तस्बिर : संगम घर्ति
बागलुङ/नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला राजनीतिसँगै साहित्यमा पनि अब्बल पात्र भएको सरोकारवालाले औल्याएका छन् । बीपीको साहित्यले राजनीतिभन्दा बढी समाज जागरणमा योगदान गरेको उनीहरुले बताए ।
समाजको वास्तविकता उजागर गर्न बीपीले राजनीति र साहित्य दुवै पाटोको भरपुर सदुपयोग गरेको उनीहरुले बताए । १११ औं बीपी जन्मजयन्तीमा कांग्रेस बागलुङले सोमबार समाज साहित्य र विकास विषयक संवाद कार्यक्रम आयोजना गरेको थियो ।
बीपीको समाज साहित्यमा विद्यावारिधी गरेका प्राध्यापक डा. नारायण चालिसेले बीपीको साहित्यको प्रयोगबाट राजनीतिक क्षेत्रभन्दा बढी समाजको क्षेत्र र धेरै नागरिक जागरुक बनेको बताए । बीपी एउटा युगको कुसल साहित्यकार नभएको भए आम नेपाली समाजमा स्वच्छन्दता, साहित्यमार्फत समाजमा लुकेको यौनवाद, निरंकुशतालाई गरिने व्यङग्यदेखि सामाजिक चरित्रको उजागर पनि नहुने उनको धारणा छ ।
बीपीको समाज साहित्य र विकास विषयक प्रस्तुतीकरण गर्दै डा. चालिसेले साहित्यमा बीपीवाद र राजनीतिमा समाजवादले नेपालको राजनीतिक परिवर्तन सहज भएको बताए । साथै, अन्तराष्ट्रिय क्षेत्रका माक्र्स जत्तिकै नेपालका बीपीको साहित्य, कुशल संगठन, परराष्ट्र नीति र कुटनीति समेत स्पष्ट भएको उनले बताए ।
कार्यक्रममा अर्का साहित्यकार तथा नुनतेल कृतिका लेखक जीवन क्षेत्रीले बीपी र नेपालको वर्तमान विकासबारे प्रस्तुतीकरण गर्दै बीपीले ल्याएको समाजवादको नीतिले नेपालीलाई निरंकुश राजतन्त्रबाट समाजवाद र प्रजातन्त्रको भुमीमा अवतरण गराउन सकेको बताए ।
कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश समितिका कोषाध्यक्ष तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, नेताहरु मणीभद्र शर्मा, दिपेन्द्रबहादुर थापा, संविधानसभा सदस्य प्रकाश पौडेल, पूर्व सभापति हरिप्रसाद श्रेष्ठ लगायतले बीपीको जीवनी, बीपीले सबै संकटको बेला पनि निडर र धैर्य भएर गरेका कामले अहिलेका युवापुस्ताले पनि सिक्नुपर्ने सुझाव दिए ।
कांग्रेस बागलुङका सचिव हरिहर शर्माको अध्यक्षता, जिल्ला सदस्य जगन्नाथ आचार्यको संचालन र सहसचिव ज्ञानकुमारी श्रीषको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
कांग्रेसले सोमबारै गलकोटमा पनि बीपी जयन्तीको अबसरमा अन्तरक्रिया सम्पन्न गरेको छ । पार्टी सभापति जितबहादुर शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नं. २ का कांग्रेस नेताहरु भेला भएका थिए । गलकोटमा आयोजित कार्यक्रममा बीपीको राजनीतिक यात्रा र अहिलेको राजनीतिक अवस्था बारे छलफल भएको थियो । बीपीको मार्गदर्शनमा हिंड्न सकेमा कांग्रेसले जनताको विश्वास पाउन सक्ने सहभागिले बताएका थिए ।
जन्मजयन्तीकै अवसरमा मंगलबार कांग्रेसले बीपीको आर्थिक नीति र वर्तमान राज्यको आर्थिक अबस्थाबारे छलफल हुने भएको छ । पूर्व गर्भनरसमेत रहेका चिरन्जिवी नेपाल सहितको उपस्थितिमा उक्त कार्यक्रम हुने पार्टी सचिव हरिहर शर्माले जानकारी दिए ।





