बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जिल्ला अस्पताल पर्वतमा मध्यरातमा दुई गर्भवतीको आकस्मिक शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य

जिल्ला अस्पताल पर्वतमा मध्यरातमा दुई गर्भवतीको आकस्मिक शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य


  • संजय रेग्मी
  • भाद्र २२ २०८१, शनिबार

पर्वत/दक्ष जनशक्ति र आवश्यक प्राविधिक पूर्वाधारको अभावमा केही वर्ष पहिलेसम्म ‘रिफर सेन्टर’ को उपनामले चिनिने गरेको थियो पर्वत अस्पताल । सामान्य उपचार बाहेकका अन्य ‘केस’हरूमा बिरामीहरूलाई सिधै पोखरा ‘रिफर’ गर्ने गरेको अस्पतालले गर्भवतीको आकस्मिक शल्यक्रिया समेत गरिरहेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार शुक्रवार राती सवा एक बजे र साढे तीन बजे दुई गर्भवतीको आकस्मिक शल्यक्रिया गरेर सकुशल बच्चा निकालिएको छ । सुत्केरी हुनका लागि अस्पतालमा रहेका उनीहरू दुवैमा अचानक बच्चाको मुटुको धड्कनमा गडबडी देखिएपछि आमा र बच्चाको दुवैको खतरा टार्नको लागि शल्यक्रिया गरेरै बच्चा निकाल्नुपर्ने अवस्था आएपछि रातीमा नै दुवै गर्भवतीहरूको सफल शल्यक्रिया भएको डा. बास्तोलाले बताए ।
राती सवा एक बजे शल्यक्रिया गरिएको आमा र बाबु दुवै सानो उमेरको रहेको र विडम्बनापूर्ण शल्यक्रिया गरिएको उनको भनाइ छ । उनीहरूको जिम्मेवारी लिनको लागि आफन्त, परिवार वा अन्य कोही पनि उपस्थित नभएको भए पनि बच्चाको सुरक्षाका लागि तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकोले शल्यक्रिया गर्नुपरेको हो । शल्यक्रिया गरेका दुवै जना आमा र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
आवश्यक जनशक्तिको अभाव भोग्दै आइरहेको अस्पतालमा कम जनशक्तिबाटै बिहान सात बजेदेखि साँझ सात बजेसम्म ओपिडी सेवा सञ्चालन भइरहेको छ । बिहानदेखि बेलुकासम्म बिरामीकै सेवामा खटिएर फेरि रातभर पनि शल्यक्रिया जस्तो जिम्मेवार सेवामा संलग्न हुन पाउनुले नागरिकको विश्वास बढिरहेको डा. बास्तोलाको भनाई छ ।
‘हाम्रो निद्रा पूरा गर्नु भन्दा पनि कसैलाई जीवन दिनु धेरै महत्त्वपूर्ण कुरा हो । हामीहरू कम जनशक्तिले दैनिक १२ घण्टा ओपिडी सेवा दिइरहेका छौँ । तर पनि हाम लोड थपेर खटिरहेका छौँ’, उनले भने, ‘कर्मचारीहरूले रात दिन नभनी काम गर्नु, समितिले पनि सकेसम्मको उचित व्यवस्थापनको लागि काम गर्नु, नागरिकले पनि हामीमा विश्वास गर्नुको नतिजाले नै यहाँका बिरामीहरू पोखरा जानुपरेको छैन ।’
पछिल्ला दिनहरूमा पर्वत जिल्ला मात्रै नभएर बागलुङ र म्याग्दीबाट आएका गर्भवतीहरूले समेत पर्वत अस्पतालमा आएर बच्चा जन्माउनु खुसीको कुरा भएको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरी बताउँछन् । यही विश्वासलाई कायम राख्नको लागि अस्पताल विकास समितिले स्रोत र साधन सहित जनशक्ति व्यवस्थापनमा सकेसम्मको प्रयास गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->