
पोखरा / इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियशनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको चुनाव नजिकिदै गर्दा प्रचार अभियान पनि तिब्र बनेको छ । इन्जिनियरहरुको हकहित र अधिकारको विषयमा आवाज उठाउँदै आएको एसोसियशनको यही भदौ २८ मा निर्वाचन हुदैछ । एसोसियशनको केन्द्रमा १८ जना र प्रदेशमा एकजना केन्द्रीय समिति सदस्यसहित १६ जनाका दरले ७ प्रदेशका लागि १ सय १२ गरी कुल १ सय ३० पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् । ४० हजार भन्दाबढी सदस्य रहेको एसोसियशनको निर्वाचनका लागि प्यानलसहितका टीम यतिबेला निर्वाचन आफ्नो पक्षमा पार्न देश दौडाहामा छन ।
प्यानलमध्येको एक हो, प्रगतिशिल समुह । यो समुहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार इ.प्रा.डा. विष्णुप्रसाद पाण्डे रहेका छन भने महासचिवमा उर्जाविद् डा.लक्ष्मणप्रसाद घिमिरे । यो टीमले आफ्नो देश दौडाहा सकेर काठमाडौं फर्किर्दै छ । ‘हाम्रो टीम सबै मतदाता र मतदान केन्द्रमा पुगेको छ’ घिमिरेले ढोरपाटनसंग भने, ‘देश दौडाहाका क्रममा हाम्रो टीमप्रति देखिएको लहरले हामीलाई निकै उत्साहित बनाएको छ ।’
क्षमतावान् र कुशल नेतृत्व, पुरा गर्न सकिने ३४ बुँदे प्रतिवद्धता, सबै इन्जिनियरहरुको पेशागत संगठन बनाउने योजना लगायतका विषयले आफ्नो टीमले जीत हासिल गर्ने आधार बनेको महासचिवका प्रत्यासी घिमिरेले बताए । ‘यातायात देखि उर्जा, रोडदेखि भवन, आइटीदेखि आर्किटेक्ट लगायत सबै क्षेत्र समेटेर टीम बनाएका छौ’ उनले भने, ‘सवै पक्ष समेटेकोले पनि सहज भएको छ ।’
यो समुहले केन्द्रीय कार्यकारिणी समिति र सातै प्रदेशका प्रादेशिक समितिमा चुनावी प्रतिस्पर्धा गर्दैछ । समुहको टीम संयोजन, अनुभव, योग्यता, क्षमता, उर्जा तथा इन्जिनियरिङ क्षेत्रमा गरेको योगदाननै जितका आधार रहेको दावी यो समुहको छ ।

प्रगतिशिल समुहका उम्मेदवारहरु।
यो समुहले आम इन्जिनियर, आर्किटेक्टहरुको हकहित संरक्षण र सेवासुविधा प्रवद्र्धन, रोजगार तथा पेशागत क्षमता अभिबृद्धि, नेपालमै इन्जिनियरिङ शिक्षा, नीतिगठत सुधारलाई साझा मुद्धा बनाएको छ । साथै एसोसियशनको सदस्यता बृद्धि र गुणस्तरीयता अभिबृद्धि, सहकार्य एवं समन्वय, संस्थागत सुदृढिकरण तथा अन्तराष्ट्रिय सम्बन्ध र सम्मान तथा उत्प्रेरणालाई पनि मुद्धाको रुपमा अघि सारेको छ । यी ८ वटा मुद्धासंग सम्बन्धित ३४ वटा प्रतिवद्धतासहित प्रगतिशिल समुहले उम्मेदवारी दिएको जनाएको छ ।
प्रगतिशिल समुहले अघि सारेका ३४ बुँदे प्रतिवद्धतामा कार्य क्षेत्रमा इन्जिनियर, आर्किटेक्टप्रति हुने दुव्र्यवहार तथा हमला भएमा सशक्त रुपमा कानुनी प्रतिवाद गरिने, विभेदपूर्ण नीति र प्रक्रियाबिरुद्ध पहल, प्राविधिक विद्यालयका शिक्षकलाई स्थायी बनाउने उल्लेख छ । साथै कानुन अनुसार पारिश्रमिक, सेवासुविधा उपलब्ध गराउन प्रभावकारी पहल गर्ने, बिमा नीतिलाई निरन्तरता, दीर्घ रोग उपचार सहयोग कोषको व्यवस्था, इन्जिनियरको विषयगत क्षेत्र, विज्ञता, र अनुभव वर्षको आधारमा एउटा रोष्टर बनाइ उद्योग, आयोजना, तथा अनुसन्धानतिर जोड्ने पनि प्रतिवद्धतामा छ ।
यसैगरी, इन्जिनियरिङ स्टाफ कलेज बनाउने, प्रमुख कार्यकारी इन्जिनियर नारासाथ विभिन्न संस्थानमा इन्जिनियरनै प्रमुख रहने नीतिगत व्यवस्थाका लागि पहल गर्ने, पेशा, व्यवसायमा अनुभवीले लगानी गर्न चाहेमा आर्थिक मानव पुजी लगानीको वातावरण बनाउने लगायत विषयहरु यो समुहले प्रतिवद्धतामा राखेको छ ।
को हुन महासचिव पदका उम्मेदवार डा.लक्ष्मणप्रसाद घिमिरे ?
नेपाल इन्जिनियर्स एसोसियशनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशिल समुहको तर्फबाट महासचिव पदका प्रत्यासी डा.लक्ष्मणप्रसाद घिमिरे नविकरणीय उर्जाविद् हुन । नेपाल सरकारको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमा प्राविधिक उपनिर्देशक (सौर्य तथा बायु उर्जा शाखा प्रमुख) छन् ।
घिमिरेले उर्जा नीतिसंग सम्बन्धित अनुसन्धानमा विशेष रुची राख्छन । उनका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतिष्ठित जर्नलहरुमा ५ भन्दा बढी अनुसन्धनात्मक लेखहरु प्रकाशित भइसकेका छन् ।
डा. घिमिरे बेस्ट पेपर अवार्ड २०१५, बेस्ट डिस्सेरटेशन मिनिस्ट्रियल अवार्ड दक्षिण कोरिया २०१६, प्रेसिडेन्टियल फिलोसिप अवार्ड सिउल नेशनल युनिभर्सिटी दक्षिण कोरिया २०१७ र प्रेसिडेन्ट अव इन्टरनेशनल इनर्जी पोलिसी प्रोग्राम आलुम्नी एसोसियशन २०१५–२०१८ द्धारा सम्मानित भइसकेका छन ।
घिमिरेले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुरबाट इलेक्ट्रिकल इन्जियिरिङमा स्नातक गरेका हुन् । साथै उनले सिउल नेशनल युनिभर्सिटी दक्षिण कोरियाबाट उर्जा नीति÷इन्जिनियरिङमा एमएससी तथा विद्यावारिधी गरेका छन ।





