पर्वत/पर्वतका झन्डै छ सय जनामा डेंगुको सङ्क्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार, साउन एक गतेयता भदौ २३ गतेसम्म ५ सय ९० जनामा डेंगी सङ्क्रमण भएको हो । गत वर्षको वर्षा र गर्मी याममा जिल्लाका कुल दुई सय २५ जनामा सङ्क्रमण हुँदा यसवर्ष भने जोखिमको समय अझै करिब एक महिना बाँकी रहेकै बेलामा गत वर्षको तुलनामा एक सय ६२ प्रतिशतले सङ्क्रमितको संख्या बढेको हो ।
भदौ र असोजमा पनि डेंगु सार्ने एडीज इजीप्टाई जातको पोथी लामखुट्टेको प्रजनन कायमै रहने भएकोले सङ्क्रमितको संख्या अझै बढ्ने क्रममा रहेको कार्यालय प्रमुख शर्माले बताए ।
जिल्लाका ७ स्थानीय तहमध्ये सबैभन्दा बढी प्रभावित कुश्मा नगरपालिका छ । कुल सङ्क्रमितमध्येका ८३ प्रतिशत अर्थात् ४ सय ९२ जना छन् । यस्तै मोदी गाउँपालिकाका १७, जलजला गाउँपालिकाका ९, फलेवास नगरपालिकाका ३५, महाशिला गाउँपालिकाका २, बिहादी गाउँपालिकाका चार, पैयुँ गाउँपालिकाका ६ जना र अन्य जिल्लाका २५ जना रहेका छन् ।
घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानी लगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा संख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।





