बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कुश्मामा यात्रु सहायता कक्ष

कुश्मामा यात्रु सहायता कक्ष


  • संजय रेग्मी
  • असोज २० २०८१, आइतबार

पर्वत/मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका यात्रीहरूलाई पोखरासँग जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत सदरमुकाम कुश्मा बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वका बेला यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले लोकमार्ग अन्तर्गत मुख्य भाग कुश्मामा सहायता कक्ष स्थापना गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टका अनुसार चाडपर्वको बेलामा यात्रुहरूको चहलपहल बढ्दा सवारी साधनले गर्ने लापरबाही, यात्रुहरूले गर्ने लापरबाही तथा सवारी र यात्रु पक्षमा आउन सक्ने समस्या समाधानको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विष्ट, विभिन्न यातायात प्रा.ली.का प्रमुख तथा प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि, चालक, परिचालक, स्थानीय नागरिक लगायतको उपस्थितिमा सहायता कक्षहरूको सुरुवात गरिएको हो ।
हिन्दुहरूको महान् चाड बडादशैं, दीपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक तथा निजी सवारी साधनहरूमा यात्रुहरूको चापमा वृद्धि भइ दुर्घटना हुने जोखिम बढी भएकाले त्यसको न्यूनीकरणमा सहायता कक्षले सक्रियताका साथ काम गर्ने प्रहरी नायव उपरीक्षक विष्टले बताए । ‘चाडबाड मान्न तथा आफन्त भेट्नको लागि विदेशबाट आउनेदेखि देशमै आन्तरिक यात्रा गर्नेहरूका कारण सडक र सवारी दुवैमा अब चाप बढ्छ । यो अवस्थामा हुन सक्ने सम्भावित दुर्घटना रोकथाम गर्दै सहज र सुरक्षित आवागमनको लागि कक्षहरू स्थापना गरिएका हुन्,’ उनले भने, ‘सवारीका सञ्चालक वा यात्रुका तर्फबाट एक अर्कामा समस्या बनाउने अवस्था आएमा त्यसको समाधान गर्ने, यात्रुको पिर मर्का सुनुवाइ गर्ने, ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त अवस्थामा राख्ने उद्देश्यले सहायता कक्ष बनाइएको हो ।’
सवारीमा अधिकार हनन हुनुका साथै दुर्व्यवहार हुन सक्ने, बढी भाडा असुली गर्ने, खसी बोका ओसारपसारमा हुन सक्ने अवरोध, व्यस्त स्थानमा हुन सक्ने अवाञ्छित गतिविधि, पटका भुइँचम्पा तथा आतिसबाजीलगायतका विस्फोटक पदार्थहरूको ओसारपसारका विषयमा पनि ट्राफिक प्रहरीले निगरानी र अनुसन्धान गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->