बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु हुँदै

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु हुँदै


  • संजय रेग्मी
  • असोज १६ २०८१, बुधबार

पर्वत/स्थापना भएको ३५ वर्षपछि पर्वत अस्पतालमा जिल्लामा नै पहिलो पटक ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको दरबन्दीबाट यो सेवा सञ्चालनको तयारी गरेको हो । सेवा सञ्चालनको लागि हालै खुलाइएको विज्ञापनबाट ‘फिजियोथेरापिस्ट’ डा. प्रमीला लामिछाने नियुक्त भइसकेको र संरचना व्यवस्थापनको काम गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए ।
‘फिजियोथेरापी’ विधिले शरीरका अङ्गहरूको चाल, लचकता, बल र समन्वय सुधार गर्न मद्दत गर्ने तथा यो उपचार मुख्य रूपमा शरीरको मांसपेशी, जोर्नी, स्नायु, र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकोले जिल्लाका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
‘प्यारालाइसिस भएका कारण शरीरका भागहरू नचल्ने, ढाड सड्किएका, मर्किएका, गर्धनमा समस्या भएका, नशा च्यापिएका लगायतका बिरामीहरूलाई शारीरिक कसरतका माध्यमबाट सेवा दिन लागिएको हो’, अध्यक्ष गिरीले भने, ‘सामान्य जोर्नी जाम भएको अवस्थामा हातको फिजियोथेरापी गर्न पनि पोखरा र बागलुङका अस्पतालमा जानुपर्ने यहाँको बाध्यता थियो । सामान्य कुराका लागि पनि नागरिकले हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्थाको अन्त्यका लागि यो सेवा महत्त्वपूर्ण हुने छ ।’
यससँग सम्बन्धित संरचना निर्माण, अभ्यासका लागि ठाउँ बनाउने, बिरामीहरू राख्नको लागि शय्या बनाउने लगायतका कामहरू अहिले चलिरहेका छन् । अहिले सुरुवाती चरणमा कम्तीमा पनि छ देखि १० वटा सम्म शय्या सञ्चालन गर्ने गरी तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए । शारीरिक गतिविधिमा अवरोध, चोटपटक तथा दीर्घकालीन स्वास्थ्य समस्याहरू भएका बिरामीहरूले यो सेवाबाट लाभ लिन सक्ने उनको भनाइ छ ।
जोर्नी मर्किएका, मांसपेशी चुँडिएका, हड्डी भाँचिएका, हड्डी र जोर्नीमा लचकता नभएका, कम्मर र घुँडाको दुखाइ भएका, ‘स्ट्रोक’का कारण शरीरको एक भागमा कमजोरी भएका, चल्न समस्या भएका, शरीरको चालमा गडबडी भएका तथा कम्पनका समस्या रहेका, जन्मजात शारीरिक अपाङ्गता भएका, शरीरका अङ्गहरू चलाउन समस्या भएको, श्वासप्रश्वासको समस्या भएका, फोक्सोको क्षमता घटेका लगायतका बिरामीहरूको उपचार लागि ‘फिजियोथेरापी’ ले राम्रो सुधार ल्याउने डा. बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->