बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वत अस्पतालबाट झण्डै ६० हजारले लिए सेवा

पर्वत अस्पतालबाट झण्डै ६० हजारले लिए सेवा

आवश्यक जनशक्ति अभावमै कोभिड कालमा जडान गरिएको आइसियु र भेन्टिलेटर समेत थन्क्याएर राख्नुपरेको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८१, शनिबार

पर्वत/पछिल्लो समयमा बिरामीहरूको निकै चाप भोगिरहेको पर्वत अस्पतालले गत आर्थिक वर्षको एक वर्षे अवधिमा करिब ६० हजार बिरामीहरूलाई सेवा दिएको छ ।
पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कुल ५८ हजार छ सय २६ जनाले अस्पतालका विभिन्न विभाग तथा सेवाहरूको लाभ लिएका हुन् । अस्पतालको आकस्मिक कक्षमा नयाँ बिरामीका रूपमा आएका नौ हजार तीन सय १२ जनाले सेवा लिएका छन् । यस्तै सेवा प्रदान गरिएका नयाँ बिरामीका रूपमा ३५ हजार चार सय ८३ जनाले सेवा लिँदा खोप सेवा पाँच सय ७५ जनाले लिएका छन् ।
यस्तै ‘भ्याक्युम’ को प्रयोग गरेर ११ जना बच्चाहरू सुरक्षितसाथ निकालिएको, दुई सय २० जना आमाहरू सामान्य तरीकाले सुत्केरी भएका, शल्यक्रियामार्फत् तीन सय १४ जनाले सेवा लिएका, पोषण पुनर्स्थापना केन्द्रबाट १९ जना बालबालिकाहरूले सेवा पाएको तथा चार सय ८२ जनाले हात र खुट्टामा ‘प्लास्टर’ गरेका छन् । धेरै सेवा प्रदान गरिने ‘एक्स–रे’ सेवा ११ हजार पाँच सय १७ जनाले लिएका छन् भने ‘भिडिओ एक्स–रे’ सेवा चार हजार दुई सय २९ जनाले लिएका छन् । आकस्मिक रूपमा सामान्य शल्यक्रिया गरिएकाहरूको बिरामीहरूको संख्या एक हजार एक सय ८६ जना छन् भने सुरक्षित गर्भपतन सेवा दुई सय ४४ जनाले लिएका छन् ।
१५ शैय्याको अस्पताललाई स्तरोन्नति गरेर ६० शय्या क्षमतामा सञ्चालन गरेर सेवा दिइरहेको भए पनि अस्पताललाई आवश्यकता अनुसारको जनशक्ति नपाउँदा भने समस्या भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए । आवश्यक जनशक्ति अभावमै कोभिड–१९ को बेलामा अस्पतालमा आएका आइसियु र भेन्टिलेटर समेत थन्क्याएर राख्नुपरेको छ । १५ शैय्याको क्षमतालाई वृद्धि गरेर ५० शय्या बनाएपछि सरकारले पनि सोही अनुसार दरबन्दी व्यवस्थापन गर्नुपर्ने हो ।
अहिले ६० शैय्याबाट नै बिरामीलाई सेवा दिइरहेको अस्पतालमा ‘कन्सल्टेन्ट’ एक जना, ‘मेडिकल’ अधिकृतमा स्थायी दुई जना, डायलाइसिसमा करार एक जना, छात्रवृत्तिमा चार जना र ‘एनएसआइ’ मा एक जना रहेका छन् । अस्पतालको सीमित जनशक्तिले पनि प्रभावकारी सेवा सहित बिहान र बेलुकाको समयमा समेत ‘ओपिडी’ सेवा सञ्चालन गरिएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा ३९ हजार र २०७९÷८० मा कुल ५२ हजार बिरामीलाई सेवा दिएको अस्पतालले पछिल्ला दुई वर्षमा सेवा दर निकै उच्च बनाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए । पछिल्लो समयमा पर्वत जिल्ला मात्रै नभएर बाह्य जिल्लाका बिरामीहरू समेत पर्वत अस्पतालमा आउने गरेको भन्दै उनले ५० शय्याको अनुमतिका लागि प्रदेश सरकारसँग कुराकानी भइरहेको बताए । अस्पतालले दिइरहेका विभिन्न गुणस्तरीय सेवाकै कारण बिरामीहरूको भिड बढ्दै गइरहेको र यो विश्वासलाई कायम राख्न सरकारले समयमा दरबन्दीको व्यवस्थापन गर्नेपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->