म्याग्दी/मिस मगर नेपाल २०२४ को ताज म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छिन् । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणमा म्याग्दीको रघु्गंगा गाउँपालिका–३ दग्नामकी क्रिस्टिनाले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै ताज चुमेकी हुन् ।
होटल ग्राण्ड पोखरामा सम्पन्न भएको प्रतियोगितामा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र सेकेन्ड रनरअफमा धवलागिरी गाउँपालिका–४ मुदीकी नरिशा पुनमगर घोषित भइन् । एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना भएको प्रतियोगितामा यसपटकको उपाधी म्याग्दीमय भएको नेपाल मगर जिल्ला समन्वय समिति म्याग्दीका सचिव हिरा पुनले बताए ।
‘यो उपाधी जित्ने सबै प्रतियोगिलाई धन्यवाद, जिल्लामा स्वागत तथा सम्मान गरिनेछ’ सचिव पुनले भने । म्याग्दी मगर समुदायको बाहुल्यता भएको जिल्ला हो । मगर समुदायले भाषा, संस्कार, संस्कृति र रहनसहनलाई संरक्षण तथा प्रर्बधन गर्न नयाँ पुस्तालाई सक्रिय बनाउने गरेका छन् । मिस मगर २०२२ को विजेता समेत बेनी नगरपालिका १० पात्लेखेतकी मिलन थापा मगर हुन् ।





