शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नयाँ घर सर्ने बागलुङ बडिगाडका कुमालको सपना: खाईदियो झ्याप्लेखोलाले

नयाँ घर सर्ने बागलुङ बडिगाडका कुमालको सपना: खाईदियो झ्याप्लेखोलाले


  • प्रकाश बराल
  • असोज १७ २०८१, बिहिबार

बागलुङ / वैदेशिक रोजगारीमा कतार गएको जेठो छोरा केशव आइतबार घर फर्कंदै थिए । आफ्नो पनि पेन्सनको कागजात मिलाउनु थियो । तीन वर्षदेखि निर्माणाधीन बुटवलको घर सम्पन्न हुनै लागेकोले परिवारमा उत्साह थियो । वर्षौंदेखि खरको झुपडीमा बसेका कुमाल समुदायलाई पक्की घर बनाएर सर्ने योजना नौलो हो । आर्थिक रूपमा विपन्न कुमाल समुदायमा जन्मेका इन्द्रबहादुरले समुदायमै पहिलोपटक पक्की घर बनाएका थिए ।

३० वर्षसम्म भारतीय सेनाको जागिरपछि तीन वर्षअघि निवृत्त भएर फर्केपछि उनले बुटवलमा घर बनाइरहेका थिए । घर सम्पन्न गर्ने, छोरा विदेशबाट आउने र सबैलाई बोलाएर गृहप्रवेश (घरपैंचौ) गर्ने उनको योजना धादिङको झ्याप्ले खोलाको पहिरोले बगाइदिएको छ ।

बागलुङको बडिगाड गाउँपालिका-२ दनियाका ५० वर्षीय इन्द्रबहादुर राना (कुमाल) र ४० वर्षीया भीमकुमारी बुटवलबाट काठमाडौं जाँदै गरेको गाडीमा गत शुक्रबार पुरिएका हुन् । उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको थियो । मंगलबार बडिगाड-२ खरबाङस्थित बडिगाड खोला र दरमखोला संगममा राना दम्पतीको अन्तिम संस्कार गरिएको छ । यहाँ कुमाल राना समुदायको बस्ती छ ।

अधिकांश कुमालका समुदायका घर झुप्रा छन् । ज्यालामजदुरी गरेर खाने भएकोले धेरैले पक्की घर बनाउन सकेका छैनन् । इन्द्रबहादुर भारतीय सेनाका जागिरे भएकोले आर्थिक रूपमा सबल थिए । आर्थिक क्षेत्र सुधार भएपछि उनले सामाजिक सेवामा पनि लगानी बढाएका थिए । मृतक रानाका तीन भाइ छोरा छन् ।

जेठो छोरा केशव कतारमा काम गर्थे । आइतबार मात्रै आउँदै भएकोले बाबुआमा उनलाई लिन गएका हुन् । शुक्रबार बिहानै हिँडे पनि वर्षा र पहिरोले समयमा गन्तव्यमा नपुग्दै उनीहरू चढेको गाडी झ्याप्ले खोलाको पहिरोमा पुरिएको हो ।

इन्द्रबहादुरको पनि पेन्सनको कागजात बन्दै थियो । एकातर्फ घर बनाएको ऋण तिर्न बाँकी थियो त्यसैले छोराको पढाइ शुल्क पनि तिर्न भ्याएका थिएनन् । खरवाङस्थित त्रिभुवन माविमा कक्षा १२ पढ्ने माइलो छोरा सागरले बाबुआमा र दाइ फर्केपछि भर्ना गर्ने बताएका थिए ।

आइतबार दिउँसोसम्म पनि सागर र कक्षा ११ मा पढ्ने कान्छो भाइ सफललाई बाबुआमा पहिरोमा परेको जानकारी थिएन । आइतबार साँझ कक्षा सकेर घर फर्केपछि मात्र बाबुआमा घटनामा परेको जानकारी भएको हो । त्यसपछि छिमेकी गाउँलेसहित पुगेर मंगलबार बिहान शव गाउँ ल्याएका थिए ।

‘राना दम्पतीको शव आइपुग्दा सिंगो गाउँ शोकमग्न भयो,’ त्रिभुवन माविका शिक्षक कमल पौडेलले भने, ‘गाउँमा सामाजिक काममा समेत सक्रिय भएर आर्थिक प्रगति गरेको व्यक्ति अस्ताउँदा कुमाल बस्तीमा निरासा छाएको छ ।’

राना दम्पतीको अन्तिम संस्कारका लागि वडा नम्बर २ का अधिकांश बासिन्दा घाटमा पुगेका थिए । राना समुदायको दनिया बस्ती सदरमुकामदेखि ७० किमी पश्चिममा पर्छ । सेनाबाट निवृत्त भएर आएपछि इन्द्रबहादुरले सामाजिक काममा अगुवाइ गर्न थालेका थिए । विद्यालयमा पढ्ने विपन्न कुमाल बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्ने, गाउँको विकासमा अगुवाई गर्ने जस्ता काम थालेका थिए ।

‘विपन्न बालबालिकालाई सहयोग गर्ने व्यक्ति पुरिँदा कुमाल बस्ती नै शोकमग्न छ,’ पौडेलले भने, ‘घर बनाएर सर्ने उनको सपना पनि अधुरै रह्यो ।’ शुक्रबार बुटवलबाट काठमाडौं गइरहेको लु१ज ४५७८ नम्बरको विंगर गाडी धादिङ झ्याप्ले खोलाको पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको थियो । उक्त गाडीसँगै त्यहाँ पहिरोमा नारायणगढबाट आएको एउटा माइक्रो र गोरखाबाट आएको अर्को बस पनि पुरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->