो मानिएको हनुमान नाँच मंगलबारदेखि बागलुङमा प्रर्दशन शुरु भएको छ । हनुमानको स्वरुप बनेर नाँचिने यो नृत्यलाई हनुमान नाँच भनिएको हो ।
काठमाण्डौं उपत्यकाबाट आएका नेवारहरुले बागलुङमा बसोबास गरेपछि हनुमान नाँच्न थालेको किंवदन्ती छ । सोही परम्परालाई २०४६ सालमा गठन भएको हनुमान नाँच संरक्षण समितिले हरेक बिजोर वर्षमा नाँच देखाएर निरन्तरता दिएको थियो । २०७२ सालपछि भने यो नाँच देखाइएको थिएन । कोरोना संक्रमण लगायतका समस्याले ढीला भएकोमा ९ वर्षपछि हनुमान नाँच देखाइएको हो ।
मंगलबार बिहान बागलुङ नगरपालिका वडा नं. ३ को हनुमान पौवाबाट पुजा गरेपछि शुरु भएको नाँच नारायण चोक, उपलल्लाचौरहुँदै बजारमा ल्याइएको हो । यो नाँचका लागि १० लाख खर्च हुने अनुमान छ । त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाइएको प्रधानकजी इश्वर मलेपतिले बताए ।
हनुमान नाँच व्यवस्थापनका लागि बद्रीप्रसाद श्रेष्ठ मुल पुजारी छन् । त्यस्तै इश्वरप्रसाद मलेपति मुल कजी र बाँकी थप केही कजीको व्यवस्था भएको छ । त्यस्तै झण्डै दुइदर्जन स्वयंसेवक पनि खटिनेछन् । कुनै बिघ्नबाधा आएमा उनीहरुले साथ दिनेछन् ।

आगामी चैत मसान्तसम्म यो नाँचलाई विभिन्न स्थानमा लगेर देखाइने छ । परम्परा अनुसार हरेक बिजोर वर्षमा मात्र हनुमान नाँच औपचारिक रुपमा देखाउन पाइन्छ । मेला महोत्सवमा देखाउने नाँच भने संस्कृतिको रुपमा मात्रै देखाइएको हो । त्यसका लागि आवस्यक पुजाआजा गरिदैन । हनुमान नाँच्ने युवाले ब्रम्हचार्यमा बस्नुपर्ने व्यवस्था छ । ‘युवाहरुलाई सतचरित्रमा बस्न प्रेरणा दिने भएकोले यो व्यवस्थापन गर्न धेरै गाह्रो छ’ मलेपतिले भने, ‘खर्चपनि धेरै लाग्छ ।’ समितिले गण्डकी प्रदेश सरकार, गण्डकी प्रज्ञा प्रतिष्ठान, स्थानीय व्यवसायी लगायतका संघसंस्थाबाट पनि सहयोगको आब्हान गरेको छ ।
मंगलबारको शुभारम्भ कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, नेपाली सेनाको २३ नम्बर बाहिनीपति जगतबहादुर पौडेल लगायतका सुरक्षाकर्मी समेत सहभागि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->