बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आत्महत्या न्यूनीकरणमा स्वास्थ्यकर्मी सक्रिय

आत्महत्या न्यूनीकरणमा स्वास्थ्यकर्मी सक्रिय


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८१, बिहिबार

पर्वत/विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा देशभरमा औपचारिक र अनौपचारिक तरिकाले कार्यक्रम सम्पन्न भएका छन् । यस्ता दिवस र अवसरमालाई मनाउने तरीका भने उही भाषण नै हुने गरेका छन् । विगतमा पनि दिवसका अवसरमा ¥याली निकाल्ने र मञ्चमा बसेका दुई/चार जनाले ‘आत्महत्या गर्नु हुँदैन’ भनेपछि दिवस मनाइन्थ्यो ।
यस वर्ष भने स्वास्थ्य कार्यालय पर्वतले आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्लाका धेरै विद्यालयमा पुगेर आत्महत्या न्यूनीकरणका लागि बाल मनोविज्ञानबाट दिन खोजेको ‘जीवन महत्व’ ले भने फरक अर्थ राख्यो । स्वास्थ्य कार्यालयले जिल्लाका सात वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेर पायकको स्थानमा रहेका विद्यालयहरूमा पुगेर आत्महत्यासँग जोडिएका विविध विषयमा स्वास्थ्यकर्मीहरूबाट कक्षा लिन सहजीकरण गरेको थियो ।
सोही अनुसार स्वास्थ्यकर्मीहरू कुनै औपचारिक भाषणमा भन्दा पनि आत्महत्याका कारण र रोकथामका बारेमा विद्यार्थीहरूलाई बुझाउँदै विद्यालय शिक्षामा पुगेका हुन् । मनमा भएका पिडा खुलेर राख्न नसक्ने र आत्महत्याका बारेमा खुलेर नगर्ने वातावरण रहेसम्म आत्महत्याको मानसिकता कायम हुने भएकोले बालबालिकाहरूलाई खुलेर कुरा गर्न सिकाउन, आत्महत्यापछि समाज र परिवारमा त्यस्ता व्यक्तिप्रति उत्पन्न हुने धारणा लगायतका विषयमा सहजीकरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए ।
‘किशोरावस्थामा विद्यार्थीहरूको मानसिकतामा विभिन्न कुरा खेलिरहेका हुन्छन् । उनीहरूमा परिवारप्रतिको भूमिका पनि प्रत्यक्ष हुन्छ । विद्यालय र समाजमा साथीहरूको ठुलो समूहमा पनि रहने भएकाले सूचना प्रवाहको लागि उनीहरू महत्त्वपूर्ण छन’, उनले भने, ‘साथीलाई एक्लै नछाड्ने र सहयोग गर्ने, उदासी व्यवहारबारे सोध्ने, साथीले सहयोग लिन नमानेमा उसले चाहेका व्यक्तिमार्फत सहयोग दिने, साथीका कुरालाई गोप्य राख्दै सहानुभूतिका साथ कुराकानी गर्ने लगायतका व्यवहारले पनि आत्महत्या गर्नबाट व्यक्ती जोगिन सक्छ ।’
स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्य केन्द्रबाट विद्यालयमा पुगेका उनीहरूले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विद्यालय, प्रहरी, समाज, व्यक्ति, सामाजिक सङ्घ संस्था, सञ्चार माध्यम लगायतले निर्वाह गर्न सक्ने भूमिकाको बारेमा सिकाएका छन् ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार विगत एक दशकमा नेपालमा आत्महत्याको ग्राफ क्रमशः उकालो ‘ग्राफ’ मा चढ्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७१÷०७२ देखि २०८०÷०८१ सम्मको दश वर्षे अवधिमा हरेक वर्ष क्रमशः चार हजार तीन सय ३२, चार हजार छ सय ८०, पाँच हजार तीन सय १७, पाँच हजार सात सय ५४, छ हजार दुई ७९, सात हजार एक सय ४१, छ हजार आठ सय ३०, छ हजार नौ सय ९३ र सात हजार दुई सय ३३ जनाले आत्महत्या गरेका छन् ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनाले, कर्णाली प्रदेशमा तीन सय २६ जनाले, लुम्बिनी प्रदेशमा एक हजार तीन सय २९ जनाले, गण्डकी प्रदेशमा छ सय ५७ जनाले, मधेस प्रदेशमा एक हजार दुई सय ९० जनाले, बागमती प्रदेशमा एक हजार पाँच सय १० जनाले र कोसी प्रदेशमा एक हजार पाँच सय ५६ जनाले आत्महत्या गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->