
काठमाडौं / २०८० सालको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई प्रदान गरिने भएको छ। शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले रणमुकाम पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।
प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा-श्री २०८० अर्पण गर्ने निर्णय भएको पनि उनले जानकारी दिए। वृत्तचित्र निर्माता पत्रकार मोहन मैनालीले लेखनमा विशिष्ट छवि बनाएका छन्।
मैनालीका उपल्लो थलो (सन् २०२०), लदेखेको देश (सन् २०१८), मान्ठ डराएको जुग (सन् २०१५), आकाशमुखी (अनुवाद) पुस्तक प्रकाशित छन् । त्यस्तै उनले निर्माण गरेको जोगीमाराका ज्युँदाहरू नामक वृत्तचित्रले ख्याती कमाएको थियो।
मदन पुरस्कार प्राप्त गरेको कृति मुकाम रणमैदान नेपाल-अंग्रेज युद्धसँग सम्बन्धित छ। अंग्रेजसँगको युद्धका क्रममा नेपालले प्रदर्शन गरेको वीरतालाई उनले किताबमा लिपिवद्ध गरेका छन्। किताब अनुसन्धानमूलक गैरआख्यान हो। उनको छवि पनि गैरआख्यान लेखनमै बनेको छ।
पुरस्कार प्राप्तीलाई पत्रकार मैनालीले यस क्षेत्रको सन्तुष्टी भनेका छन् । उनले सुखद अनि उर्जा दिने खबर भएको समेत वताए । उनले थपे, ‘खोजेर लेखिएका अनुसन्धान किताबमा मिहिनेत धेरै पर्छ । बजारले पनि धेरै वास्ता गर्दैन । पढ्ने चलन यसै पनि घट्दै गएको भनिन्छ । यस्तो बेला मैले मदन पुरस्कार पाउँदा अरुका लागि पनि यसले हौसला प्रदान गर्ने आशा लिएको छु । यो खुसी समग्र पुस्तक पठन क्षेत्रका लागि पनि हो ।’
जगदम्बा-श्री अर्पण गरिएका यादव भाषाशास्त्री हुन्। उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानमा प्राध्यापन गरेका थिए। उनी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत थिए।





