पर्वत/चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा पर्वतमा आठ सय भन्दा बढीमा डेंगु सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार गत साउन एक गतेदेखि भदौ ३१ गतेसम्मको तथ्याङ्क अनुसार कुल आठ सय सात जनामा सङ्क्रमणको पुष्टि भएको हो । गर्मी र वर्षा यामका कारण सङ्क्रमणको दर गत वर्षको तुलनामा निकै तीव्र रूपमा फैलिएको छ । गत वर्ष जिल्लाका कुल दुई सय २५ जनामा डेंगु सङ्क्रमणको पुष्टि भएकोमा यस वर्ष भने त्यसको तुलनामा उच्च दरमा डेंगुका बिरामीहरू बढिरहेका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार असोज महिना पनि डेंगु सङ्क्रमणको जोखिम भएको महिनामा नै पर्छ । जाडो याम सुरु नभई सक्ने र फाटफुट वर्षा समेत हुने भएकाले गत वर्ष पनि असोज महिनामा समेत सङ्क्रमण भएको पाइएको थियो । जिल्लाका हालसम्मका सङ्क्रमितहरू गत वर्षको तुलनामा दुई सय ५८ प्रतिशतले बढी रहेका छन् । असोजसम्म पनि सङ्क्रमण फैलिने क्रम नरोकिने हो भने अझै धेरै जना डेंगुबाट सङ्क्रमित हुने छन् ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार सात वटा स्थानीय तहहरू रहेको पर्वतमा सबैभन्दा बढी कुश्मा नगरपालिका प्रभावित रहेको छ । सङ्क्रमितमध्येका छ सय जना कुश्मा नगरपालिकाका मात्रै रहेका छन् । कुश्मापछि फलेवास नगरपालिकाका ४८ जना, अन्य जिल्लाबाट आएका ३३ जना, मोदी गाउँपालिकाका २४ जना, जलजला गाउँपालिकाका ११ जना, पैयुँ गाउँपालिकाका सात जना, बिहादी गाउँपालिकाका पाँच जना र महाशिला गाउँपालिकाका दुई जना रहेका छन् ।





